
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि इरानमाथि गरिएको हवाई आक्रमणलाई इतिहासकै ‘सफल र साहसी अभियान’को रूपमा चित्रण गरेका छन् ।
इरानको आणविक कार्यक्रममा कति क्षति पुग्यो भन्ने विवाद संसारभर चलिरहेका बेला उनले इरानको आणविक कार्यक्रम ‘पूर्णतः ध्वस्त’ भएको दाबी गर्न छोडेका छैनन् ।
तर, अमेरिकी गुप्तचर निकाय र स्वतन्त्र विश्लेषकहरूले गरेको आशंकाले ट्रम्पको बयान र यथार्थबीच गहिरो खाडल देखिएको छ ।
ट्रम्पको राष्ट्रपति पदको आधारभूत रणनीति बलियो, साहसी र अडिग नेता हुनु हो । उनले २०२० को निर्वाचनदेखि नै ‘ममाथि विश्वास गर, म गल्ती गर्दिनँ’ भन्ने ब्रान्ड विकास गरेका छन् ।
यस्तो अवस्थामा यदि इरानले आणविक क्षमता यथावत् राख्न सफल रहेको प्रमाण आयो भने ट्रम्पको प्रतिष्ठा र रणनीतिक विफलताको सन्देश फैलिने खतरा हुन्छ ।
यही कारणले गर्दा ट्रम्प र उनका सल्लाहकारहरूले प्रारम्भदेखि नै पूर्ण विनाश भन्ने शब्द प्रयोग गर्दै सफलता देखाउने प्रयास गरेका छन् ।
जबकि अमेरिकी रक्षा खुफिया एजेन्सी (डीआईए)को प्रारम्भिक रिपोर्टले इरानको आणविक कार्यक्रम पूर्ण ध्वस्त नभएको बरू केही क्षति भएको बताएका छन् ।
ट्रम्पको उत्तेजित प्रतिक्रिया र मिडिया आक्रमण
उत्तर एटालान्टिक सन्धी संगठन (नेटो) शिखर सम्मेलनका क्रममा ट्रम्पले उक्त आक्रमणबारे बोल्दै भने, ‘यो संसारमै सबैभन्दा सफल सैन्य कारबाही हो । यस्तो कुनै पनि सेनाले गर्न सक्दैन ।’
ट्रम्पका रक्षा मन्त्री पिट हेगसेथले सीएनएन र द न्यूयोर्क टाइम्सजस्ता सञ्चारमाध्यममाथि आक्रोश पोखेका छन् । उनले ती मिडियाहरूलाई आफ्नो राजनीतिक स्वार्थमा समाचार लेखेको आरोप लगाए । उनले भनेका छन्, ‘यी मिडियाहरू ट्रम्प वा अमेरिका होइन, आफ्नै राजनीतिक स्वार्थमा रिपोर्ट गर्छन् ।’
हेगसेथ स्वयं फक्स न्यूजका पूर्व टिप्पणीकार हुन् । उनको टिप्पणी शैली मन पराएर नै ट्रम्पले रक्षा विभागको जिम्मा दिएका हुन् ।

गुप्तचर एजेन्सीहरूको फरक-फरक मूल्यांकन
सीआईए प्रमुख जोन र्याटक्लिफ र राष्ट्रिय गुप्तचर निर्देशक तुल्सी गाबार्डले संयुक्त वक्तव्य जारी गर्दै इरानको कार्यक्रम गम्भीर रूपमा क्षतिग्रस्त भएको बताएका छन् ।
उनीहरूका अनुसार इरानका प्रमुख आणविक संरचना नष्ट भएका छन् र पुनः निर्माण गर्न वर्षौं लाग्नेछ । तर, यो वक्तव्य स्वयं ट्रम्पले गरेको ‘पूर्ण विनाश’को दाबीभन्दा कम छ ।
जमिनको सतहभन्दा सयौं फिट तल रहेको इरानको भूमिगत केन्द्र फोर्डोमा बंकर बस्टिङ बमले वास्तविक क्षति पुर्यायो कि पुर्याए, त्यसको पूर्ण प्रमाण अझै आइसकेको छैन ।
सञ्चारमाध्यम र केही डेमोक्र्याट सांसदहरूले ट्रम्प प्रशासनलाई यस विषयमा पारदर्शिता राख्न आग्रह गरेका छन् ।
