
इजरायल र इरानबीचको द्वन्द्वले अहिले चरम रूप लिएको छ । इरानले भित्रभित्रै आणविक हतियार उत्पादन गरिरहेको ठहर गर्दै इजरायलले आक्रमणलाई तीव्र बनाएको छ भने इरानले पनि इजरायली साइबर प्रणालीमा आक्रमणको प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
इजरायलले इरानमाथि आकस्मिक रूपमा आक्रमण गरेपछि जवाफी कारबाहीमा उत्रिएको इरानले पनि प्रत्याक्रमणलाई तीव्रता दिएको छ । हाल दुवै मुलुक हवाई आक्रमणमा केन्द्रित छन् ।
इजरायली सेनाले सैन्य उत्तर-पूर्वी तेहरानका केही भागहरू खाली गर्ने चेतावनी जारी गरेको छ । त्यसको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्ने चेतावनी दिएका छन् ।
इजरायली सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानी क्षेप्यास्त्रहरूलाई रोक्न काम गरिरहेको बताएको छ र हालै बासिन्दाहरूलाई बम आश्रयस्थलहरू छोड्न सल्लाह दिएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई लक्षित गर्ने कुरालाई अस्वीकार गरेका छैनन् । यसअघि आइतबार एक अमेरिकी अधिकारीले सीएनएनलाई बताएअनुसार ट्रम्पले खामेनीलाई मार्ने इजरायली योजनालाई अस्वीकार गरेका थिए।
इरानी आक्रमणबाट इजरायलमा २४ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । इरानमा २२४ जनाको मृत्यु भएको छ। धेरै धेरै मानिसहरू तेहरानबाट भाग्न खोजिरहेको समाचारमा उल्लेख छ ।
तर, सडकहरू अवरुद्ध छन्, हवाई सेवा बन्द छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प क्यानडामा भइरहेको जी–७ शिखर सम्मेलन बीचमै छोडेर स्वदेश फर्किने भएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले धेरै महत्वपूर्ण कार्यहरूमा ध्यान दिनुपर्ने भएकाले राष्ट्रपति ट्रम्प ह्वाइट हाउस फर्किन लागेको बताएकी छन् ।
केही समयअघि ट्रम्पले सामाजिक संजालमा पोष्ट गर्दै अमेरिका प्रथम नीति अन्तर्गत इरानलाई परमाणु हतियार राख्न नदिने पनि सन्दर्भ भएको बताएका थिए ।
यसैबीच, ट्रम्पले क्यानाडामा जी-७ नेताहरूले इजरायल र इरानबीचको तनाव कम गर्न आह्वान गर्दै तयार पारेको संयुक्त वक्तव्यमा हस्ताक्षर नगर्ने भएका छन् । यद्यपि, दस्तावेज तयार गरिरहेका अधिकारीहरूले उनलाई अन्ततः मनाउन सकिने आशा व्यक्त गरेका छन् ।
शिखर सम्मेलनमा युरोपेली अधिकारीहरूले अगाडि बढाएको मस्यौदा वक्तव्यमा इजरायललाई आत्मरक्षाको अधिकार रहेको र इरानले आणविक हतियार प्राप्त गर्न नसक्ने उल्लेख छ।
तर ट्रम्प, जसले जी-७ जस्ता बहुपक्षीय संगठनहरूको उपयोगितामाथि प्रश्न उठाएका छन् ।
तस्वीर : एएफपी