
गत बिहीवार राति इजरायलले इरानको आणविक कार्यक्रमलाई लक्षित गरेर आक्रमण शुरू गरेपछि इरानले गरेको जवाफी मिसाइल आक्रमणमा परी इजरायलमा १० जनाको ज्यान गएको छ ।
इरानले हाइफा र तेलअविवलाई लक्षित गरेर प्रहार गरेको मिसाइल आक्रमणमा व्यापक जनधनको क्षति भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आक्रमणमा परी २ सय इजरायली नागरिक घाइते भएका छन् भने २० जना बेपत्ता छन् ।
आफूमाथि इरानले गर्न सक्ने सम्भावित प्रत्याक्रमणको अन्जाद गरेर इजरायलले बिहीबारदेखि नै राष्ट्रिय आपतकाल घोषणा गरेको थियो ।
यतिबेला आपतकालीन कामबाहेक कसैलाई पनि बाहिर ननिस्किन इजरायलले एडभाइजरी जारी गरेको छ । त्यही कारणले पनि मानवीय क्षति कम भएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायल र इरानबीच चलेको यो दोहोरो मिसाइल र ड्रोन आक्रमण छिटै मत्थर हुने देखिएको छैन ।
पछिल्लो समय इजरायलका सबै हवाई अड्डाहरू बन्द भएका छन् । छिमेकी देशका सीमा बन्द गरिएका कारण इजरायलमा रहेका नेपालीलगायत कोही पनि विदेशी नागरिक बाहिर जाने अवस्था छैन ।
इजरायलमा कार्यरत करिब ७ हजार नेपाली नागरिकको सुरक्षालाई लिएर नेपालमा रहेका परिवारका सदस्यहरू चिन्तित छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको चिन्तालाई लिएर परराष्ट्र मन्त्रालयका अधिकारीहरू निरन्तर छलफलमा छन् ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि आइतबार बिहान राजदूत धनप्रसाद पण्डितलाई फोन गरेर त्यहाँको हालखबर बुझेकी थिइन् ।
लोकान्तरसँगको कुराकानीमा परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भने, 'हामी त्यहाँस्थित हाम्रो दूतावाससँग निरन्तर सम्पर्कमा छौं । हाम्रो दूतावासले त्यहाँस्थित नेपाली समुदायसँग निरन्तर कुराकानी गरिरहेको छ । अहिलेसम्मको अवस्था चिन्ता गर्नुपर्ने छैन ।'
ढकालले तत्काल केही गर्नुपर्ने भएमा त्यहाँको सरकारसँग समन्वय गरेर उद्दारको काम गर्न सरकार तयार रहेको बताए ।
नेपालीका लागि डेढ वर्षअघिको त्यो कालो दिन
करिब २ वर्षअघि २०८० को असोज २० गते शनिबार आतंककारी समूह हमासले गाजा क्षेत्रबाट इजरायल प्रवेश गरी गरेको अन्धाधुन्ध आक्रमणमा परी १० नेपाली नागरिकको मृत्यु भएको थियो ।
कृषि क्षेत्र (किबुज्ज)मा हमासले गरेको आक्रमणकै क्रममा त्यहाँ रहेका १७ नेपाली प्रशिक्षार्थी कामदारमध्ये १० मारिएका थिए भने २ जना गम्भीर घाइते भए । अर्का एकजना विपिन जोशीलाई हमासले अपहरण गरेको थियो । उनको अवस्था अहिलेसम्म अज्ञात छ ।
उक्त आक्रमणमा नारायणप्रसाद न्यौपाने, गणेशकुमार नेपाली, आशिष चौधरी, दीपेशराज विष्ट, आनन्द साह, राजेशकुमार स्वर्णकार, राजन फुलारा, पदम थापा, प्रवेश भण्डारी र लोकेन्द्रसिंह धामीले ज्यान गुमाएका थिए । सोही आक्रमणमा परी करिब १२ सय जना अन्य इजरायली नागरिकसमेत मारिएका थिए ।
अहिले इजरायलमा रहेका नेपालीले त्यही कहर सम्झिरहेका छन् । तेलअविवमा काम गर्ने एक नेपाली महिला लोकान्तरको सम्पर्कमा आएकी थिइन् । उनले पछिल्लो समय आफू डिप्रेसन र एन्जाइटीमा गएको बताइन् ।
'मैले यहाँका सञ्चारमाध्यम पनि हेरेकी छैन । केही दिनयता काममा पनि गएकी छैन । म बसेकै घरमा अहिलेसम्म सुरक्षित छु । कतिबेला के हुने हो थाहा छैन । म जस्तै हामी धेरै नेपालीहरूको अवस्था यस्तै छ,' उनले लोकान्तरसँग भनिन् ।
इजरायलमै कार्यरत सुनिल श्रेष्ठले शनिबार सामाजिक सञ्जाल फेसबूकमा पोस्ट गर्दै आफू र आफ्नो परिवार सुरक्षित रहेको बताएका छन् ।
'नेपालमा रहनुहुने आफन्तजन तथा शुभेच्छुकहरूले हाम्रो कुनै चिन्ता नलिनु होला । हामी स–परिवार सकुशल छौं,' उनले लेखेका छन् ।
इजरायलमा कार्यरत धेरै नेपालीहरू यतिबेला केही बोल्ने मूडमा छैनन् । उद्दारका लागि सरकार गुहार्ने पक्षमा पनि छैनन् । इजरायली सरकारले जारी गरेको एडभाइजरी पालना गरे त्यहीँ सुरक्षित हुने अधिकांशको विश्वास देखिन्छ ।