तर, यसको सट्टा ट्रम्प प्रशासनले प्रारम्भिक खुफिया रिपोर्ट लुकाउने, विपक्षी नेताहरूलाई समयमै जानकारी नदिने र संसद्मा ब्रिफिङ नै स्थगित गर्ने जस्ता निर्णय लिएको छ । ट्रम्प प्रशासनले आफूविरुद्ध खुलेर आलोचना गर्नेलाई ‘अमेरिकाविरोधी’ करार गर्ने रणनीति लिएको छ ।
पेन्टागनका उच्च अधिकारीहरूले समेत ट्रम्पको दाबी पुष्टि गर्ने खालको कुनै ठोस विवरण दिन सकेका छैनन् । केही विश्लेषकहरूको हवाला दिँदै सीएनएन लेख्छ, ‘यदि कुनै राष्ट्रपति आफ्नो स्वार्थमा यथार्थ सार्वजनिक गर्न सक्दैन भने त्यो प्रवृत्तिले राष्ट्रिय सुरक्षामै खतरा पुर्याउँछ ।’
सन् २००३ को इराक युद्धअघि अमेरिकी प्रशासनले इराकमा रसायनिक हतियारको भण्डार रहेको भनी बनावटी न्यारेटिभ सेट गरेको थियो । त्यही सन्दर्भ अहिले पनि पुनः जीवन्त बनेको विश्लेषकहरूको दाबी छ ।
युद्धविरामपछिको कूटनीति
इरानमाथि बम आक्रमणपछि तुरुन्तै इजरायल र इरानबीच युद्धविराम भयो, जसलाई ट्रम्पले आफ्नै ‘कूटनीतिक चातुर्य’को उपलब्धि मानेका छन् ।
ट्रम्पले भनेका छन्, ‘अब उनीहरू फर्किँदैछन् । मलाई उनीहरूबीच कस्तो सम्झौता हुन्छ भन्ने मतलब छैन, जस्तो भए पनि ठीकै छ ।’
ट्रम्पका विशेष दूत स्टीभ विट्कफले सीएनबीसीसँगको कुराकानीमा भनेका थिए, ‘हामी इरानसँग आणविक सवालभन्दा परको समग्र शान्ति सम्झौताको तयारीमा छौं ।’
यदि विट्कफले भनेजस्तो उक्त सम्झौता भयो भने ४५ वर्षदेखिको द्वन्द्व अन्त्य हुनेछ । तर, यो सम्भव भए पनि ट्रम्पले भनेको जस्तो सहज नदेखिएको विश्लेषकहरूको मत छ ।
इरानको सम्भावित प्रतिक्रिया
इरानले भने आफू आणविक हतियारको खोजीमा नरहेको बताउँदै आएको छ । आफ्नो आणविक कार्यक्रम देशलाई ऊर्जामा आत्मनिर्भर बनाउने कदमको हिस्सा भएको दाबी इरानी नेताहरूले गर्ने गरेका छन् ।

तर, अमेरिकी हमलापछि इरानको सोच बदलिन सक्ने खतरा देखिएको छ । केही विश्लेषकको भनाइ उदृत गर्दै सीएनएन लेख्छ, ‘अब इरान झन् चाँडो आणविक बम बनाउन उद्यत हुनेछ, ताकि आफ्नो अस्तित्व जोगाउन सकियोस् ।’
इरानले आफ्नो कार्यक्रममा अन्तर्राष्ट्रिय निरीक्षण अस्वीकार गर्न सक्ने खतरा पनि छ । अनि, यसअघि भन्दा बढी गोप्य तरिकाले आफ्नो आणविक कार्यक्रम अघि बढाउने सम्भावना पनि बढेको छ ।
अहिलेसम्म ट्रम्पले दाबी गरेको सफलताको ठोस प्रमाण सार्वजनिक गरिएको छैन । बरु, उनले नै बनाएको भनाइलाई स्थापित गर्न खुफिया एजेन्सी, मिडिया र कूटनीतिक च्यानललाई दबाब दिइएको देखिन्छ ।
यदि इरानले आफ्नो कार्यक्रम पुनः शुरू गर्यो अनि गुप्त युरेनियम भण्डारण सुरक्षित रह्यो भन्ने प्रमाण आयो भने यसले अहिलेको भन्दा बढी तनाव अमेरिकालाई नै हुनेछ । त्यस अवस्थामा अमेरिका र इजरायलले नयाँ सैन्य कारबाही गर्नेछन् ।