२४ जेठ २०८३, आइतबार

टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसईईमा उत्कृष्ट नतिजा

असार १४, २०८२
काठमाडौं
टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसईईमा उत्कृष्ट नतिजा

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ ।

उक्त परीक्षामा त्यस विद्यालयबाट सहभागी २९ विद्यार्थीमध्ये छ जनाले ४ जीपीए र बाँकीले ३.८ जीपीएभन्दा माथिको नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले जानकारी दिए ।

विद्यालयबाट सो परीक्षामा ११ जना छात्र र १८ जना छात्रा सहभागी भएका थिए ।

विद्यार्थीहरूको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहकार्यले गर्दा विदेशमा रहेर पनि विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको उनको भनाइ छ ।

मुलुक बाहिरको एक मात्र नेपाली पाठ्यक्रमअनुसार अध्ययन हुने उक्त विद्यालयबाट पाँचौं समूहले एसईई परीक्षा दिएको थियो ।

उक्त विद्यालयमा नेपाल, भारत, बङ्गलादेश, जापान र जाम्बियाका ५०० बढी विद्यार्थी अध्ययनरत छन् । पाँच वर्षमा सो विद्यालयबाट ११३ जनाले एसईई उत्तीर्ण गरिसकेको पनि प्रधानाध्यापक भट्टले बताए ।

जापानमा रहेका नेपाली समुदायको पहलमा सो विद्यालय सञ्चालनमा आएको हो । सन् २०१३ सालमा स्थापना भएको उक्त विद्यालयलाई जापानको शिक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यालय सरहको मान्यता दिएको छ । त्यस विद्यालयले विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२ मा पनि अध्ययन गराइरहेको छ ।

एभरेष्ट स्कूलले टोकियो कै आराकावा शहरमा नर्सरीदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने गरी नयाँ विद्यालयसमेत खोलेको प्रधानाध्यापक भट्टले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्