१७ असार २०८३, बुधबार
मिटरब्याजको धन्दा

जेलबाट छुटेपछि फेरि आतंक मच्चाउँदै मन्टु, भन्छन्- धम्की दिएको होइन, आफ्नो पैसा मागेको हुँ

जेठ २९, २०८२
विराटनगर
जेलबाट छुटेपछि फेरि आतंक मच्चाउँदै मन्टु, भन्छन्- धम्की दिएको होइन, आफ्नो पैसा मागेको हुँ
सञ्जय रौनियार ‘मन्टु’ ।

ठगी र आपराधिक लाभ लिएको मुद्दामा दुई वर्ष कारागार बसेर सफाइ पाएपछि छुटेका मिटरब्याज आरोपी विराटनगरका मन्टु भनिने सञ्जयप्रसाद रौनियारले निवेदन दिने पीडितलाई दुःख दिन थालेका छन् । 

मन्टु कारागारबाट छुटेर आएपछि ठगी र आपराधिक मुद्दामा त्यसबेला निवेदन दिने १७ मध्ये १२ जनालाई फेरि पुरानै शैलीमा धम्की दिने गरेका पीडितहरूले बताएका छन् । 

पैसा माग्ने र कानूनी कारबाहीको डर देखाएर त्रास फैलाउने गरेको पीडितहरूले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरेर जनाएका छन् । मिटरब्याजमा लिएको पुरानो पैसा तिरिसक्दा पनि फेरि त्यही विषयलाई उठान गरेर रकम माग्दै दुःख दिएको उनीहरू बताउँछन् । पीडितहरूका अनुसार मन्टुले भने जति पैसा नदिए प्रहरी प्रशासन लगाएर पक्राउ गरी थुनामा राख्ने धम्की दिने गरेका छन् ।  

हुलाकमार्फत् पत्र पठाउने गरेको समेत उनीहरूले बताएका छन् । मन्टुले भनेजतिको पैसा नदिए प्रहरी प्रशासन लगाएर कानूनी कारबाही गर्ने धम्की दिने गरेको मोरङको सुनवर्षी नगरपालिका-४ का अमित कुमार यादवले बताए । अमितका बुवा महावीरले मन्टुसँग ६ वर्ष अगाडि १ बिघा १ कट्ठा १५ धुर जग्गा राजीनामा पास गरेर २ लाख रूपैयाँ ऋण लिएका थिए । मन्टुसँग लिएको दुई लाखको ब्याज र साँवा गरेर २० लाख रूपैयाँ तिरिसकेका थिए  ।

तर, मन्टुले अझै २० लाख रूपैयाँ दिएपछि मात्रै महावीरको जग्गा फिर्ता गरिदिने बताए । त्यसपछि महावीरसहित मन्टुबाट मिटरब्याज पीडित भएका १७ जनाले मोरङ प्रहरमा ठगी र आपराधिक लाभ मुद्दामा जाहेरी दिए । २९ मंसिर २०७७ मा मोरङ प्रहरीले मन्टुलाई पक्राउ गर्‍यो । 

पत्रकार सम्मेलन गर्दै पीडितहरू ।

मोरङ प्रहरीले अनुसन्धान पूरा गरेपछि  १३ माघ २०७७ मा मन्टुविरुद्ध मुद्दा दायर भयो ।  मोरङ प्रहरीको अनुसन्धानबाट मन्टुले १७ जना सर्वसाधारणलाई ९२ लाख  ८८ हजार रूपैयाँ कर्जा दिएर २ करोड ७० लाख ३१ हजार रूपैयाँ असुली गरेको खुलेको थियो । मिटरब्याजमा ऋण दिएको भन्दा पाँच गुणा बढी रकम असुली गरिसक्दा पनि अझै १ करोड ३८ लाख ९८ हजार ४ सय रूपैयाँ १७ जना पीडितसँग माग गरेको अभियोग पत्रमा उल्लेख छ ।

अदालतमा दायर भएको अभियोग पत्र अनुसार मन्टुले १७ जना सर्वसाधारणलाई विभिन्न मितिमा ठगी र आपराधिक लाभ लिएको पुष्टि भएपछि १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रुपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैदको माग दाबी लिएर मुद्दा दायर भयो । २०७७ माघ २० गते मोरङ अदालतका तत्कालीन न्यायाधीश ईश्वर पराजुलीको इजलासले मन्टुलाई  पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । 

त्यसपछि उनी मोरङ कारागार चलान भए । कारागार गएपछि फैसला हुनुभन्दा अगाडि बकपत्र भयो । त्यसबेला उनीविरुद्ध उजुरी दिने १७ जना सर्वसाधारणको जग्गा फिर्ता गरिदिने भने । निवेदन दिने र मन्टुबीच जग्गा फिर्ता गरिदिने आन्तरिक सहमति भयो । मन्टुले सहमतिपत्रमा हस्ताक्षरका लागि श्रीमती ज्योति रौनियारलाई अख्तियारी दिए । निवेदन दिने १७ जना र मन्टुको तर्फबाट श्रीमती ज्योतिले वडा कार्यालयमा जग्गा बिक्री गर्ने सहमति २०७७ चैत ८ गते गरेका थिए । 

