
म्याग्दीको दन्गाममा २२ वर्षअघि भएको एउटा हत्याकाण्डका फरार अभियुक्तलाई प्रहरीले हालै पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–१९ लामाचौरमा लुकिछिपी बस्दै आएका म्याग्दी रघुगंगा गाउँपालिका–४ का ४० वर्षीय खिमबहादुर गर्बुजालाई प्रहरीले पक्राउ गरेको हो ।
उनी २०६० कात्तिक ६ गते भएको २४ वर्षीय धनराम तिलिजाको हत्या घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ । त्यतिबेला घर घेरा हालेर २० जनाको समूहले खुकुरी, लाठी र चिर्पट प्रहार गरेर तिलिजाको हत्या गरेका थिए ।
तत्कालीन समयमा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा २० जनाविरुद्ध किटानी जाहेरी पर्यो । प्रहरीले तत्कालै १७ जनालाई पक्राउ गर्यो । जाहेरीमा उल्लेख भएकामध्ये गर्बुजासहित तीन जना घटना भएको दिनदेखि नै फरार थिए । हाल पक्राउ परेका गर्बुजा घटना हुँदा जम्मा १८ वर्षका थिए ।
जिल्ला अदालत म्याग्दीले २० जनाविरुद्ध नै २०६३ चैत ३० गते जन्मकैदको फैसला सुनायो । त्यसमध्ये तीन जना (हाल पक्राउ परेका गर्बुजासहित) २०६८ जेठ ११ गते पुनरावेदन अदालत पुगे । पुनरावेदनले २०६८ मंसिर २६ गते जिल्लाकै फैसला सदर गरिदियो । त्यसपछि उनीहरू सर्वोच्च अदालत पुगे । सर्वोच्चले पनि २०७२ असार ११ गते जिल्ला र पुनरावेदनकै आदेश सदर गरिदियो ।
फरारमध्येका गर्बुजा माथिका दुईवटै अदालतको आदेशपछि निरास हुँदै केही समय भारतमा लुकेर बसे । भारतमा दुई वर्ष काम गरेपछि नेपाल फर्किएका उनलाई प्रहरीले खोजिरहेकै थियो ।
गृहजिल्ला म्याग्दी नगइ उनी पोखरामा बस्न थाले । पोखरामै बसिरहेका उनले वैदेशिक रोजगारीका लागि कतार जाने योजना बनाए । उनले राहदानी पनि बनाए । तर, पुलिस रिपोर्ट लिन खोज्दा उनको पोल खुल्यो । क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा म्याग्दीमा भएको तिलिजा हत्याकाण्डमा गर्बुजाको संलग्नता रहेको उल्लेख थियो । उनी फरार सूचीमा थिए । गर्बुजा विदेश जान लागेको सूचना म्याग्दी प्रहरीलाई पुग्यो । म्याग्दी प्रहरीले उनलाई नियन्त्रणमा लियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाका अनुसार गर्बुजाले सोधपुछका क्रममा हत्याकाण्डपछि ७ वर्ष विदेश बसेर आएको खुलाएका छन् । पुलिस रिपोर्ट लिने क्रममा गर्बुजाको विगतको अभिलेख कर्तव्य ज्यान मुद्दामा देखिएपछि उनलाई नियन्त्रणमा लिन सजिलो भएको डीएसपी थापाले जानकारी दिए ।
शुरूमा जेल परेका १७ मध्ये अधिकांश भागे
२०६० चैत ७ गते राती माओवादीले म्याग्दीको सदरमुकाम बेनीमा आक्रमण गर्यो । सरकारी कार्यालय प्रहरी, कारागार र अन्य कार्यालयमा बम प्रहार गरेर ध्वस्त पारिदिएपछि जेलमा रहेका अधिकांश कैदीबन्दी भागे । भाग्नेमध्ये तिलिजा हत्याकाण्डका अभियुक्तहरू पनि थिए । भागेकामध्ये केहीलाई प्रहरीले पुन: पक्राउ गर्यो । उनीहरू अहिले पनि कारागारमै छन् । तर, केही भने अहिले विदेश लुकेर बसेका प्रहरी बताउँछ ।
डीएसपी थापाका अनुसार तत्कालीन समयमा कारागारमा माओवादीले आक्रमण गरेकै कारण धेरै कैदीबन्दी फरार भएका थिए ।
‘जेलबाट फरार भएका कैदीबन्दीमध्ये केहीलाई प्रहरीले अझै पनि पक्राउ गर्दै आएको छ, तिलिजा हत्यामा संलग्नमध्येका पनि केहीलाई पक्राउ गरिसक्यौं,’ डीएपी थापाले लोकान्तरसँग भने, ‘सूचना अनुसार तिलिजा हत्यामा संलग्न भएर फरार भएका अधिकांश अहिले विदेशमा लुकेर बसेका छन् ।’