३१ असार २०८३, बुधबार
स्थानीय तहका जनप्रिय नेता

झण्डै चार दशकदेखि चुनाव नहारेका अम्बरबहादुर

असार ७, २०८२
विराटनगर
झण्डै चार दशकदेखि चुनाव नहारेका अम्बरबहादुर

एकपटक चुनाव जितेपछि धेरैजसो जनप्रतिनिधि जनताबाट टाढिन्छन् । त्यही कारण अधिकांश जनप्रतिनिधिलाई दोहोर्‍याएर चुनाव जित्न निकै सकस पर्छ । संघीय र प्रदेश सांसदको काम नै जनताको घरदैलोबाट अलि टाढा हुने भएकाले उनीहरू स्वाभाविकरूमा नियमित जोडिन पाउँदैनन् । तर, स्थानीय तहकै कतिपय जनप्रतिनिधि चुनाव जितेपछि जनता बिर्सिन्छन् र ​अधिकांशले दोस्रो चुनावमा पराजय भोग्नुपर्छ ।

तर, केही अपवाद पनि छन्, जो सधैं जनतासँगै जोडिरहन्छन् र बारम्बार चुनाव जित्छन् । यस्तै, एक उदाहरण हुन् तेह्रथुमको लालिगुराँस नगरपालिका–९ का वडाध्यक्ष अम्बरबहादुर गुरुङ । उनले २०४३ सालदेखि आजसम्म कुनै पनि चुनावमा पराजित हुनु परेको छैन । 

२०४३ सालमा २५ वर्षको उमेरमा तत्कालीन सोल्मा पञ्चायतको प्रधानपञ्च बनेका गुरुङलाई धेरैले गम्भीरताका साथ लिएका थिएनन् । गुरुङको छोरोले कसरी चुनाव जित्छ भनेर खिल्ली उडाउनेहरूलाई उनले बहालवाला प्रधानपञ्च आशबहादुर लावतीलाई पराजित गरेर जवाफ दिएका थिए । जनपक्षीय उम्मेदवारको रूपमा निर्वाचित भएका गुरुङले त्यसयता आफ्नो राजनीतिक यात्रामा कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । 

पञ्चहरूको दबदबा भएका बेला जनपक्षीय उम्मेदवारको रूपमा निर्वाचित भएका उनी त्यसयता उम्मेदवार बन्दा कहिल्यै हारेका छैनन् । २०४९ सालमा नेकपा (एमाले)बाट तत्कालीन सोल्मा गाविसको अध्यक्षमा निर्वाचित भएका उनी २०५४ सालमा पुन: सोही गाविस अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि उनी २०७४ र गत चुनावमा लगातार वडाध्यक्ष निर्वाचित भएका हुन् । 

गुरुङको राजनीतिक यात्रा भने सहज थिएन । २०४५ सालमा वामपन्थी भएको आरोपमा उनी ३२ दिन जेलमा बसेका थिए । २०४७ सालमा आफ्नै गाउँ पुरुन्दीनमा रहेको कालिका प्राथमिक विद्यालयमा पूर्वपञ्चहरूको समूह र कम्युनिष्टबीच दोहोरो भिडन्त हुँदा नेतृत्व गर्ने उनै थिए ।

गाउँमा कम्युनिष्ट विचारधारा राख्नेहरूमाथि पूर्वपञ्चहरूले अत्याचार गर्न थालेपछि उनीहरूमाथि जाँइलाग्नुको कुनै विकल्प नभएको गुरुङले बताउँछन् । जनताले पालेका खसीबोकादेखि अन्नबालीसमेत पञ्चहरूको समूहले उठाउन थालेपछि उनी आन्दोलित भएका थिए । 

आन्दोलनले उग्ररूप लिन थाले पनि प्रहरीले पञ्चहरूका नेतालाई नियन्त्रणमा लिन नसकेपछि उनी आफैंले घरमा पसेर तत्कालीन पञ्चहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए ।

