
आर्थिक वर्ष २०८२/०८३ को बजेटमा संखुवासभाको पाँचखपन नगरपालिकामा ‘वाना रंगशाला’ निर्माण गर्न ती करोड रुपैयाँ विनियोजन गरिएको छ, जसअन्तर्गत पहिलोदेखि तेस्रो त्रैमासिकसम्म एक–एक करोड रुपैयाँका दरले खर्च गर्ने गरी बजेट छुट्याइएको छ ।
बजेट पुस्तिकामा स्थान पाए पनि उक्त रंगशाला कसको जग्गामा निर्माण गर्न लागिएको हो भन्ने विषयमा राष्ट्रिय खेलकुद परिषद् नै अनभिज्ञ छ । रंगशाला निर्माण गर्ने भनिएको जग्गाको बारेमा राखेपको सम्बन्धित शाखामा कुनै विवरण उपलब्ध छैन ।
राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका एक कर्मचारीका अनुसार, आगामी आर्थिक वर्षमा निर्माण गर्ने भनिएको ‘वाना रंगशाला’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारिएको छैन । तर, बजेट भने विनियोजन गरिएको छ ।
००००
बजेटमा ओखलढुंगा जिल्लाको सिद्धिचरण–१२ मा खेल खेलमैदान, सोही जिल्लाको मानेभञ्ज्याङ–३ स्थित खेलमैदान, सोही जिल्लाको लिखु गाउँपालिकास्तरीय खेलमैदान र सोही जिल्लाको खिजिदेम्बा गाउँपालिकास्थित खिजिकाती खेलमैदान तथा पूर्वाधार निर्माण गर्न रकम छुट्याइएको छ ।
बजेटको रमाइलो पक्ष के हो भने जिल्लाका यी चारवटा खेलमैदान निर्माण गर्न केवल तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा निर्माण गर्ने भनिएका यी चार खेलमैदानको जग्गा र डीपीआरको विषयमा समेत कुनै जानकारी उपलब्ध छैन ।
अर्को रोचक पक्ष, एउटै खेलमैदान निर्माण गर्न करोडौं रुपैयाँ खर्च लाग्छ, जबकि डीपीआर समेत नभएका चारवटा खेल मैदान निर्माणका लागि केवल तीन करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । बजेटमा समावेश गरिएका यी चार आयोजनालाई मूर्तरूप दिने जिम्मेवारी पाएको राखेपको पूर्वाधार निर्माण तथा मर्मत शाखा आफैं अन्योलमा छ ।
००००
यस्तै, अवस्था बर्दिया जिल्लामा पनि छ । बढैयाताल गाउँपालिका– ८ मा मयुरबस्ती खेलमैदान, गुलरिया नगरपालिका– ४ स्थित गुलरिया इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर हल र बर्दियाकै बढैयाताल गाउँपालिका– २ स्थित अमरज्योति मावि क्रिकेट मैदान निर्माण गर्न बजेटमा रकम विनियोजन गरिएको छ ।
तर, यी तीनवटै खेलकुद पूर्वाधार निर्माणका लागि एकमुष्ट तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । यी तीन योजनाको पनि जग्गा र डीपीआर तयार छ वा छैन भन्ने विषयमा राखेपका प्राविधिक कर्मचारी अन्योलमै छन् ।
००००
‘अधिकांश योजना दबाब र प्रभावमा’
माथिका केही उदाहरणमात्र हुन् । आगामी आर्थिक वर्षको बजेटमा खेलकुद पूर्वाधार निर्माणका लागि एक सय सात योजना समावेश गरिएको छ । हालको तुलनामा आगामी आर्थिक वर्षको बजेटमा खेलकुद पूर्वाधार निर्माणका लागि उल्लेख्य रकम वृद्धि गरिएको छ ।
