
कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको हो ।
आज दिउँसो १ः३० बजेको समयमा पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नीत्रिवेणी–६ धाँमीगाँउका ४६ वर्षीया मन्दिर साउद र ७६ वर्षीया लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घट्टमा बसिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिएका दुई जनालाई उद्धार गरिएका दुवैको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए । 'घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न मसहितको टोली त्यसतर्फ जाँदैछौँ,' उनले भने, 'घटनास्थल पुगेपछि विस्तृत जानकारी प्राप्त हुनेछ ।'
घटना भएको स्थान प्रहरी चौकी मेहलमुडीबाट १० किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि लागि रास्कोट नगरपालिकास्थित गौतुकोट अस्पतालका चिकित्सकको टोली घटनास्थलतर्फ आउँदै गरेका सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए ।