२८ जेठ २०८३, बिहीबार

भारतीय एम्बुलेन्समा लागुऔषध तस्करी गर्ने गिरोह– कारोबारीको खातामा करोडौं रुपैयाँ

असार २०, २०८२
काठमाडौं
भारतीय एम्बुलेन्समा लागुऔषध तस्करी गर्ने गिरोह– कारोबारीको खातामा करोडौं रुपैयाँ

ललितपुर प्रहरीले एम्बुलेन्सबाट बरामद लागुऔषधको अनुसन्धान गर्दै जाँदा नयाँ तथ्य उजागर भएको छ ।

भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट बरामद लागुऔषध ट्रमाडोल ट्याब्लेट र पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दा काठमाडौं उपत्यकामा लामो समयदेखि संगठित रूपमा हुँदै आएको लागुऔषध कारोबारको ‘चेन’ भत्काउन सफल भएको हो ।

भारतीय र नेपालीको संगठित गिरोहले वीरगञ्जको रक्सौल नाकाबाट भारतीय नम्बर प्लेटको बीआर ०५ प ०४२१ एम्बुलेन्समा लागुऔषध राखी लामो समयदेखि काठमाडौं उपत्यकामा तस्करी गर्दै आएको तथ्य खुलेको हो । कारोबारीका बैंक खाता हेर्दा करोडौं रुपैयाँ ट्रान्जेक्सन भएको देखिन्छ ।

घटना तीन महिनाअघिको भएपनि जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले यही असार १८ गते मात्रै अदालतमा मुद्दा दर्ता गरेको छ ।

प्रतिवादीहरूविरुद्ध लागुऔषध ओसारपसार तथा बिक्रीवितरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरिएको छ । लागुऔषध मुद्दामा प्रहरीले आरोपीलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

प्रहरी चौकी भट्टेडाँडाबाट गत चैत २३ गते पक्राउ परेका भारतीय नागरिकहरू क्रमश: मोहम्मद मुन्ना अन्सारी, मोहम्मद उमर सिद्दिकी र १६ वर्षीय एक किशोरमाथि अनुसन्धान गर्दा काठमाडौंमा बसेर लागु औषध मगाउने र बिक्री वितरण गर्ने गिरोहको पर्दाफास भएको हो । प्रहरीले अनुसन्धान गर्दा लागुऔषध बिक्री वितरण गर्नेमध्येका एकजना नुवाकोटका राजु मिजार र मगाउनेमध्येका ललितपुर पाटनका रमेश देउलाको संलग्नता खुल्यो ।

मिजार यसअघि नै अर्को लागु औषध मुद्दामा कालिमाटी वृत्तको हिरासतमा थिए । देउला अझै फरार छन् ।

मिजारले प्रहरी र सरकारी वकिल कार्यालयमा बयान दिएअनुसार अन्सारी र सिद्दिकीले लामो समयदेखि वीरगञ्जबाट भारतीय नम्बर प्लेटको एम्बुलेन्समा लागुऔषध लुकाएर ल्याउँथे । उक्त लागुऔषध देउलाले बुझ्थे । देउला र मिजार मिलेर काठमाडौं उपत्यकामा लागुऔषध बिक्रीवितरण गर्थे ।

null

प्रहरीले अनुसन्धान गर्दै जाँदा यो गिरोहमा पर्सा वीरगञ्जका प्रभात दाइ भन्ने प्रभात साह कानु र रमाकान्त साह गोढले एक्बुलेन्स चालक र साहुलाई पैसाको प्रलोभन देखाएर काठमाडौं उपत्यकामा लागुऔषध पठाउने गरेको तथ्य खुलेको छ । कानु र गोढ पनि अहिले फरार छन् ।

एम्बुलेन्सका धनी अन्सारीलाई साह र गोढले लागुऔषध काठमाडौं पुर्‍याइदिएबापत ५० हजार दिने र चालक सिद्दिकीलाई १५ हजार रुपैयाँ दिने प्रलोभन दिएको अनुसन्धानबाट खुलेको छ । अन्सारी र सिद्दिकीले बयानमा उक्त कुरा खुलाएका छन् ।

फरार रहेका साहको सम्पत्ति विवरण हेर्दा प्रहरी नै चकित परेका छन् । वीरगञ्जका ५ ठाउँमा महंगो मूल्य पर्ने ६७८.९७ वर्गमिटर जग्गा, एनएमबी बैंकमा ६१ लाख ७४ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकमा ६६ लाख ५० हजार ३४५ रुपैयाँ जम्मा भएको देखिन्छ ।

फरार मध्येका गोढको खातामा मिजार र उनकी श्रीमती मिना मगरले २० पटक गरेर विभिन्न मितिमा २ करोड ७६ लाख ६८ हजार ३१४ रुपैयाँ जम्मा गरेको प्रहरी अनुसन्धानबाट देखिन्छ ।

पक्राउ परेका मध्येका एम्बुलेन्स चालक सिद्दिकीले बयान दिएअनुसार उनी ९ वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका थिए । त्यतिबेलै उनको अन्सारीसँग चिनजान भएको थियो । अन्सारीले मासिक १० हजार दिने र ट्रिपमा आउने रकमको १० प्रतिशत रकम दिने प्रलोभनमा उनलाई एम्बुलेन्सको चालक बनाएका थिए । प्रहरीले बरामद गरेको लागुऔषध अन्सारीकै योजनामा एम्बुलेन्समा राखिएको र उनी आफैं एम्बुलेन्स चढेर ललितपुरसम्म आएको बयान सिद्दिकीले प्रहरीमा दिएका छन् ।

अन्सारीले प्रभात साह कानु (हाल फरार) सँग फोनमा कुरा गरेर बिरामी बोक्ने एम्बुलेन्समा लागुऔषध राख्न लगाएको बयान सिद्दिकीको छ । भट्टेडाँडामा प्रहरीले एम्बुलेन्स राकेर झोला खोल्न लगाउँदा अन्सारीले मानेका थिएनन् । सिद्दिकी भने भागेका थिए । रातको समयमा २/३ किलोमिटर दौडिएका सिद्दिकीलाई प्रहरीले राति ११ बजे पक्राउ गरेको थियो ।

अचम्मको कुरा त ५० हजार पाउने प्रलोभनमा अन्सारीले वीरगञ्जको एक अस्पतालमा उपचार गराइरहेकी सासु नाता पर्ने एक महिलालाई काठमाडौंमै राम्रो उपचार हुन्छ भन्दै लागुऔषध बोकेको एम्बुलेन्समा चढाएर काठमाडौं ल्याउँदै थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार यो गिरोहको मुख्य सञ्जालसम्म पुग्न प्रहरीले धेरै मेहनत गर्नुपरेको थियो ।

‘शुरूमा तीनजना पक्राउ गर्‍यौं, लेयर खोज्दै जाँदा अरूको पनि संलग्नता खुल्यो,’ जोशीले लोकान्तरसँग भने, ‘लागुऔषधकै कारोबार गरेर घर, जग्गादेखि बैंकमा समेत करोडौं रुपैयाँ जम्मा गरेको भेटियो ।’

मुख्य आरोपी राजु मिजारले परिवार पाल्न गाह्रो भएपछि छिट्टै पैसा कमाउने लोभमा लागुऔषध तस्करीमा लागेको बयान दिएका छन् ।

लागुऔषध ट्रामाडोल भारतबाट पर्साहुँदै प्रतिपत्ता ७५ रुपैयाँमा काठमाडौं ल्याएर होलसेलमा १०० र खुद्रामा १५०मा बेच्दै आएको उनको बयान छ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्