२९ जेठ २०८३, शुक्रबार
अमेरिकाबाट फर्काइएकाहरू

एक वर्षयता २०० नेपाली अमेरिकाबाट डिपोर्ट, प्रहरीले सोधपुछ गर्दा उल्टै दलालको प्रतिरक्षा

असार २५, २०८२
काठमाडौं
एक वर्षयता २०० नेपाली अमेरिकाबाट डिपोर्ट, प्रहरीले सोधपुछ गर्दा उल्टै दलालको प्रतिरक्षा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवास नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बसेको भन्दै डिपोर्ट हुने नेपालीको संख्या दुई सय पुगेको छ ।

मंगलबार मात्रै पनि दुई जनालाई अमेरिकाले नेपाल डिपोर्ट गरेको थियो ।

नेपाल डिपोर्ट गरिएकाहरू शुरूमा अध्यागमन कार्यालयमा पुग्छन् । उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले ‘केही सोधपुछ गर्नुछ’ भनेर बोलाउँछ ।

ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण पंगेनीका अनुसार डिपोर्ट गरिएका दुई सयमध्ये १८१ जना पुरुष र १९ जना महिला छन् ।

अमेरिकाले डिपोर्ट गरेका नेपालीहरूको पहिचान गोप्य राखिए पनि उनीहरू ४७ जिल्लाका छन् ।

आप्रवासन नीति लागू हुनुपूर्व पनि अवैध रूपमा बस्दै आएको सूचना पाएपछि अमेरिकाले नेपालीहरूलाई डिपोर्ट गर्दै आएको थियो । आर्थिक वर्ष २०७५/०७६ देखि यो आर्थिक वर्षको असार २४ गतेसम्म कूल ३९९ जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

लाखौं रुपैयाँ खर्च गरेर फर्केकाहरू आफूखुशी गएको भन्दै उजुरी दिन मान्दैनन् ।

ब्यूरोका अनुसार फर्किएकाहरूले आफ्नो पैसा फिर्ता हुने आश अझै रहेको भन्दै प्रहरीमा उजुरी दिन नमानेका हुन् ।

कतिले त ‘दलालले अमेरिका टेकाएकै हो, अमेरिकी नीति अनुसार आफूहरूलाई फिर्ता पठाएकाले किन दलालविरुद्ध उजुरी दिने’ भन्दै प्रहरीसँग प्रश्न गर्दै आएका छन् ।

अमेरिकाबाट डिपोर्टमा परेकाहरूले प्रहरीसँग अवैध बाटोबाट अमेरिका छिर्न ५० लाखदेखि १ करोड ४० लाख रुपैयाँसम्म खर्च भएको बताएका छन् । तर, उनीहरू कसैका विरुद्ध पनि उजुरी दिन तयार छैनन् ।

‘हामीले अमेरिकाबाट फर्किएकाहरूलाई दलालविरुद्ध उजुरी दिनुस्, कानूनी पाटोमा सहयोग गर्छौं भन्दा पनि उहाँहरू उजुरी दिन तयार देखिनुभएन,’ ब्यूरोका प्रमुख एसएसपी पंगेनीले लोकान्तरसँग भने, ‘फर्किएकाहरू ब्यूरोबाट हिँडेपछि सकभर सम्पर्कमा समेत आउन नपरेहुन्थ्यो जस्तो गर्छन् ।’

आर्थिक वर्ष र जिल्लागत विवरण

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि डिपोर्ट हुनेको संख्या ह्वात्तै बढे पनि त्यसअघि देखिनै नेपालीहरू डिपोर्ट हुने गरेका थिए । आर्थिक वर्ष २०७५/०७६ मा ४५ जना नेपालीलाई डिपोर्ट गरिएको थियो भने २०७६/०७७ मा यो संख्या बढेर ८३ पुगेको थियो । त्यसपछि २०७७/०७८ मा ३० जना, २०७८/०७९ मा १३ जना र २०७९/०८० मा ७ जना मात्र डिपोर्ट भएका थिए । आव २०८०/०८१ मा २१ जना डिपोर्ट हुँदा चालु आवमा २०८१/०८२ मा २०० नेपाली डिपोर्ट भएका छन् ।

डिपोर्ट गरिएका नेपालीहरू जिल्लाका छन् । सबैभन्दा धेरै डिपोर्ट हुनेहरू दाङ जिल्लाबाट छन्, जसको संख्या १०७ छ । त्यसपछि पूर्वी रुकुमबाट ६९ जना, पश्चिम रुकुमबाट ३६ जना, पर्वतबाट २१ जना, सिन्धुपाल्चोकबाट १६ जना, म्याग्दी र बाग्लुङबाट १५ र १६ जना, काठमाडौंबाट १४ जना र रोल्पाबाट गएका १२ जना नेपाली डिपोर्ट गरिएका छन् । सल्यानबाट १०, दोलखाबाट ९, बाँकेबाट ८, कास्कीबाट ७, चितवनबाट ४, झापा, ताप्लेजुङ, मकवानपुर, रुपन्देही र जाजरकोटबाट समान ३/३ जना अमेरिका पुगेकोमा डिपोर्ट भएका छन् ।

यस्तै, संखुवासभा, गोरखा, लमजुङ, मोरङ, सुनसरी, सोलुखुम्बु, कैलाली र कञ्चनपुरबाट समान २/२ जना तथा रामेछाप, बर्दिया, भोजपुर, धनुषा, रौतहट, सिराहा, काभ्रेपलाञ्चोक, नवलपरासी, पाल्पा, सुर्खेत, स्याङ्जा, कपिलवस्तु, प्यूठान, डोटी, पर्सा, जुम्ला, डोल्पा, सिन्धुली र धनकुटाबाट पुगेका समान १/१ जना डिपोर्ट गरिएका थिए ।

तीन जनाको जिल्लागत विवरण खुलाइएको छैन ।


कहिले कति डिपोर्ट

आव        –  संख्या

२०७५/०७६    –  ४५

२०७६/०७७    –  ८३

२०७७/०७८    –  ३०

२०७८/०७९    –  १३

२०७९/०८०    –  ७

२०८०/०८१    –  २१

२०८१/०८२    –  २००

कुन जिल्लाका कति ?

दाङ – १०७

पूर्वी रुकुम – ६९

पश्चिम रुकुम – ३६

पर्वत – २१

सिन्धुपाल्चोक – १६

म्याग्दी – १५

बाग्लुङ – १६

काठमाडौं – १४

रोल्पा – १२

सल्यान – १०

दोलखा – ९

बाँके –८

कास्की– ७

चितवन –४

झापा – ३

ताप्लेजुङ – ३

मकवानपपुर – ३

रुपन्देही – ३

जाजरकोट – ३

संखुवासभा – २

गोरखा – २

लमजुङ – ३

मोरङ – २

सुनसरी – २

सोलुखुम्बु – २

कैलाली – २

कञ्चनपुर – २

रामेछाप – १

बर्दिया – १

भोजपुर – १

धनुषा – १

रौतहट – १

सिराहा – १

काभ्रेपलाञ्चोक – १

नवलपरासी – १

पाल्पा – १

सुर्खेत – १

स्याङ्जा – १

कपिलवस्तु – १

प्यूठान – २

डोटी – १

पर्सा – १

जुम्ला – १

डोल्पा – १

सिन्धुली – १

धनकुटा – १

जिल्ला नखुलेको – ३

salt training

कमेन्ट गर्नुहोस्