३० जेठ २०८३, शनिबार
लोभले लाभ, लाभले विलाप

५/६ लाखमै ४५ हजार डलर साट्ने लोभ : छिटै धनी हुन खोज्दा गिरोहको फन्दामा सोझा सर्वसाधारण

कागजको बिटो थमाएर गिरोह फरार, मासु पसलेदेखि शिक्षक र पठाओ चालकसम्म ठगिए
असार ३१, २०८२
काठमाडौं
५/६ लाखमै ४५ हजार डलर साट्ने लोभ : छिटै धनी हुन खोज्दा गिरोहको फन्दामा सोझा सर्वसाधारण
तस्वीर : ठगीमा संलग्नहरू र उनीहरूबाट बरामद गरिएका पैसा र सामग्री ।

टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोमबार अपराह्न रमेश मगर (नाम परिवर्तन) ‘डलर साट्नेले ६ लाख रुपैयाँ लिएर भाग्यो’ भन्दै उजुरी लिएर पुगे ।

प्रहरीका अनुसार विराटनगर घर भएका मगर काठमाडौंमा पठाओ चलाउँदै आएका थिए । उनलाई पठाओमै चढेका एक जना यात्रुले आफूसँग ४० हजार अमेरिकी डलर रहेको र सस्तोमा साट्न खोजेको सुनाएका थिए ।

५/६ लाख रुपैयाँमा ४० हजार डलर साट्न पाइने कुरा सुनेपछि मगर र ती यात्रु (डलर साट्ने गिरोहका एक जना जो अहिले फरार छन्)बीच कुराकानी हुन थाल्यो । एक महिनासम्म मगरले पठाओबाट कमाएको पैसा थुपार्दै गए । 

आफ्नी बहिनीको गहनासमेत बन्दकी राखेर उनले ६ लाख रुपैयाँ जोहो गरे । डलर साट्ने गिरोहलाई फोन गरे । गिरोहले ललितपुरस्थित वागमती गाउँपालिकाको भट्टेडाँडामा बोलाए । झोलामा ६ लाख बोकेर भट्टेडाँडा पुगेका मगरलाई गिरोहले ‘तपाईं एक्लै हो कि अरू पनि छन् ?’ भन्दै सोधे । मगरले आफू एक्लै बाइकमै रहेको बताए । 

गिरोहले एकान्त र सीसीटीभीसमेत नभएको ठाउँमा बोलाइएका मगरलाई देख्नेवित्तिकै बाहिर २० डलर राखिएको गड्डी हातमा थमाएर उनीसँग रहेको ६ लाख रुपैयाँ लिएर हिँडे । ‘यो डलर हो यहाँ नखोल्नु, प्रहरीले देख्यो भने सबै जफत गर्छ, कोठामै गएर खोल्नु’ भन्दै मगरलाई रुमालको पोको दिएर गिरोह भाग्यो । मगरले अलि तल आएर खुल्दुली मेट्न पोको खोल्दा गड्डीमा शुरू र अन्तिममा २० डलर थियो । बाँकी भने डलरकै आकारमा काटेर मिलाइएका पेपर थिए । त्यसपछि भने मगर छाँगाबाट खसेजस्तै भए ।

एकातिर पठाओ चलाएर मेहनत गरेको पैसा पनि गुम्यो । दुई दिनमै पैसा फिर्ता गर्छु भनेर बन्दकी राखेको गहना कसरी दिने भन्ने चिन्ता मगरको छ । ‘मलाई एक महिनादेखि डलर साट्ने गिरोहले पछ्याइरहेका रहेछन्, मैले ठम्याउन सकिनँ,’ मगरले भने, ‘डलर भनेर मलाई कागजको बिटो थमाएर भागे ।’

मासु बेचेर कमाएको पैसा पनि गुम्यो
प्रहरीका अनुसार ललितपुर इमाडोलका राकेश थोकर (नाम परिवर्तन) केही महिनादेखि ‘सस्तो मासु पसल’ सञ्चालन गर्दै आएका थिए । उनले मासु पसलको होर्डिङ बोर्डमा आफ्नो मोबाइल नम्बर पनि राखेका थिए । उनलाई नचिनेको नम्बरबाट फोन आयो । फोनमा ‘पाँच किलो खसीको मासु राखिदिनुस्, हामी लिन आउँछौं’ भनिएको थियो । थोकरले खुसी हुँदै मासुको जोहो गरेर राखिदिए । 