चालू आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माणका लागि १ अर्ब ३० करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको थियो । त्यसमध्ये पनि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न १६ करोड रुपैयाँ सहरी विकास मन्त्रालयमा रकमान्तरण गरिएको थियो ।
तर, यही जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा भने खेल पूर्वाधार निर्माणका लागि तीन अर्ब २० करोड १० लाख रुपैयाँ छुट्याइएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा खेलकुद पूर्वाधार निर्माणका लागि समावेश गरिएका अधिकांश योजना नयाँ छन् । यी सबै योजना राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत कार्यान्वयन हुन्छन् । तर, आगामी आर्थिक वर्षको बजेटमा परेका अधिकांश योजनाको बारेमा राखेप आफै अनभिज्ञ छ ।
‘आगामी बजेटमा देशभर खेलकुद पूर्वाधार निर्माणका लागि ठूलो रकम विनियोजन गरिएको छ । यो नेपाली खेलकुदका लागि खुशीको खबर हो । तर, प्राविधिक जनशक्तिलगायत विभिन्न कारणले यी योजनालाई कसरी कार्यान्वयन गर्ने भन्ने चुनौती छ,’ पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठ भन्छन् ।
राखेप बोर्डका एक सदस्यका अनुसार, राखेपबाट सिफारिस नै नभएका थुप्रै नयाँ योजना बजेटमा परेका छन् । ‘कुन स्थानमा कुन खेलको पूर्वाधार आवश्यक पर्छ भन्ने कुराको राम्रो जानकारी राखेपलाई हुन्छ । तर, यसपटक राखेपले सिफारिस नै नगरेका योजनाहरू बजेटमा थुप्रिएका छन्,’ उनी भन्छन् ।
उनका अनुसार, मन्त्री, सांसद र प्रभावशाली व्यक्तिहरूको दबाबमा अधिकांश योजना ल्याइएको छ । ‘अधिकांश योजना दबाब र प्रभावमा आएका छन् । मन्त्रीज्यूको जिल्लामा मात्र आठ–नौवटा योजना परेका छन् । स–साना योजनामा कनिका छरेजस्तै बजेट छरिएको छ,’ उनी भन्छन् ।
देशको खेलकुद विकासमा दीर्घकालीन प्रभाव पार्ने गतिला पूर्वाधार निर्माणमा भने निकै कम रकम विनियोजन गरिएको उनी बताउँछन् । ‘खेलकुदका ठूला र महत्वपूर्ण पूर्वाधार निर्माण गर्नमा बेवास्ता गरिएको छ । खेलकुदमा पनि राष्ट्रिय गौरवका योजना छन् । तर, यस्ता गौरवका योजनामा निकै कम रकम छुट्याइएको छ । आवश्यकता र रकम विनियोजनबीच तालमेल देखिँदैन,’ उनी भन्छन् ।
००००
पूर्वाधार बजेटमा तीन करोडको रमाइलो
आगामी आर्थिक वर्षको खेलकुद बजेटमा अर्को रमाइलो संयोग पनि जुरेको छ । बजेटमा पूर्वाधार निर्माणतर्फ अधिकांश योजनाका लागि एउटै संख्यामा रुपैयाँ विनियोजन गरिएको छ । अधिकांश योजनाका लागि तीन करोड रुपैयाँ छुट्याइएको छ । खेलमैदान निर्माणमा पनि तीन करोड र रंगशाला निर्माणमा पनि तीन करोड नै बजेट विनियोजन गरिएको छ ।
एक सय सातमध्ये ८४ योजनाका लागि तीन करोड रुपैयाँका दरले रकम विनियोजन गरिएको छ । अझ रमाइलो पक्ष त के हो भने, तीन करोड रुपैयाँभित्रै चारवटासम्म योजना समेटिएको छ । तीन करोडभित्रै दुई वा तीनवटा योजना मिसाएर त धेरै जिल्लामा बजेट विनियोजन गरिएको छ ।
