२७ असार २०८३, शनिबार

आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस

असार ५, २०८२
काठमाडौं
आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित चार जनालाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशलाई त्यहाँबाट झिकाउन न्याय परिषद्ले सिफारिस गरेको छ । 

बुधबार बसेको न्याय परिषद्को बैठकले न्यायाधीशद्वय डा. खुसी प्रसाद थारू र अर्जुन महर्जनलाई झिकाउन लागि सर्वोच्च अदालतलाई सिफारिस गरेको परिषद् स्रोतले जानकारी दियो । 

यसअघि अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारू र महर्जनमाथि छानबिनको माग गर्दै पीडितले न्याय परिषद्‌मा उजुरी दिएका थिए । रौतहटको बम काण्डमा मारिएका त्रिलोकप्रसाद सिंह (पिन्टु)का बुवा श्रीनारायण सिंह राजपुतले मंगलबार उजुरी दिएका थिए ।

अभियन्ता युवराज सफलले पनि न्यायाधीशद्वय थारू र महर्जनविरुद्ध छुट्टै उजुरी दिएका थिए ।

यता, अस्थायी इजलास वीरगञ्जका रजिस्ट्रार दीपक भण्डारीले न्यायाधीशद्वयलाई झिकाउने निर्णय भएको पत्र अहिलेसम्म प्राप्त नभएको बताए । 

‘उहाँहरू (न्यायाधीशद्वय थारू र महर्जन) गत आइतबारदेखि सर्वोच्च अदालतको सम्पर्कमा रहनेगरी बिदामा बस्नुभएको थियो । उहाँहरू अहिलेसम्म आइसक्नुभएको छैन । सर्वोच्चबाट कुनै पत्र पनि आइपुगेको छैन’, भण्डारीले भने ।

अब न्याय परिषद् सिफारिस गरेसँगै सर्वोच्च अदालतले उनीहरूलाई काजमा तानेर छानबिनको प्रक्रिया अघि बढाउनेछ । 

थारू अहिले अस्थायी इजलास वीरगञ्जका एक नम्बर न्यायाधीश हुन् । त्यसअघिका एक नम्बरका न्यायाधीश राजन भट्टराई उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीशमा सिफारिस भएर नियुक्त भएपछि थारू एक नम्बरमा उक्लिएका हुन् ।

न्यायाधीशद्वय थारू र महर्जनको इजलासले गत जेठ १४ गते आलमका अलावा महताब आलम, शेख सेराज भन्ने शेख सराद र बद्री सहनीलाई पनि सफाइ दिने फैसला गरेको थियो ।

वि.सं. २०६४ को संविधानसभा निर्वाचनताका रौतहटमा इँटाभट्टामा जिउँदै आफ्ना कार्यकर्ता जलाएको अभियोग आलममाथि थियो ।

संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा आलमको निर्देशनमा बम विस्फोट भएको थियो ।

त्यसको पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरूलाई इँटा भट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्री आलममाथि लागेको थियो ।

यो पनि पढ्नुहोस्-

न्यायपरिषद्‌ बैठक : आलमलाई सफाइ दिने उच्चका न्यायाधीशद्वयलाई कारवाही गर्न दबाब 

इँटाभट्टामा जिउँदै मान्छे पोलेको आरोप लागेका आलमले पाए सफाइ, जिल्लाको फैसला उल्टियो

अफताब आलमको मुद्दा– जिल्लाले जन्मकैद गर्दा लिएको थियो यस्ता आधार, उच्चद्वारा नजरन्दाज !

salt training

कमेन्ट गर्नुहोस्