
गृहमन्त्री र गृहसचिवले एकअर्कालाई देखाएर टारिरहँदा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा प्रक्रिया विलम्ब भएको छ ।
प्रहरी नियमावलीमा एसपीबाट एसएसपीमा बढुवाका लागि बन्ने समितिको अध्यक्ष गृहसचिव रहने व्यवस्था छ ।
अध्यक्षले बैठक आह्वान गर्नुपर्छ । गृहसचिव गोकर्णमणि दुवाडीले बैठक बोलाउन आनाकानी गरिरहेका छन् ।
मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री र गृहसचिवको हानथापले बढुवा समितिको बैठक बस्न नसकेको हो ।
बढुवा समितिको सदस्य प्रहरी महानिरीक्षक (आईजीपी) र सदस्य सचिवमा महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहने व्यवस्था छ ।
आईजीपी दीपक थापाले गृहसचिव दुवाडीलाई बढुवा समितिको बैठक बोलाएर एसएसपी बढुवा सिफारिस टुंग्याउन पटक–पटक अनुरोध गरिसकेका छन् । तर, दुवाडीले गृहमन्त्री रमेश लेखकलाई देखाएर अड्को थाप्ने काम गरिरहेको स्रोत बताउँछ ।
‘आईजीपीसाबले एसएसपी बढुवा सिफारिस टुंगो लगाउनमन्त्रीज्यू र सचिवज्यूलाई पटक–पटक अनुरोध गरिसक्नुभयो, मन्त्रीज्यूले सचिवलाई देखाउने र सचिवले मन्त्रीलाई देखाउने गरेकाले बढुवा प्रक्रिया रोकिएको हो ।’
हाल प्रहरीमा ११ जना एसएसपीको दरबन्दी खाली छ । उक्त दरबन्दीमा बढुवा हुन प्रहरी उपरीक्षकहरूको तछाडमछाड चलिरहेको छ । प्रतिस्पर्धी एसपीहरू ३३ जना छन् । विगतमा कारबाही भोगेका एसपीलाई एसएसपी बनाउन नहुने अडानमा आईजीपी थापा छन् । तर, कारबाही भोगेका केही एसपीले शक्तिकेन्द्र (कांग्रेस र एमालेका प्रभावशाली नेता) धाएर जसरी पनि बढुवा सिफारिस सूचीमा अटाउनुपर्ने दबाब दिइरहेका छन् ।
कारबाही भोगेका एसपी विमल बस्नेत, विवादमा आएका प्रकाश रानाभाट, कमल थापा, रमेश पण्डित, दयानिधि ज्ञवाली बढुवा हुन लागिपरेका छन् ।
२०५६ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकाहरू तुलबहादुर कार्की, राकेश सिंह र राजीवबहादुर बस्नेत पनि बढुवाका प्रतिस्पर्धी हुन् ।
२०५८ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकाहरू क्रमश: दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाँल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रवीण धिताल, दयानिधि ज्ञवाली, भुवनेश्वर तिवारी, ऋषिराम कंडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रमेश पण्डित बढुवाका उत्तिकै प्रतिस्पर्धी हुन् ।
गृहमन्त्री लेखक केही दिनका लागि गृहजिल्ला वैतडी पुगेका छन् । राजनीतिक भेटघाट र कार्यक्रमका लागि उनी बुधबार त्यहाँ पुगेका हुन् । उनी नफर्किएसम्म एसएसपी बढुवाको निर्णय नहुने स्रोत बताउँछ ।
विवादमा तानिएकालाई बढुवा दिँदा संगठनमा त्यसले पार्ने दूरगामी असरका बारेमा जानकार आईजीपी थापाले राजनीतिक तहबाट आउने दबाबलाई थेग्न नसक्ने उनीनिकट उच्च अधिकृतहरू बताउँछन् ।
‘बढुवा गर्नुपर्ने सम्भावित एसपीको सूचीबारे गृहमन्त्री र सचिवसँग आईजीपीसाबले रिपोर्टिङ गरिसक्नुभयो,’ प्रहरी मुख्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘तर, गृहमन्त्री र सचिव सकारात्मक देखिनुभएन भन्ने छ ।’
बढुवाका लागि राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मबाट पनि दबाब आउने गरेको ती अधिकृतको भनाइ छ । उनका अनुसार अर्थ मन्त्रालयबाट समेत बढुवाका लागि दबाब आउँछ ।
प्रहरी प्रधान कार्यालयबाट गृह हुँदै बजेटका लागि अर्थमा फाइल पुग्छ । उक्त फाइल रोक्ने जनाउ दिँदै ‘बढुवामा पारिदिनु’ भनेर दबाब आउने गरेको मुख्यालय स्रोत बताउँछ ।
गृहसचिव दुवाडीले एसएसपी बढुवा प्रक्रिया केही दिनभित्रै टुंगिने बताए । उनले लोकान्तरसँग भने, ‘हामी आन्तरिक गृहकार्यमै छौं, केही दिनभित्रै बढुवा प्रक्रिया टुंगोमा पुग्छ ।’