०९ साउन २०८३, शनिबार
६० प्रतिशत सवारी आयात हुने नाका बन्द

रसुवामा विनाशकारी बाढी: टिमुरे भन्सार तहसनहस, चाडपर्वमा उपभोक्तालाई महँगीको मार पर्ने संकेत

रसुवाबाट भित्रिनुपर्ने सामान तातोपानी नाकामा ल्याउँदा लागत निकै बढ्ने
असार २६, २०८२
काठमाडौं
रसुवामा विनाशकारी बाढी: टिमुरे भन्सार तहसनहस, चाडपर्वमा उपभोक्तालाई महँगीको मार पर्ने संकेत

तीब्बत क्षेत्रबाट आएको बाढी रसुवामा जनधनको ठूलो क्षति गरेको छ । मंगलबार बिहान आएको बाढीले मानवीय क्षति गर्नुका साथै अर्बौंका संरचना पनि ध्वस्त पारेको हो । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि टिमुरे भन्सार पनि अनिश्चित कालका लागि बन्द भएको छ । बाढीले नेपाल–चीन व्यापारमा ठूलो असर पारेको छ ।

बढीले २ अर्ब ८० करोड लागतमा निर्माण भइरहेको सुख्खा बन्दरगाह ध्वस्त भएको छ । रसुवाको टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा बढीले ६० प्रतिशत क्षति पुर्‍याएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । 

बन्दरगाहको ४०० मिटर रिटेलिङ वाल पूर्ण रूपमा बगाएको छ । त्यस्तै, बेचिङ प्लान्ट, लिटिगेसन सेड, वेयरहाउस, इन्सपेक्सन सेड, ट्वाइलेट ब्लक, वेयर हाउस फाउन्डेसन पूर्ण रूपमा बाढीले बगाइदिएको उनको भनाइ छ । यसका साथै बन्दरगाहको सम्पूर्ण पार्किङ क्षेत्रमा क्षति भएको छ ।

कूल २ अर्ब ८० करोड लागतमा निर्माण भइरहेको बन्दरगाहको मेन कम्प्लेक्स र एक्जिट रोडबाहेक ६० प्रतिशत क्षति भएको छ । 

उत्तरी चीन सीमाबाट २.५ किलोमिटर दुरीमा निर्माण भइरहेको सुख्खा बन्दरगाहमा २ अर्ब २४ करोड बजेट खर्च भइसकेको थियो । ५० हजार ९०० वर्ग मिटर क्षेत्रफलको बन्दरगाहमा ६० प्रतिशत क्षति भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

रसुवाको टिमुरे नाकासँग सम्पर्क टुटेपछि विकल्पको रूपमा सिन्धुपाल्चोकको तातोपानी नाकालाई प्रयोग गर्न सकिने व्यवसायीहरूको भनाइ छ । तर, तातोपानी नाकामा रसुवाबाट भित्रिनुपर्ने सामान ल्याउनु पर्दा लागत निकै बढ्ने व्यवसायीहरू बताउँछन् ।

बाढीले पुर्‍याएको क्षतिले उपभोक्ता महँगीको मारमा पर्ने हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । बाढीले बनाएको पुल तत्काल बनाउन नसकिने भएकोले विकल्पको रूपमा तातोपानी नाकाबाट सामान ल्याउँदा लागत बढ्ने उनको भनाइ छ । 

‘केरुङमा भएको सामान तातोपानी हुँदै ल्याउनुपर्ने बाध्यता आएको छ । रसुवा भन्सारमा आएको सामान तातोपानी हुँदै ल्याउनु पर्दा लागत बढ्छ र उपभोक्ता महँगीमा पर्छन्’, उनले भने, ‘तातोपानीको बाटो कतिपय ठाउँमा भासिएको छ । झन् रसुवाको माल वस्तु पनि तातोपानीमा सिफ्ट भएपछि चप बढ्छ ।’ 

कतिपय भन्सार जाँच पास हुन बाँकी रहेका र जाँच पास भइसकेका सवारी साधनहरू पनि नेपाल छिर्न सक्ने अवस्थामा छैन । चाडपर्व नजिकिँदै गर्दा व्यवसाय र उपभोक्तामा ठुलो प्रभाव पर्ने आकलन गरिएको छ । नेपालमा ६० प्रतिशत सवारी साधनहरू रसुवाको उत्तरी नाकाबाटै भित्रिने गरेका छन् । 

बाढीले अर्बौंको मालसामान क्षति गरेको नेपाल उद्योग वाणिज्य महासङ्घ व्यापार समितिका सभापति सुबोधकुमार गुप्ताले बताए ।

नाकासँग सम्पर्क टुट्दा सवारी साधनको आयातमा ठुलो धक्का लागेको बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इङ्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन । विकल्पको रूपमा तातोपानी नाका रहेकोले आशा अझै बाँकी रहेको उनको भनाइ छ । 

‘रसुवामा चीनसँग हाम्रो सम्पर्क टुटेको छ । तातोपानी विकल्पको रूपमा रहेको छ । तर, त्यहाँबाट पनि आयात गर्न सहज बाटो देखिँदैन’, उनले भनिन् ।

देशकै ठुला अटो–शोमा कस्तो प्रभाव पर्छ ? 

आगामी भदौमा देशकै सबैभन्दा ठूलो सवारी साधनहरूको प्रदर्शनी ‘नाडा अटो शो’ गर्ने तयारी छ । भदौ पहिलो साता नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सवारी साधन प्रदर्शनी गर्ने तयारी गरेको हो । यता साउन २१ गतेदेखि २५ गतेसम्म नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आफ्नो पहिलो अटो–शो गर्ने तयारी गरेको छ । 

दुई ठुला सवारी साधनको प्रर्दशन हुनअघि सवारी साधन आयातको सबैभन्दा ठुलो नाकासँग सम्पर्क टुटेको छ । अर्थात् रसुवामा गएको बाढीले ६० प्रतिशत सवारी आयात हुने नाका बन्द गरिदिएको छ । 

यसले सवारी साधनहरूको आयातमा प्रभाव पारेसँगै यी दुवै आटो–शोमा पनि प्रभाव पार्ने आकलन गरिएको छ । 

रसुवामा आएको बाढीले उत्पन्न गरेको भयावह परिस्थितिले प्रमुख व्यापारिक नाकाबाट हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्‍याएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बताएको छ । तर, भदौमा हुने देशकै ठुलो अटो–शोमा भने कुनै प्रभाव नपर्ने नाडाका अध्यक्ष करण चौधरीले बताए । आटो–शोको तयारीमा अटो व्यवसायीहरू लागिरहेको उनको भनाइ छ । 

रसुवामा आएको विनाशकारी बाढीले व्यवसायका साथै आशा पनि एकैचोटी बगाएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले बताएको छ । बाढीले देशको आर्थिक प्रणालीमा गम्भीर असर पुर्‍याएको नाइमाको भनाइ छ ।

आयातमा रसुवा नाकाको हिस्सा 

चालू आर्थिक वर्षको ११ महिनामै रसुवा भन्सारबाट ८० अर्ब ९१ करोड ४८ लाख २३ हजार रुपैयाँ बराबरको माल वस्तु आयात भएको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा रसुवा नाकाबाट ६० अर्ब ९१ करोड २ लाख ६० हजारको माल वस्तु आयात गरिएको थियो ।

नेपालको कुल आयातमा यस भन्सार नाकाको हिस्सा ३.८२ प्रतिशत रहेको छ । चीनतर्फको अर्को नाका हो तातोपानी । देशको कुल आयातमा तातोपानी नाकाको हिस्सा २.५३ प्रतिशत छ ।

salt training

कमेन्ट गर्नुहोस्