
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ ।
यही जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो ।
नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो ।
बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतसम्म राति १०:३० बजेदेखि बिहान ३:०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए ।
नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मुग्लिन र हलुका सवारीसाधन कुरिनटारमा रोकिनेछन् ।
यसैगरी, मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मलेखु र हलुका सवारीसाधन शितलबजारमा रोकिनेछन् । रोकिएका सवारीसाधनलाई बिहान ३:०० बजेपछि मात्रै छोडिने उनले जानकारी दिए ।