०३ असार २०८३, बुधबार
मुख्यसचिवद्वारा छड्के अनुगमन

'एक्सन'मा मुख्यसचिव अर्याल: वैदेशिक रोजगारसहित ३ विभागमा छड्के, कर्मचारीलाई कडा निर्देशन [भिडियो]

असार १७, २०८२
काठमाडौं

मुख्यसचिव एकनारायण अर्यालले मंगलबार वैदेशिक रोजगार विभाग, राहदानी विभाग र उद्योग विभागको छड्के अनुगमन गरेका छन् । 

सेवा प्रवाह, सुशासनको अवस्था र नागरिकका गुनासोबारे स्थलगत अवलोकन गर्दै उनले सेवाग्राहीहरूसँग प्रत्यक्ष संवाद गर्नुका साथै समस्या र अनुभवबारे जानकारी लिए।

केही सेवाग्राहीको काम तत्कालै सम्पादन गरिएको थियो। अनुगमनमा प्रधानमन्त्री कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्दबहादुर कार्कीको पनि उपस्थिति थियो।

त्यसक्रममा मुख्यसचिव अर्यालले श्रम स्वीकृति प्रदान गर्दा देखिएका समस्याहरूको शीघ्र समाधान गर्न निर्देशन दिए। वैदेशिक रोजगार सूचना प्रणालीलाई सेवाग्राहीमैत्री बनाउँदै अन्य सम्बन्धित प्रणालीहरूसँग आबद्ध गरेर व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो ।

वैदेशिक रोजगारका क्रममा जोखिममा परेका वा ठगिएका नागरिकलाई तत्काल राहत तथा उद्दार गर्न र ठगिएका व्यक्तिलाई रकम फिर्ता गराउने काम नेपाल प्रहरीसँग समन्वय गरी अघि बढाउन उनले निर्देशन दिए।

त्यसैगरी, राहदानी वितरण प्रक्रियालाई छिटो, छरितो र नागरिकले सहजै पाउने गरी सुधारको व्यवस्था गर्न उनको निर्देशन थियो । वैदेशिक रोजगार प्रणाली, अध्यागमन प्रणाली र राहदानीको तथ्याङ्क एकीकृत गरी आपसमा जोड्ने कार्य तुरुन्त शुरू गर्न पनि मुख्यसचिव अर्यालले निर्देशन दिए ।

निजी क्षेत्रलाई प्रविधिमैत्री र एकीकृत सेवामार्फत सहज सेवा उपलब्ध गराउने, उद्योग, वाणिज्य तथा कम्पनी प्रशासनलाई चुस्त-दुरुस्त बनाउने र औद्योगिक सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्यलाई पारदर्शी बनाउने आवश्यकता रहेको उनको भनाइ थियो ।

उद्योगी तथा लगानीकर्ताले सबै सेवा एउटै ठाउँबाट सजिलै पाउन सकून् भन्ने उद्देश्यसहित एकल विन्दु सेवा केन्द्रको अवधारणाअनुसार कार्य प्रणाली रुपान्तरण गर्न पनि मुख्यसचिव अर्यालले निर्देशन दिए।

लगानीकर्ता तथा निजी क्षेत्रले भोगिरहेका कठिनाइहरू तत्काल निवारण गर्न आवश्यक कार्य शुरू गर्न पनि उनको निर्देशन थियो ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्