
बुटवलकी कुशल नृत्यकार बबिता धिताललाई पछिल्लो समय मोफसलदेखि देश/विदेशसम्मका धेरैजसो कार्यक्रममा भ्याइनभ्याइ हुन्छ । मेला–महोत्सव हुन् वा ‘इभेन्ट’ हरेकमा बबिताको खोजी हुन्छ । सबैतिर दर्शकले खोज्न थालेपछि उनलाई ‘स्टेज’मा लिएर कार्यक्रम गर्न आयोजकको तँछाडमछाड नै हुन्छ । धितालको नृत्य नहेरेसम्म मेला/महोत्सवदेखि कन्सर्टसम्म पुगेका दर्शक खुसी हुँदैनन् ।
कलाकारिता क्षेत्रमा प्रवेश गरेको एक दशकमै उनलाई धेरैले रुचाएका छन् । कतिपयले व्यस्त मोडल अञ्जली अधिकारीसँग पनि तुलना गर्ने गरेका छन् ।
छोटो समयमा नाम र दाम दुवै कमाएकी २७ वर्षीया धिताल सबै प्रकारका नेपाली, भोजपुरीदेखि बलिउडका गीतमा अब्बल नाच प्रस्तुत गर्ने क्षमता राख्छिन् । सबैजसो ‘इभेन्ट’का नाचमा फिट हुने धिताललाई कतिपयले नृत्य ‘क्विन’को उपमा समेत दिने गरेका छन् ।
उनले आफूलाई डान्सरमा मात्रै सीमित राखेकी छैनन् । उनले आफ्नो क्षमता मोडल, ‘जज’ र कोरियोग्राफर हुँदै मोडलसम्म फैलाएकी छन् । व्यवसायिकरूपमा ५०० भन्दा बढी स्टेजमा आफ्नो नृत्य ‘सो’ गरिसकेकी उनी अहिलेसम्म देशका सबै जिल्लासहित विदेशमा पनि आधा दर्जन मुलुकमा गएर आफ्नो कला प्रस्तुत गरेकी छन् ।
उनले नेपाली, भोजपुर, क्लासिकलदेखि बलिउडका गीतमा सफल नृत्य प्रस्तुत गर्ने गरेको बताउँछिन् । ‘हिजोअस्तजस्तो लाग्छ, यो क्षेत्रमा लागेको, नाचेर लोकप्रिय बन्छु भन्ने लागेको थिएन । तर, मैले यहीँ आफूलाई स्थापित गर्न सफल भएँ,’ उनी भन्छिन् ।
पोखराको सम्झना कला केन्द्र र बुटवलका बागेश्वरी संगीतालयबाट नृत्य सिकेर विस. २०६८ देखि नृत्य प्रशिक्षण लिएर औपचारिक यस क्षेत्रमा होमिएकी हुन् । सानैदेखि नृत्यमा रूचि राख्ने उनी एउटा इभेन्टमा तीन/चार पटकसम्म नाच्ने गर्छिन् । ‘आफ्नै देशमा रहेर कलाकारितामा टिकिराख्नुको कारण मेरो कला मन पराइदिनु पनि हो,’ उनी भन्छिन्, ‘मनमा पलाएको रहरलाई आफ्नो कर्म क्षेत्र बनाएँ, स्वास्थ्य क्षेत्र पढेकी म आखिर अहिले कला क्षेत्रमा आइपुगें, मनमा पलाएका इच्छालाई रोक्न सकिने रहेछन् ।’
नृत्यबाट उनले आफूलाई अभिनय र ‘जज’देखि कोरियोग्राफीसम्म पुर्याइसकेकी छन् । ‘रहर र आफू भित्रकै हुटहुटीले कला यो क्षेत्र रोजेकी हुँ,’ बबिता भन्छिन्, ‘नृत्यले मलाई बाँच्न र यहीँ क्षेत्रमा भविष्य खोज्न सिकायो । कपिलवस्तु वाणगंगा नगरपालिका–११ ओदारीको सामान्य धिताल परिवारकी छोरीलाई अहिले नृत्यकर्मी बनायो । नृत्य छाड्न त मेरो सास गए बराबर हो,’ उनीले नाचप्रतिको आफ्नो मोह सुनाइन् । उनको बबिता एन्जल डान्स टीम पनि छ ।

गाउँमै आधारभूत तहको पढाइ पूरा गरेकी बबिताले बुटवलको कान्ति माविबाट तत्कालीन एसएलसी र प्लस टु उत्तीर्ण गरेकी हुन् । त्यसपछि उनले बुटवलकै अक्सवृज टेक्निकल कलेजमा पढाइ थालिन् । उता, बुटवल बहुमुखी क्याम्पसबाट स्नातक तह पनि पूरा गरिन् ।
