२७ जेठ २०८३, बुधबार
एमसीसी परियोजना सुचारु

अमेरिकी स्वीकृतिपछि अघि बढ्यो एमसीसी परियोजना, यसरी हट्यो कार्यान्वयनबारेको आशंका

असार १८, २०८२
काठमाडौं
अमेरिकी स्वीकृतिपछि अघि बढ्यो एमसीसी परियोजना, यसरी हट्यो कार्यान्वयनबारेको आशंका

विभिन्न क्षेत्रमा अमेरिकी सहायता कटौती हुँदै गर्दा एमसीसी परियोजनाबारेको आशंका निवारण भएको छ  ।

अमेरिकी अनुदानमा सञ्चालन हुने मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनका लागि गठित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए)ले अमेरिकी सरकारले एमसीसी कार्यान्वयनका लागि निर्णय गरेको जानकारी दिएको छ ।

गत जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहयोग कार्यक्रमहरूमाथि ९० दिने स्थगन आदेश जारी गरेपछि नेपालमा कार्यान्वयन भइरहेका कार्यक्रमहरू पनि प्रभावित बनेका थिए ।

त्यसपछि फेब्रुअरी १४ मा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)ले नेपाललाई औपचारिक जानकारी दिँदै अमेरिकी अनुदान स्थगन गरिएको घोषणा गर्‍यो । यसले एमसिए–नेपालका कार्यहरूमा अनिश्चितता सिर्जना गर्‍यो ।

यद्यपि, त्यसको केहीदिनमै अमेरिकी विदेश मन्त्रालयले नेपाललाई विशेष छुट दिने निर्णय गरेको थियो । यस निर्णयले विशेष रूपमा खरिद प्रक्रिया, सबस्टेशन निर्माण र सीमापार प्रसारण लाइन निर्माणका कामहरूले निरन्तरता पाए ।

गत जुन १८ मा अमेरिकी राजदूतावासले आधिकारिक रूपमा एमसीसी नेपाल कम्प्याक्टलाई स्थगनको दायराबाट मुक्त गरिएको घोषणा गर्‍यो ।

त्यसपछि २०२५ जुलाई २ मा एमसिए–नेपालले सामाजिक सञ्जाल एक्समा यो निर्णयको स्वागत गर्दै कम्प्याक्टलाई पूर्णरूपमा कार्यान्वयनमा लैजान अनुमति पाएको जानकारी गराएको हो ।

एमसीसी २०१७ मा हस्ताक्षर गरिएको ५०० मिलियन डलर अमेरिकी अनुदान र १९७ मिलियन डलर नेपाली साझेदारीबाट कुल ६९७ मिलियन डलर बराबरको कार्यक्रम हो ।

यसले विद्युत प्रसारण लाइन विस्तार तथा सडक मर्मत गरी नेपालको ऊर्जा र यातायात पूर्वाधारमा दूरगामी प्रभाव पार्ने लक्ष्य राखेको छ ।

हालसम्म केके भए ?

हाल एमसीए–नेपालले २९७ किलोमिटर विद्युत प्रसारण लाइन, तीनवटा सबस्टेशन र १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण तथा सडक मर्मतसम्बन्धी खरिद प्रक्रिया अघि बढाइरहेको छ ।

एमसीसी अघि बढाउने अमेरिकी निर्णयले यी कामहरू थप गतिमा अघि बढिरहेको एमसीए नेपालका कर्मचारीहरूले जनाएका छन् । यद्यपि आर्थिक प्रगतिको दृष्टिकोणले हेर्दा हालसम्म एमसीसी कम्प्याक्टअन्तर्गत खर्च भने निकै कम देखिएको छ ।

मिलेनियम च्यालेन्ज अकाउन्ट(एमसीए)ले सन् २०१३ देखि नै परियोजनाको पूर्वतयारी शुरू गरेको थियो । सन् २०२३ अगस्त ३० मा उक्त परियोजना औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।

गत वर्ष मे-जुलाइमा नवलपरासी पश्चिम, नुवाकोट र तनहुँमा तीनवटा ४०० केभी जीआईएस सबस्टेसन निर्माणका लागि १६ अर्ब ८८ करोड रुपैयाँ बराबरका ठेक्का सम्झौता भएका थिए ।