सबैभन्दा खतरनाक क्षण त्यो थियो जब गाउँमै दोहोरो झडप भएको ३ वर्षपछि उनीमाथि पूर्वपञ्चहरूको समूहले बाटो ढुकेर ज्यान मार्नेगरी आक्रमण गरेको थियो । सदरमुकाम म्याङलुङ बजारबाट घरतर्फ फर्कने क्रममा जिरिखिम्ती बजारनजिक पूर्वपञ्चहरूको एक समूहले बाटो ढुकेर उनीमाथि खुकुरी प्रहार गरेका थिए । निधारमा प्रहार भएको खुकुरीको चोटको दाग अझै छ ।

null

एमाले जिल्ला कमिटी तेह्रथुमले त्यसबेला हेलिकप्टर बोलाएर उनलाई काठमाडौं पठाएको थियो ।  तत्कालीन एमाले जिल्ला कमिटी तेह्रथुमका सचिव तुलसी न्यौपानेले हेलिकप्टर ल्याउन ठुलो पहल गरेका थिए । न्यौपाने अहिले एमाले केन्द्रीय कमिटीका वैकल्पिक केन्द्रीय सदस्य छन् ।  त्यसबेला समयमा हेलिकप्टर नमगाएको भन्दै एमाले कार्यकर्ताले तत्कालीन प्रमुख जिल्ला अधिकारीमाथि हातपातसमेत गरेका थिए ।

उपचारपछि गाउँ फर्किएर उनी राजनीतिमै सक्रिय भए । माओवादीको १० वर्षे जनयुद्धमा भने उनी विस्थापित हुनुपर्‍यो । त्यसपछि उनी काठमाडौंमा बसेका थिए । एमालेका विजय सुब्बालगायत नेता विस्थापित भएका बेला कांग्रेसका नेता तुलसी सुब्बा लगायतले उनलाई सहयोग गरेका थिए। उनी अहिले नेपाली कांग्रेस लालिगुराँस नगर कमिटीको अध्यक्ष पनि हुन् । 

गुरुङको राजनीतिक सफलताको रहस्य उनको जनसम्पर्क र सिद्धान्त हो ।  ‘जनताको पसिना खान नहुने’ भन्दै काममा जाँदा उनले आफ्नै खर्चले चियाखाजा खुवाउने गरेका छन् । उनको आर्थिक अवस्था भने सामान्य छ । तर, गुरुङलाई गाउँ विकासको मोडलको रूपमा स्थानीयले चिन्ने गरेका छन् । 

वडा सचिव नभएका बेला उनी आफैं सचिवको काम पनि गरिदिन्छन् । ‘काम सकिएपछि खाजा खानुहोस् भन्दै १–२ हजार पनि दिन्छन् । जनताको काममा वडाभन्दा बाहिर जाँदासमेत चिया खाँदा हाम्रो काम गरिदिएको थियो खायो भन्छन् भनेर नखाने गरेको उनले बताए । ‘गाउँ घरमा खान्न भनेर त पुग्दैन,’ उनले भने, ‘तर सकेसम्म नखाउँ भन्ने नै लाग्छ । तर, जनताको काम गर्न जाँदा चाहिँ पानी खाएर बरू भोकै घर फर्कन्छु ।’

गुरुङले ५ पटक प्रतिद्वन्द्वीलाई पछि पार्दै चुनावमा विजय हासिल गरिसकेका छन् ।  चार दशक जनप्रतिनिधि बनेका गुरुङप्रति जनता पनि खुसी छन् ।  विकासका मोडलसमेत मानिएका गुरुङले जनताको काम गर्दा भने भेदभाव गर्दैनन् । 

वडाको योजना छान्दा आफ्ना सबै राजनीतिक दल तथा वडाका अगुवाहरूलाई राखेर काम गर्छन् । पहिलाको जनप्रतिनिधि र अहिलेको जनप्रतिनिधिबीच धेरै भिन्नता रहेको उनले बताए । ‘पहिला बजेट हुँदैन थियो । वडामा बैठक बसेर जनताको काममा जानु पर्थ्याृ । तर, अहिले केही काम वडाबाट पनि गर्न सकिन्छ,’ उनले भने ।  पहिलाभन्दा काम गरेर अहिले देखाउन सकिने उनले बताए । 

पहाडका गाउँमा सामान्य जीवन बिताउन सहज भएको उनी बताउँछन् । कागती, सुन्ताला, किवी र एभोकाडोलगायत फलफूलले आर्थिक अवस्था सुधार गर्न सक्ने उनको भनाइ छ । आर्थिक सुधारका लागि विकास निर्माण बाहेकका काममा पनि सघाउने गरेको उनले बताए । आउने चुनावमा के गर्ने भन्ने अहिले नै निर्णय गरिनसकेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्