बुवा कृष्ण र आमा शान्ताको सपना चाहिँ छोरीलाई स्वास्थ्यकर्मी बनाउने थियो तर, उनी मञ्जुर भइनन् । शुरूमा बाबाले सर्पोट नगरे पनि छोरीको क्षमता देखेर विस्तारै सर्पोट गर्दै गए ।
टीभीमा मोडलहरूको नाच हेर्दा उनमा ऊर्जा आउँथ्यो । बबिताले भाग लिएका हरेकजसो नृत्य प्रतियोगितामा उपाधि चुम्दै आउथिन् । अहिले द स्टेस अफ नेपालको निर्णायकसँगै नृत्य निर्देशक संघ कपिलवस्तुको उपाध्यक्ष पनि हुन् ।
उनले बुटवलमा आफ्नै नृत्यम डान्स एकेडेमी सञ्चालनमा ल्याएकी छन् । एकेडमीमा नृत्य सिक्न आउनेको लागि आफ्नै गाडी (भ्यान) किनेर सुविधासमेत दिइएको छ ।
नृत्यको तौरतरिका र स्टेपहरू ख्याल गर्छिन् । फिनिसिङ, एक्सप्रेसन, अभिनय र ड्रेसअपमा उनी सधैं कन्सियस हुन्छिन् । छरितो ज्यान भएकी उनले नृत्यमार्फत् दिनुपर्ने चिजहरू दिन्छिन् । ‘ नृत्य क्षेत्रमा पहिलो हुनुपर्ने कुरा अनुशासन हो । सँगै नृत्यका लागि ड्रेस, गरगहनासहित स्टेजबाट गीतको भावअनुसार प्रस्तुति दिन सक्नुपर्छ । अडियनसँग खेल्न सक्नुपर्छ, गीतको दिएको बहादुरी नृत्यबाट पस्किनु डान्सरको क्षमता हो,’ बबिता भन्छिन् ।
नृत्यमा मात्र आफूलाई सीमित नराखी बबिता अभिनयमा पनि आफूलाई अब्बल बनाउँदै अघि बढिरहेकी छन् । उनले विभिन्न गीतमा मोडलिङ र नृत्य गरेर आफूलाई निखारेकी छन् । कल्चरल पोशाकसहित गीतहरूमा नृत्य गर्ने उनको शैली हो । पछिल्लो समय नृत्य क्षेत्रमा आधुनिकताको प्रभाव छ । तर, कला संस्कृतिको जगेर्ना गर्दै आउँदो पुस्तासम्म जस्ताकोतस्तै हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ ।
कलाकारिता क्षेत्रमा आफू सफल हुनुको श्रेय उनले मकुेश गुरुङ, सुमन पौडेल, सुमन श्रेष्ठ, राजीवर जैसवाल, एन्जिला रेग्मी र उमादेवी खनाललाई दिन्छिन् । तीन दिदीबहिनी र एक भाइमध्येकी माइली बबिताले यहीँ क्षेत्रमा बहिनी बिनालाई पनि प्रवेश गराउन खोज्दैछिन् । उनलाई अहिले तीजका गीतको लागि मोडलिङ गर्न अफर आइरहेका छन् । त्यस्तै, उनलाई भोजपुरी फिल्मको अभिनेतृको भूमिका दिएर फिल्म बनाउन निर्देशकहरू तयार छन् ।

नेपाली चलचित्रको सदाबहार नायक भुवन केसीले उनको नृत्य देखेर फिल्म क्षेत्रमा प्रवेश गर्ने भए काठमाडौं आउन समेत आग्रह गरेका थिए । तर, उनलाई बुटवल नै आफ्नो कर्मक्षेत्र भएकोले यहीँबाट देश विदेश जाने तर, काठमाडौं बस्नेगरी नजाने भनेको बताइन् ।
यस क्षेत्रमा लागेर आफू व्यावसायिक रूपमा पूर्ण सफल र सन्तुष्ट रहेको बताउने बबिता भन्छिन्, ‘कलाकारितामा कमाइ हुँदैन भनेर कसरी भनूँ, मैले नाचेरै राम्रो कमाइरहेकी छु । तर, यो स्थानमा संघर्ष, परिश्रम र लगावपछि बल्ल पुग्न सकिन्छ ।’
समाजमा मोडल हुन वा नाच्ने कलाकारलाई पनि पनि राम्रो दृष्टिले हेरेको पाइँदैन । नृत्य क्षेत्र क्षेत्र पनि सम्मानित पेशा हो । यो क्षेत्रमा प्रवेश गर्न चाहनेका लागि आफूलाई निखारेर आउन उनको सुझाव छ ।