विराटनगरका मेयर पनि इजरायलमै अड्किए
५ दिनअघि इजरायल भ्रमणमा पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला यतिबेला इजरायलको जेरुसेलमस्थित एक होटलमा बसिरहेका छन् ।
शहरी विकास र फोहोर व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदानका निम्ति उनीलगायत अन्य कतिपय देशका नगरप्रमुख इजरायल पुगेका थिए ।
इरानी आक्रमणका कारण उनी सहभागी हुने भनिएको कार्यक्रम रद्द भएको छ भने हवाई सेवा र छिमेकी देशको सीमा बन्द भएकाले उनीलगायत इजरायल पुगेका अन्य पनि त्यहीँ अड्किएका छन् ।
उनी अहिलेसम्म सुरक्षित रहेको उनको सचिवालयले जनाएको छ ।
कोइरालाले नेपाली राजदूत पण्डितलाई फोन गरेर आफूलाई इजरायल बाहिर लैजान दिनकै अनुरोध गर्ने गरेका छन् । तर, त्यसका लागि अहिले कुनै उपाय नरहेको राजदूत पण्डितले लोकान्तरसँग बताए ।
यसैबीच, त्यहाँको प्रहरीले इरानलाई सहयोग पुग्ने खालका पोस्टहरू नगर्न चेतावनी दिएको छ ।
सामाजिक सञ्जालमार्फत इजरायली प्रहरीले भनेको छ, 'हालका केही घण्टामा हामीले गैरजिम्मेवारपूर्ण पोस्टहरू देखेका छौं, जसमा फोटो र भिडियोहरू समेत समावेश छन् । कतिपयले आक्रमणका घटनास्थलको ठेगाना समेत देखाउने प्रयास गरेका छन् । यस्ता सामग्रीहरू सर्वसाधारणले सावधानी नअपनाई, सम्बन्धित सुरक्षा निकायहरूको अनुमतिविना नै सार्वजनिक गरेका छन् । हामी आमजनसमुदायलाई अनुरोध गर्छौं -यस्ता सन्देश र सामग्रीहरू फैलाउनबाट जोगिनुहोस्, जसले युद्धको समयमा शत्रुलाई सहयोग पुग्नसक्छ र सर्वसाधारणमा अनावश्यक त्रास सिर्जना गर्न सक्छ ।'
यसैबीच, इजरायल-इरानको तनावपछि त्यहाँ रहेका नेपालीको सुरक्षाबारे नेपालको संसद्मा पनि प्रश्न उठेको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गरेका थिए ।
'करिब ७ हजार नेपाली इजरायलमा छन्, र केही इरानमा पनि रहेको सुन्नमा आएको छ । उनीहरूको सुरक्षाबारे सरकारले के गरिरहेको छ ? सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु,' आकस्मिक समयमा पौडेलले भनेका थिए ।
सतर्क भएर मात्र सुरक्षित हुने अवस्था रहेन - इजरायलस्थित नेपाली राजदूत पण्डित
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले यसअघिजस्तो सतर्क रहँदैमा सुरक्षित हुने अवस्था नरहेको बताएका छन् ।
लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, 'युद्ध शुरू भएपछि हिजो र अस्तिको रात बढी नै डाङडुङ भयो । इरानबाट आएका कतिपय ब्यालेस्टिक मिसाइलहरू आइरन डोमले पनि छेक्न नसक्ने रहेछ । पछिल्लो समय तेल अविव र हाइफामा क्षति भएको यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । अहिले सतर्क भएर मात्र सुरक्षित हुने अवस्था रहेन । यहाँको सरकारले जारी गरेको सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्छ ।'
राजदूत पण्डितले आफू आफ्नो निवासमै रहेको र त्यहाँस्थित नेपाली समुदायका प्रतिनिधिसँग निरन्तर छलफल र कुराकानीमा रहेको बताए ।
'भिडियो कलमार्फत आफ्नै निवासबाट मैले यहाँस्थित नेपाली समुदायका प्रतिनिधिसँग निरन्तर संवाद गरिरहेको छु । अहिले नै उद्धारको कार्य गरिहाल्न सम्भव पनि छैन, एयरपोर्टहरू बन्द छन् । छिमेकीसँगको सीमा पनि बन्द छ ।'
उनले विराटनगरका मेयर नागेश कोइरालाले आफूलाई नेपाल पठाउन पहल गरिदिन बारम्बार अनुरोध गरेको तर अहिलेको अवस्थामा त्यो सम्भव नभएको पनि बताए ।
'हाम्रो पाहुना हुनुहुन्छ, मेयरसाब । उहाँ ४/५ दिनदेखि यहीँ हुनुहुन्छ । उहाँले कसै गरेर पनि आफूलाई नेपाल पठाइदिन भन्नुभएको छ । एयरपोर्ट खुल्नेबित्तिकै मात्र त्यो सम्भव होला । नभए साइप्रसको सीमा खुल्यो भने त्यताबाट भए पनि नेपाल पठाउने प्रयास हुनेछ ।'