‘सबै योजनालाई तीन करोड विनियोजन गरिएको छ । पूर्वाधार विकासको यो कस्तो नीति हो ? बजेट विनियोजनअघि न स्थलगत निरीक्षण गरिएको छ, न त छलफल । खेलकुदको एउटै पूर्वाधार तयार पार्न करोडौं खर्च लाग्छ । तर, बजेटमा तीन करोडभित्र तीन–चारवटा योजनासम्म पूरा गर्ने लक्ष्य राखिएको छ,’ राखेप बोर्डका एक सदस्य भन्छन् ।
००००
न डीपीआर, न त जग्गाको स्पष्टता
पूर्वाधार निर्माण तथा मर्मत शाखाका अनुसार, आगामी वर्षको बजेटमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएका अधिकांश योजनाको जग्गा र डीपीआरको विषयमा अन्योल छ । जग्गा र डीपीआरको विषयमा स्पष्टता नभएसम्म योजना अघि बढाउन समस्या हुन्छ ।
‘धेरैजसो योजनाको डीपीआर तयार पारिएको छैन । त्यसैले सबै योजनाका लागि समान (३ करोड रुपैयाँ) रकम विनियोजन भएको हो । थुप्रै योजनामा डीपीआरको कुरै गरिएको छैन । जग्गा कस्तो प्रकृतिको हो भन्ने विषय पनि जानकारी छैन । यसअघि पनि अरूको जग्गामा खेलकुदका संरचना बनाएर पछुताउनु पर्ने अवस्था सिर्जना भइसकेको छ,’ शाखाका एक अधिकारी भन्छन् ।
बजेटमा खेलमैदान वा रंगशाला बनाउन भनेर छुट्याइएको रकम डीपीआरको लागि खर्च गर्न नपाइने नियम रहेको पनि उनी बताउँछन् । ‘बजेटमा जुन शीर्षकमा रकम छुट्याइएको हुन्छ, त्यही काम गर्नु पर्छ । खेल मैदान बनाउन भनेर आएको रकम डीपीआरमा खर्च गर्दा महालेखा परीक्षकले समाउँछन् । त्यसैले कसैले पनि यस्तो जोखिम मोल्न चाहँदैनन्,’ उनी भन्छन् ।
हेर्नुहोस्, विनियोजित बजेटको प्रति :











००००
कहिले पूरा होलान् राष्ट्रिय गौरवका आयोजना ?
खेलकुदमा अहिले तीनवटा राष्ट्रिय गौरवका आयोजना छन् । तर, राष्ट्रिय गौरवका आयोजनाका लागि बजेटमा उल्लेख्य रकम विनियोजन गरिएको छैन । काठमाडौंस्थित मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी निर्माण पनि राष्ट्रिय गौरवको आयोजना हो ।
डीपीआर अनुसार, यो आयोजना पूरा गर्न ६ अर्ब रुपैयाँ खर्च हुने उल्लेख छ । तर, आगामी आर्थिक वर्षको बजेटमा यो आयोजनाका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यस आधारमा मूलपानी क्रिकेट एकेडेमी निर्माणको काम सम्पन्न हुन अझ लामो समय लाग्ने देखिन्छ ।
आगामी वर्षको बजेटमा मूलपानी क्रिकेट एकेडेमीका लागि विनियोजित रकममध्ये पहिलो र दोस्रो त्रैमासिकमा १०–१० करोड रुपैयाँ निकासा हुनेछ ।
यसैगरी, मोरङको बैजनाथपुर (विराटनगर) स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण पनि राष्ट्रिय गौरवका आयोजनाभित्र पर्छ । यो आयोजनाका लागि आगामी आर्थिक वर्षको बजेटमा १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पहिलो त्रैमासिकमा एक करोड, दोस्रोमा पाँच करोड, तेस्रोमा आठ करोड र चौथो त्रैमासिकमा दुई करोड रुपैयाँ निकासा हुनेछ । डीपीआरमा गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियमको निर्माण सम्पन्न गर्न ३ अर्ब रुपैयाँ खर्च हुने उल्लेख छ ।
यसैगरी, चितवनस्थित गौतमबुद्ध क्रिकेट स्टेडियम पनि राष्ट्रिय गौरवको आयोजना हो । तर, यो स्टेडियम संघीय सरकारको कार्यक्रममा पर्दैन । संघीय सरकारले आवश्यक सहयोग भने गर्छ ।