नयाँ दमौली र रातमाटे सबस्टेसनहरू प्रत्येक १ हजार एमभीए क्षमताका हुनेछन्, जुन नेपालका सबैभन्दा ठूला सबस्टेसन हुन् ।

त्यस्तै, गत वर्ष नै १८ किलोमिटर लामो बुटवल–गोरखपुर क्रस-बोर्डर प्रसारण लाइन निर्माणका लागि ट्रान्सरेल लाइटिङ लिमिटेडलाई १ अर्ब ६६ करोड रुपैयाँको ठेक्का प्रदान गरियो । यो खण्ड २१ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

२९७ किलोमिटर प्रसारण लाइनको ठेक्का सन् २०२३ मा लागत अनुमानभन्दा ६६ प्रतिशत बढी बोली परेकाले रद्द भएको थियो ।

गत साल नोभेम्बर २७ मा यो खण्डलाई तीन भागमा (लप्सीफेदी–रातमाटे–नयाँ हेटौंडा, रातमाटे–नयाँ दमौली, र नयाँ दमौली–नयाँ बुटवल) विभाजन गरी पुनः बोलपत्र आह्वान गरिएको थियो । त्यस्तै, ८५६ टावर प्याडका लागि १० मध्ये ९ जिल्लामा मुआब्जा निर्धारण समिति गठन भएको छ ।

धादिङ, मकवानपुर र नवलपरासी पश्चिममा मुआब्जा दर निर्धारण भएको छ । यी जिल्लाहरूमा मुआब्जा प्राप्त गर्ने व्यक्तिहरूका लागि बैंक खाता खोल्ने र वित्तीय साक्षरता तालिम प्रदान गरिएको छ । बाँकी ६ जिल्लामा मुआब्जा दर निर्धारणको काम चलिरहेको छ ।

१० मध्ये ९ जिल्लामा वन गणना सम्पन्न भएको छ र वन अनुमतिका लागि प्रमाणीकरणको काम भइरहेको छ । काठमाडौं जिल्लामा यो काम अझै बाँकी थियो । त्यस्तै, एमसीए नेपालका अनुसार रातमाटे सबस्टेसन प्रभावित २७० व्यक्तिहरूका लागि १३ करोड ४० लाख रुपैयाँको २ वर्षे जीविकोपार्जन पुनर्स्थापना कार्यक्रम गत वर्ष सम्पन्न भएको छ ।

त्यस्तै, गत वर्षको जुलाई १५ मा ३२ करोड १६ लाख रुपैयाँको ठेक्कामार्फत नगरपालिका ऊर्जा योजना तयार गर्न र उत्पादनशील ऊर्जा प्रयोगको क्षमता विकास गर्न परामर्श सेवा पनि शुरू भइसकेको छ ।

गत वर्षको जुलाई २२ मा विद्युत् नियामक आयोगलाई आर्थिक, प्राविधिक, कानूनी र नीतिगत सहायता प्रदान गर्न १६ करोड ८ लाख रुपैयाँको ठेक्का सम्झौता भएको छ ।

सडक मर्मत परियोजना एमसीएले पूर्व–पश्चिम राजमार्गको धनखोला-लमही खण्ड (४० किलोमिटर)को सडक मर्मतका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृत भएको जानकारी दिएको छ । सडक मर्मतका लागि डिजाइन र प्राविधिक तयारीको काम भइरहेको छ ।

सन् २०२५ को पहिलो चार महिनामा (जनवरी–अप्रिल) डजको निर्णयले परियोजनालाई प्रभावित पारे पनि केही काम अघि बढेका थिए ।

२९७ किलोमिटर प्रसारण लाइनको ठेक्का बोलपत्रको प्रक्रिया अघि बढेको छ भने तीनवटा सबस्टेसनको निर्माण शुरू गर्न ठेकेदारहरूले साइटमा प्रारम्भिक काम (डिजाइन र साइट क्लियरेन्स) शुरू गरेका छन् । यसबाहेक आयोजना प्रभावित जिल्लाहरूमा मुआब्जा दर निर्धारण र वितरणको काम जारी छ ।

काठमाडौं जिल्लामा जग्गा अधिग्रहण शुरू भएको छ । त्यस्तै, यही ४ महिनामा धनखोला–लमही खण्डको ठेक्का प्रक्रिया शुरू गर्न अन्तिम तयारी भइरहेको छ ।

