२७ असार २०८३, शनिबार
कोल्डस्टोर छन्, काम छैन

तरकारीको असन्तुलित चक्र : सिजनमा मूल्य नपाएर फालाफाल, अफसिजनमा महंगीको मार

असार ३, २०८२
काठमाडौं
तरकारीको असन्तुलित चक्र : सिजनमा मूल्य नपाएर फालाफाल, अफसिजनमा महंगीको मार

गत (२०८१)माघ दोस्रो साता भरतपुरका किसानले बारीमै ट्र्याक्टर चलाएर काउली नष्ट गरे । भरतपुर महानगरपालिका– २४ स्थित केरुंगाका ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामा आबद्ध किसानहरूले लगाएको काउली बारीमा ट्र्याक्टर लगाएर नष्ट गरिएको थियो । बजार भाउ नपाएपछि काउली बारीमै नष्ट गर्नुपरेको उनीहरूको भनाइ थियो । 

त्यस्तै, दुई वर्षअघि असारको पहिलो साता काठमाडौंको प्रमुख तरकारी बजार कालीमाटीको सडकमा गोलभेँडा फ्याकिएको थियो । मूल्य नपाएको भन्दै त्यतिबेला सडकमा गोलभेँडा फालिएको थियो । त्यसअघि २०७९ असारमा पनि भरतपुर, काठमाडौं, पाँचथरलगायत जिल्लामा यसरी टमाटरहरू सडकमा फलिएका थिए । 

यसका साथै देशका विभिन्न स्थानमा किसानहरूले उचित भाउ नपाएको भन्दै यसरी सडकमा तरकारीहरू फाल्दै आएका छन् । सिजनको समयमा किसानहरूले उत्पादन लागतसमेत उठाउन नसकेको गुनासो सुनिन्छ । नेपालमा कृषि उत्पादनले बजार र उचित मूल्य नपाउने समस्या पहिलेदेखिको हो । सिजनमा गाउँ र बजारमा तरकारी फालाफाल हुन्छ भने अफसिजनमा त्यही तरकारीको मूल्य अकासिन्छ । 

सिजनमा किसानहरूले उत्पादन गरेको तरकारी अत्यधिक भइदिन्छ भने अफ सिजनमा त्यही तरकारीको आपूर्ति अपुग भएर महँगो हुन्छ । यसका साथै अहिले प्रत्येक स्थानीय तहमा आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न हाटबजार, व्यवस्थित बजार तथा खुल्ला तरकारी बजार बनेका छन् । स्थानीय तहबाटै रैथाने कृषि उत्पादनको प्रवर्द्धनमा जोड दिइएको छ । तर, पनि बजारको माग र आपूर्तिको सन्तुलन कहिल्यै मिल्न सकेको छैन । 

कृषि उपजलाई लामो समयसम्म ताजा राख्न र बजारको प्रतिस्पर्धी मूल्यको आधारमा बाहिर निकालेर बिक्री गर्न शीतभण्डार गृह अर्थात् कोल्डस्टोरको अवधारणा आएको हो । नेपालमा माग र आपूर्तिको चेनलाई सन्तुलन गर्न कोल्ड स्टोरहरू सञ्चालनमा छन् । 

कृषि विभागले सार्वजनिक गरेको विवरणअनुसार निजी तथा सहकारी क्षेत्रबाट देशभर १८ जिल्लामा ९७ हजार ७ सय मेट्रिक टन भण्डारण क्षमताका ३२ शीतभण्डार अर्थात् कोल्ड स्टोर निर्माण भएका छन् । जसमध्ये ४ हजार ५ सय मेट्रिक टन क्षमताका दुई शीतभण्डार बारा र घोराहीमा पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन् । यसबाहेक कृषि उपजको कमीका कारण अधिकांश शीतभण्डार क्षमताको ६० देखि ७० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा छन् । यो पनि केबल कृषि विभागले २०७९ सालमा प्रकाशित गरेको तथ्याङ्क हो । हालको तथ्याङ्क सरकारी निकायसँग छैन । 

null

विशिष्टीकृत क्षेत्रबाट उत्पादन भएर आउने र बजारीकरणका दृष्टिले सम्भाव्य क्षेत्रमा मात्रै शीतभण्डार निर्माणगरी सञ्चालन गर्नुपर्ने सरकारी मापदण्ड छ । सरकारले यस्ता शीतभण्डारमा करोडौँ रुपैयाँ लगानी गरिसकेको छ । भण्डारण गृहको अवस्था कस्तो छ ? कति सञ्चालनमा छन् ? कति क्षमतामा सञ्चालन भइरहेका छन् ? यसको खोजी भएको छैन । 

सिजनमा किन हुन्छ तरकारी फालाफाल र अफसिजनमा हाहाकार ? 
कुन स्थानमा कति तरकारीहरू उत्पादन हुन्छन् ? र बजारमा माग कति छ ? यसको कुनै पनि यकिन तथ्याङ्क नहुनु नै सबैभन्दा ठुलो कमजोरी रहेको राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष पञ्चकाजी श्रेष्ठ बताउँछन् । सरकारसँग किसानले कति उत्पादन गर्छ ? त्यसको तथ्याङ्क नै नभएकोले बजारमा असन्तुलित भएको उनको भनाइ छ । 

‘पहिले हामीसँग कुन स्थानमा कति उत्पादन हुन्छ ? त्यसको तथ्याङ्क हुनुपर्छ । त्यो नभई हामीले आपूर्ति  मिलाउन सक्दैनौँ’, उनले भने, ‘कहिले अत्यधिक तरकारी भएर किसान सडकमा तरकारी फल्न बाध्य हुन्छन् भने कहिले त्यही तरकारी दोब्बर तेब्बर मूल्यमा पाउन पनि मुस्किल हुन्छ । त्यसको कारण कुन किसानले के उत्पादन गर्छ ? कति उत्पादन गर्छ ? कुन क्षेत्रमा कस्ता वस्तुहरू उत्पादन हुन्छन् ? यसको यकिन तथ्याङ्क सरकारसँग नहुनु हो ।’

नेपाली बजारको माग अनुसारको आपूर्ति नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्वसचिव कञ्चनराज पाण्डे बताउँछन् । बजारमा आन्तरिक र बाह्य दुवै खालका उत्पादनहरूको प्रतिस्पर्धा गरेर मात्रै भित्र्याउने प्रणाली बनाउनुपर्ने उनको भनाइ छ । 

‘हाम्रो बजारले चाहे अनुसारको अथवा आवश्यकताअनुसारको आपूर्ति भइरहेको छैन । जसले गर्दा अफसिजनमा हाहाकार र सिजनमा फालाफाल भइरहेको हुन्छ’, उनले भने, ‘हाम्रो भूगोलमा १२ महिना नै सम्पूर्ण आपूर्ति हुनेगरी उत्पादन गर्न सकिन्छ । समयअनुसार फरक–फरक क्षेत्रबाट उत्पादन गरेर अभावको समयमा पनि आपूर्ति पुर्‍याउन सकिन्छ भने बजार मूल्य नपाउने र सिजनमा अत्यधिक हुने समस्यालाई कम गर्न सकिन्छ । त्यसका लागि हामीले हाम्रा नीतिहरूबाटै परिवर्तन गरेर लैजानुपर्छ ।’

किसानको लगानी, उत्पादन, बजारीकरण, भण्डारण र मुनाफामा सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । सरकारले चाहेमा एकपटकमा आन्तरिक उत्पादनको आपूर्तिमा सुधार ल्याउन सक्ने उनको तर्क छ ।

salt training

कमेन्ट गर्नुहोस्