मन्टुको नाममा रहेको जग्गा १७ जना निवेदकले पैसा दिएपछि फिर्ता गरिदिने सहमति भएको थियो । मन्टु त्यसबेला पुर्पक्षका लागि थुनामा रहेकोले श्रीमती ज्योतिलाई मालपोत कार्यालय विराटनगरमा पैसा दिएपछि जग्गा आफ्नो नाममा आएको पत्रकार सम्मेलनमा अमित कुमार यादवले बताए । यसरी जग्गा फिर्ता ल्याएपछि अहिले मन्टुले हुलाकमार्फत् २५ लाख ५० हजार रूपैयाँ माग्ने गरेको उनले बताए ।

null

मन्टुले जेठ १४ गते बुधबारको दिन पठाएको पत्र देखाँदै उनले भने, ‘जेलबाट छुटेपछि फेरि मन्टुले पुरानो मिटर ब्याज र असुली धन्दा चलाउन थालेको रहेछ । त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जनामध्ये ११ जनालाई पत्राचार गरेर पैसा माग्दैछन् । यो गैरकानूनी धन्दाको विरुद्ध हामी फेरि पीडितहरू संगठित भएर न्यायको खोजीमा जानेछौं ।’

जेलबाट मन्टु छुटेर आएपछि अहिले प्रहरी प्रशासन आफ्नो पक्षमा रहेको भन्दै मैले भनेजति पैसा नदिए थुनामा पठाउने भन्दै धम्की दिने गरेको विराटनगर-८ का गणेश रायले गुनासो गरे । मन्टुले हुलाकमार्फत् पत्राचार गरेर २५ लाख रूपैयाँ दिनुपर्ने भन्दै पत्र पठाएको उनले बताए ।

गणेशका अनुसार उनका ज्वाइँ महानन्द रायले मन्टुसँग एक कट्ठा जग्गा र टिनको घरसहित राजीनामा पास गरेर २ लाख ५० हजार रूपैयाँ लिएका थिए । विभिन्न मितिमा मन्टुलाई ज्वाइँले पाँच लाख रूपैयाँ दिए । पछि मन्टु जेल गएपछि उनको श्रीमतीलाई  २५ लाख रूपैयाँ दिएपछि एक कट्ठा जग्गा र घर आफ्नो नाममा ल्याएको गणेश रायले बताए । 

‘मन्टु जेलबाट छुटेर आएपछि ज्वाइँ महानन्दलाई घर भाडाबापत ९ लाख रूपैयाँ नबुझाएको  भन्दै मुद्दा हाले । मोरङ अदालतले ९ लाख रूपैयाँ तिर्नुपर्ने  फैसला पनि गर्‍यो । तर, अदालतले भनेजति पैसा तिर्न नसकेपछि ज्वाइँ महानन्द राय १३ असोज २०८१ मा जेल गए । उनलाई बिगो बराबरको दुई वर्ष कैद सजाय भयो । जेल बसेको एक महिनापछि ज्वाइँको मृत्यु भयो,’ गणेशले भने, ‘मन्टुले अदालतमा मुद्दा दिएपछि ज्वाइँ तनावमा रहनुभएको थियो । मन्टुले दिएको तनावले ज्वाइँको मृत्यु भयो ।’ 

null

मन्टुले पत्राचार गरेको मोरङको धनपालथान, जहदा, रङ्गेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका बासिन्दा रहेका छन् । उनीहरूले मन्टुसँग वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोरा–छोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे  । मन्टुले मिटरब्याजमा ऋण दिएपछि गाउँ–गाउँमा एजेन्ट परिचालन गर्ने गरेको पीडितहरूले बताएका छन् । 

मन्टुले भने आफूमाथि लागेको सबै आरोप अस्वीकार गरेका छन् । जेलमा हुँदा जग्गा बिक्री गरेको उनले बताए । जग्गा बिक्रीको पैसा  अहिलेसम्म नपाएको उनको भनाइ छ । आफूले चिठी पठाएर धम्की नदिएको भन्दै  उनले आफ्नो पैसा मात्रै मागेको बताए । 

null

‘सम्बन्धित व्यक्तिहरूले जग्गा बिक्री गर्दा खातामा पैसा राख्ने भनेका थिए, तर अहिलेसम्म एक रूपैयाँ पनि आएको छैन । यदि पैसा दिइएन भने कानूनी प्रक्रिया अगाडि बढाउँछु,’ उनले भने, ‘मैले चिठी पठाएर धम्की दिने गरेको छैन । आफू कारागारमा रहँदा मैले जग्गा बिक्री गरेको थिएँ । त्यसबेला मेरो खातामा पैसा हालिदिन्छु भनेको थियो । अहिलेसम्म मैले बिक्री गरेको जग्गाको पैसा पाएको छैन । त्यही पैसा माग्न मैले उहाँहरूलाई पत्राचार गरेको हो । धम्की दिएको छैन ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्