यो स्टेडियम प्रदेश सरकार र स्थानीय पालिकाको लगानीमा तयार भइरहेको छ ।
‘देशभर खेलकुदको भौतिक पूर्वाधार निर्माण हुनु खुसीको विषय हो । तर, यसरी धेरै योजनालाई थोरै–थोरै रकम विनियोजन गर्नुभन्दा ठूला र महत्त्वपूर्ण आयोजनाहरूमा बढी रकम खर्चिएर त्यस्ता आयोजना सम्पन्न गर्नु उपयुक्त हुन्छ,’ राखेपका एक बोर्ड सदस्य भन्छन् ।
००००
अवधारणा स्पोर्ट्स भिलेज, बजेट तीन करोड
आगामी आर्थिक वर्षको बजेटमा झापाको दमकमा स्पोर्ट्स भिलेज निर्माण गर्न बजेट विनियोजन गरिएको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले महत्वका साथ दमकमा स्पोर्ट्स भिलेज निर्माण गरिने उल्लेख गरेका थिए ।
उक्त स्पोर्ट्स भिलेजमा एकै स्थलमा विभिन्न खेलका प्रतियोगिता खेल्न मिल्ने गरी सुविधासम्पन्न पूर्वाधार तयार पारिने बताइएको छ । सोही स्पोर्ट्स भिलेजमा मदन भण्डारी रंगशाला पनि निर्माण गरिने छ । वास्तवमा यस्तो स्पोर्ट्स भिलेज तयार पार्न अर्बौँ रुपैयाँ खर्च हुन्छ । तर, बजेटमा यस प्रयोजनका लागि केवल ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
००००
११ औं राष्ट्रिय खेलकुदको तयारी सकारात्मक पक्ष
वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको १० औं संस्करण कर्णाली प्रदेशमा आयोजना हुँदैछ । तर, विभिन्न कारणले पटक–पटक प्रतियोगिताको मिति सारिँदै आएको छ । चालू आर्थिक वर्षको बजेटमा १० औं खेलकुदका लागि रकम छुट्याइएको थियो ।
तर, प्रतियोगिता हुन नसकेपछि आगामी आर्थिक वर्षको बजेटमा पनि १० औं राष्ट्रिय खेलकुदका लागि ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रतियोगिता कहिले आयोजना हुन्छ भन्ने विषयमा भने अझै यकिन हुन सकेको छैन ।
त्यसपछि प्रतियोगिताको ११ औं संस्करण मधेश प्रदेशमा आयोजना हुँदैछ । ११ औं राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार तयार पार्न पनि आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरिएको छ । नेपाली खेलकुदका लागि यो सुखद् पक्ष हो ।
भौतिक पूर्वाधारकै अभावमा धेरैपटक राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने गरेको तीतो इतिहास नेपाली खेलकुदसँग छ । त्यसैले अहिले नै ११ औं राष्ट्रिय खेलकुदको तयारीका लागि रकम विनियोजन हुनु सकारात्मक पक्ष हो ।
११ औं राष्ट्रिय खेलकुदलाई ध्यानमा राखी वीरगञ्जस्थित नरायणी रंगशाला स्तरोन्नतिका लागि चार करोड, नारायणी बहुउद्देश्यीय कभर्डहल स्तरोन्नतिका लागि चार करोड, सप्तरीमा मोतीलाल स्मृति बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि तीन करोड, सिराहामा पशुपति आदर्श मावि बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि तीन करोड र सप्तरीको राजविराजस्थित राज रंगशाला स्तरोन्नतिका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको छ ।