३१ असार २०८३, बुधबार
खर्च र आम्दानीको हिसाब

आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदा ७४ प्रतिशत राजस्व संकलन, पूँजीगत खर्च आधाभन्दा कम

असार १८, २०८२
काठमाडौं
आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदा ७४ प्रतिशत राजस्व संकलन, पूँजीगत खर्च आधाभन्दा कम

चालू आर्थिक वर्ष २०८१/८२ सकिन १४ दिन मात्र बाँकी रहँदा नेपाल सरकारले राजस्व संकलनमा करिब ७४ प्रतिशत मात्रै प्रगति गर्न सकेको छ ।

महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको असार १७ सम्मको तथ्यांकअनुसार १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँबराबरको राजस्व लक्ष्यमध्ये जम्मा १० खर्ब ५६ अर्ब ७७ करोड रुपैयाँ मात्र संकलन भएको छ । यसले कुल लक्ष्यको ७४ दशमलव ४६ प्रतिशत भेटिएको देखाएको छ ।

कर राजस्वतर्फ १२ खर्ब ८४ अर्ब रुपैयाँको लक्ष्यमा हालसम्म ९ खर्ब ५५ अर्ब रुपैयाँ संकलन भएको छ । यो कुल लक्ष्यको ७४ दशमलव ४ प्रतिशत हो ।

गैर-कर राजस्वतर्फ भने ७५ प्रतिशतको हाराहारीमा प्रगति भएको छ । तर, अनुदान शीर्षकमा भने अपेक्षा अनुरूप संकलन हुन सकेको छैन । ५२ अर्ब ३२ करोड रुपैयाँको अनुदान लक्ष्यमा हालसम्म जम्मा १९ अर्ब ८८ करोड मात्रै प्राप्त भएको छ, जुन जम्मा ३८ प्रतिशत मात्र हो ।

राजस्व संकलनमा मध्यम गतिमा प्रगति भइरहेका बेला सरकारी खर्चतर्फ पनि मिश्रित तस्वीर देखिएको छ ।

चालू आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । तर, मंगलबारसम्ममा १३ खर्ब ९२ अर्ब रुपैयाँ खर्च भएको छ ।

यो जम्मा लक्ष्यको ७४ दशमलव ८४ प्रतिशत मात्र हो । यसमा पनि चालू खर्चतर्फ ११ खर्ब ४० अर्ब लक्ष्यमध्ये ८० दशमलव ९६ प्रतिशत अर्थात् ९ खर्ब २० अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

चालू खर्च लक्ष्य भेट्ने दिशातर्फ लाग्दा पूँजीगत खर्चको अवस्था भने कमजोर छ ।

आर्थिक वृद्धिको मेरुदण्ड मानिने यो शीर्षकमा सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । तर, आर्थिक वर्ष सकिनै लाग्दा पनि अहिलेसम्म ५० प्रतिशत पूँजीगत खर्च हुन पनि सकेको छैन ।

पूँजीगततर्फ हालसम्म जम्मा १ खर्ब ६२ अर्ब ४९ करोड रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको ४६ दशमलव १२ प्रतिशत मात्र हो । त्यस्तै, आर्थिक वर्षको अन्त्यतिर आएर खर्च तीव्र पार्ने सरकारी अभ्यासको निरन्तरता यसपटक पनि देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार मंगलबार मात्र सरकारको खातामा ३५ अर्ब रुपैयाँभन्दा बढी जम्मा भएको छ भने खर्च १ खर्ब २३ अर्ब रुपैयाँ नाघेको देखिन्छ ।

आर्थिक वर्षको अन्तिममा आम्दानी र खर्च दुवैको चाप बढिरहेको छ । मंगलबार मात्र सरकारले चालूतर्फ ९ अर्ब ७९ करोड भुक्तानी दिएको छ भने पूँजीगततर्फ २ अर्ब ५७ करोड खर्च गरेको छ ।

त्यस्तै, सोमबार सरकारले चालू खर्चका लागि ७ अर्ब २७ करोडको चेक काटेको थियो ।

पूँजीगततर्फ सोमबार जम्मा १ अर्ब खर्च भएको छ । त्यस्तै, सोमबार मात्र राजस्व र गैर-कर राजस्वमार्फत सरकारको ढुकुटीमा २ अर्ब ६८ करोड जम्मा भएको छ ।

गत आइतबार मात्र सरकारले चालूतर्फ ७ अर्ब ७६ करोडको चेक काटेको छ भने पूँजीगततर्फ जम्मा १ अर्ब १९ करोडको चेक काटेको छ । आइतबार, वित्तीय व्यवस्थापनका लागि सरकारले करिब ९ अर्ब खर्च गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ ।

विगत वर्षहरूमा जस्तै यसपालि पनि पूँजीगत खर्च लक्ष्य नभेटिने भन्दै अर्थ मन्त्रालयका अधिकारीहरू चिन्तित देखिन्छन् ।

योजनाहरू समयमै प्रारम्भ नहुनु, ठेक्का प्रक्रिया ढिलो हुनु र कार्यान्वयन संयन्त्रमा कमजोरी हुनुजस्ता समस्याका कारण यस्तो भइरहे पनि वर्षौंदेखिको समस्या समाधानका लागि सरकार सधैं उदासीन बन्ने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्