
इजरायली आक्रमणका कारण अमेरिका र इरानबीच हुने भनिएको आणविक सम्झौता सम्बन्धी वार्ता पनि संकटमा परेको छ ।
अमेरिका र इरानबीच आइतबार ओमानमा भेट हुने तय भएको थियो । तर, एपी समाचार एजेन्सीका अनुसार ओमानले भनेको छ, ‘इजरायली आक्रमणपछि इरान र अमेरिका बीचको वार्ता अब हुने छैन ।’
शुक्रबार इजरायलले इरानको आणविक तथा सैनिक संरचनाको केन्द्रमाथि तीव्र आक्रमण गरेको थियो । यसक्रममा इजरायली युद्धक विमान र पहिले नै इरानभित्र गुप्त रूपमा पुर्याइएका ड्रोन प्रयोग गरेर महत्त्वपूर्ण पूर्वाधारमाथि आक्रमण गरिएको छ । शीर्ष सैन्य अधिकारी तथा वैज्ञानिक समेत मारिएको इजरायली पक्षले जनाएको छ ।
इजरायलको दाबीअनुसार यो कदम इरान आणविक हतियार निर्माणको झन् नजिक पुग्नुअघि नै आवश्यक थियो ।
त्यसको जवाफस्वरूप इरानले पनि इजरायलमाथि सयौं बलिस्टिक मिसाइल प्रहार गरेको छ । यस्ता आक्रमणका क्रममा जेरुसेलम र तेलअविवको आकाशमा विस्फोटका दृश्य देखिएका थिए र भुइँमा रहेका भवनहरूसमेत हल्लिएका थिए ।