
डिशहोमले 'माइ डिशहोम एप'मार्फत चाँडै ग्राहक भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गर्ने भएको छ ।
नेपालको इन्टरनेट र टीभी क्षेत्रका ग्राहकको अनुभवलाई नयाँ आयाम दिने उद्देश्यका साथ भर्चुअल प्रिभिलेज कार्ड नामक विशेष सेवा उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ ।
यो सुविधा नेपालकै इन्टरनेट र टीभी क्षेत्रमा पहिलोपटक ल्याउन लागिएको हो, जसले कनेक्टिभिटी मात्र नभई ग्राहकको दैनिक जीवनशैलीमा थप लाभ प्रदान गर्ने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार यो कार्ड पूरै भर्चुअल कार्ड हो, जुन एक्टिभ सदस्यता भएका ग्राहकहरूको माइ डिशहोम एपमा स्वचालित रूपमा देखिनेछ । यस कार्डमार्फत ग्राहकहरूले २५५ सम्म छुट पाउन सक्नेछन्, जुन विभिन्न साझेदार सेवाहरूमा लागू हुनेछ ।
होटल, क्याफे, रेस्टुरेन्ट, अस्पताल, शैक्षिक संस्था, स्किनकेयर तथा वेलनेस सेन्टर, फिटनेस क्लब, मोबाईल एक्सेसोरिज, इलेक्ट्रोनिक्स आउटलेट, होम अप्लायन्सेस, सपिङ मल, अटोमोबाइल शोरूम लगायतका विविध क्षेत्रमा डिशहोमले सहकार्य गर्दैछ, जसले ग्राहकहरूलाई दैनिक जीवनमा थप सुविधाजनक बनाउनुको साथै आर्थिक छुट पनि प्रदान गर्नेछ ।
'डिशहोमले उत्कृष्ट डिजिटल मनोरञ्जन र इन्टरनेट सेवामात्र होइन, ग्राहकको दैनिक जीवनशैलीमा पनि अर्थपूर्ण योगदान दिन चाहन्छ,' डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भने, 'यो भर्चुअल प्रिभिलेज कार्डमार्फत हामी आफ्ना ग्राहकहरूलाई थप लाभ दिने डिजिटल जीवनशैली ईकोसिस्टम तयार गर्दैछौं ।'
यो कार्ड केवल ग्राहकको सदस्यता सक्रिय अवस्थामा मात्र एपमा देखिनेछ, जसले यसलाई सुरक्षित र विशेष बनाउँछ। सेवा शुरू भएपछि ग्राहकहरूले 'माइ डिशहोम एप'बाट डिजिटल कार्ड देखाएर सहभागी आउटलेटहरूमा छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
डिशहोमले नवीनताको नेतृत्व गर्दै आइरहेको छ । यो नयाँ पहलले नेपालको डिजिटल जीवनशैली परिवर्तन को यात्रामा कम्पनीको अग्रणी भूमिकालाई थप सुदृढ बनाउने कम्पनीको विश्वास छ ।