अहिलेसम्म कति खर्च भयो

सन् २०२३ नोभेम्बरसम्मको तथ्यांकअनुसार एमसीसी र नेपाल सरकारले संयुक्त रूपमा ६ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेका थिए, जसमा एमसीसीका तर्फबाट ३ अर्ब २८ करोड र नेपाल सरकारकातर्फबाट ३ अर्ब १८ करोड खर्च भएको थियो ।

सन् २०२४ मा सबस्टेसन ठेक्का (१६ अर्ब ८८ करोड), क्रस-बोर्डर लाइन ठेक्का (१ अर्ब ६६ करोड), परामर्श सेवा (३२ करोड १६ लाख), प्राविधिक सहायता (१६ करोड ८ लाख) र जीविकोपार्जन कार्यक्रम (१३ करोड ४० लाख)का लागि ठेक्का सम्झौता भएका थिए ।

यी ठेक्काहरूको भुक्तानी आंशिक रूपमा शुरू भइसकेको छ । साथै, जग्गा अधिग्रहण, मुआब्जा र प्रशासनिकतर्फ पनि थप रकम खर्च भएको छ । गत वर्ष एमसीएले जम्माजम्मी १५ अर्ब जति खर्च गरेको छ । त्यस्तै, सन् २०२५ को चार महिनामा भुक्तानी प्रक्रिया प्रभावित भएको छ ।

तर, सबस्टेसन र मुआब्जा वितरणका लागि आंशिक भुक्तानी भएको एमसीएले जनाएको छ । यो अवधिमा थप २ अर्ब रुपैयाँ खर्च भएको छ ।

यसरी हेर्दा अहिलेसम्म एमसीए नेपालले करिब २३ अर्ब ५५ करोड खर्च गरेको छ । यो परियोजनाको जम्माजम्मी बजेटकोको लगभग २३ प्रतिशत हो ।

अहिलेसम्म गरिएको खर्चमा कर्मचारी तलब, कार्यालय सञ्चालन र परामर्शमा उल्लेख्य रकम खर्च भएको छ । त्यस्तै, रातमाटे सबस्टेसनका लागि ४०० रोपनी जग्गा अधिग्रहणमा ठूलो हिस्सा खर्च भएको छ ।

सबस्टेसन र क्रस-बोर्डर लाइनका ठेक्काहरूको प्रारम्भिक भुक्तानी शुरू भएको छ ।

सम्झौताको पृष्ठभूमि

नेपाल र अमेरिकाबीच सन् २०१७ सेप्टेम्बर १४ मा वाशिंगटन डीसीमा एमसीसी सम्झौता सम्पन्न भएको थियो । उक्त सम्झौतामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार नेपालले अमेरिकी सरकारबाट ५५० मिलियन अमेरिकी डलर बराबरको अनुदान प्राप्त गर्नेछ भने नेपाल सरकारले १९७ मिलियन डलर लगानी गर्नेछ । यो संयुक्त रकमले नेपालको ऊर्जा र सडक पूर्वाधार विकासको महत्त्वाकांक्षी योजना अघि बढाउने सहमति भएको थियो ।

नेपाल सन् २०११ मा एमसीसी कम्प्याक्टका लागि योग्य घोषित भएको थियो । त्यसपछि लामो तयारी, परियोजना पहिचान र कूटनीतिक छलफलपछि सम्झौतामा हस्ताक्षर भएको हो । तर, सम्झौताको शुरूआतदेखि नै यसले नेपालको राजनीतिक र सामाजिक वृत्तमा विवाद निम्त्याएको थियो ।

कतिपयले यसलाई अमेरिकी भूराजनीतिक दबाबका रूपमा चित्रित गरेका थिए भने कतिपयले यसलाई दीर्घकालीन विकासको अवसरका रूपमा लिएका थिए ।

लामो रस्साकस्सीपछि ३ वर्षअघि नेपालको संसदले १२ बुँदे व्याख्यात्मक घोषणासहित सम्झौतालाई अनुमोदन गरेको थियो । त्यसको एक वर्षपछि औपचारिक रूपमा परियोजना कार्यान्वयन शुरू गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्