
नेपाली समाजमा पुरुषहरूले आफ्ना पीडा प्राय: बाहिर ल्याउँदैनन् । उनीहरू आफू पीडामा भए पनि प्रायले त्यसलाई आफैं भित्रै सीमित गर्छन् । भित्रभित्रै गुम्स्याएर राख्छन् । समाजमा एउटा उक्ति छ- केटा मान्छे भएर रुनु हुँदैन । यी र यस्तै विषयलाई समेटेर एउटा गीत सार्वजनिक भएको छ- 'मौनतामा पुरुष पनि कति रोएका होलान्' ।
अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक गरिएको उक्त गीतमा गीतकार नारायण खतिवडाको शब्द, शीलाबहादुर मोक्तानको संगीत र प्रवीण भेडवालको स्वर रहेको छ ।
पछिल्लो समय नेपालमा धेरै पुरुषहरू पनि पीडित छन् । उनीहरूको गुनासो सुन्ने छुट्टै निकाय छैन । प्रहरी तथा अन्य निकायमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हेर्ने छुट्टै सेल छन् । तर पुरुषका लागि छुट्टै सेल/निकाय नहुँदा उनीहरूले आफ्ना पीडा आफैंमा सीमित गराउने गरेका विभिन्न तथ्यहरूले देखाएका छन् । 'मौनतामा पुरुष पनि कति रोएका होलान्' गीतमा पुरुषभित्र रहेका पीडालाई दर्साइएको छ ।
गीतमा आजभोलि कतिपय व्यक्तिहरू कानूनको दुरूपयोग गरी स्वार्थ पूरा गर्नेतर्फ अगाडि बढ्दै गएको परिप्रेक्षलाई समेटिएको छ ।
खतिवडाका यसभन्दा अगाडि पनि थुप्रै गीत र पुस्तकसमेत सार्वजनिक भएका छन् ।