त्यही गिरोहले त्यसैगरी पटक–पटक थोकरको पसलबाट मासु किनेर लिँदै आएका थिए । दुई साताअघि मात्रै थोकरलाई डलर साट्ने गिरोह मध्येका एक जनाले आफूले एक जना बुढो मान्छे चिनेको र ऊसँग अमेरिकन डलर रहेको बताए । गिरोहले कथा बुन्दै थोकरलाई भनेका थिए, ‘एउटा बुढा पहिला टुरिष्ट गाइडमा जागिर खाएका रहेछन्, गाइड गरिरहेका बेला अमेरिकन मरेको र उसको झोलामा ४५ हजार अमेरिकन डलर देखेपछि लिएर भागेका रहेछन्, ७ लाख रुपैयाँ भयो भने उनले ४५ हजार डलर दिन्छन् ।’

नेपाली ७ लाख मै ४५ हजार डलर साट्न मिल्ने भएपछि थोकरको खुसीको सीमा नै रहेन । उनी खुसी हुँदै सस्तोमा डलर साट्न पाइने भयो भन्दै पैसाको जोहो गर्न थाले ।

असार २२ गते थोकरलाई गिरोहले भक्तपुरको चाँगुनारायणको जंगलमा बोलाए । काठमाडौंमा डलर साट्दा प्रहरीले समात्ने डर भएको भन्दै थोकरलाई उतै बोलाएका थिए । थोकरलाई इमाडोलदेखि नै गिरोहले फलो गर्दै चाँगु पुगेका थिए । थोकरबाट पैसा लिनेवित्तिकै माथि उल्लेखित मगरलाई जस्तै गिरोहले रुमालको पोको दिँदै ‘यहाँ नखोल्नु प्रहरीले समात्छ, डेरामा पुगेर खोल्नु’ भन्दै उनीहरू बाइकमा हुँइकिए ।

थोकरलाई शंका लाग्यो । उनले रुमाल खोलेर हेर्दा २०/२० का डलरको ७२ वटा नोट कागजको गड्डीमा राखिएको थियो । उक्त डलर साट्दा जम्मा १० हजार नेपाली रुपैयाँ मात्रै थोकरले पाए । ‘सात लाख रुपैयाँमा ४५ हजार डलर साट्न पाइने भएपछि मेरो मनमा लोभ पलायो, लोभ गर्दा फसेँ,’ थोकरले प्रहरीमा भने, ‘गिरोहले मलाई विश्वासमा पारे ।’

डलर साट्न पोखरादेखि प्लेन चढेर काठमाडौं

पोखरामा म:म पसल सञ्चालन गर्दै आएका एक व्यक्तिले फेसबुकमै आफ्नो पसलको विज्ञापन गरेका रहेछन् । प्रहरीका अनुसार गिरोहले उनलाई पनि फोन गरे । ‘हामी पोखरा आउँदा तपाईंको पसलमा म:म खाएका थियौं, धेरै मीठो रहेछ,’ भन्दै गफबाट शुरू गरेको गिरोह दैनिक ती पसलेसँग सम्पर्कमा रह्यो ।

एक दिन उनीहरूले पोखरा पर्यटकीय स्थल रहेको र डलर आवश्यक पर्ने भए सस्तोमा साटिदिने भन्दै उक्त गिरोहले म:म पसलेलाई भने । ४५ हजार डलर तीन लाखमै साटिदिने भनेपछि ती पसले खुसी हुँदै आफू पैसाको जोहो गरेर काठमाडौं आउने बताए । उनी प्लेन चढेर काठमाडौं आए । यो घटना एक महिना अघिको हो । काठमाडौं उत्रिएपछि उनले ‘आफूले पैसा लिएर आएको कहाँ आउँ?’ भन्दै गिरोहकै एक सदस्यलाई सोधे ।

गिरोहले चागुँनारायणको जंगलमा बोलाए ।  पैसा लिएर म:म पसले चागुँमा पुगेपछि बाहिर २० डलरको नोट र भित्र कागजको गड्डी राखेको रुमालको पोको दिएर गिरोह भाग्यो ।

जिल्ला प्रहरी परिसर भक्तपुरमा उजुरी दिन पुगेका ती म:म पसलेले ‘आफूलाई विश्वासमा पारेर पैसा ठगेर भागे’ भन्दै प्रहरीमा उजुरी दिएका छन् ।  

मावि शिक्षक ओखलढुंगादेखि आएर ठगिइन्

ओखलढुंगाकी शर्मिला (नाम परिवर्तन) स्थानीय माध्यमिक तह (मावि)मा पठाउँदै थिइन् । उनले आर्थिक संकट भएपछि काठमाडौं मूलपानीमा रहेको जग्गा बेचिन् । शर्मिलाले जग्गा बेचेको कुरा डलर सटही गर्ने नाममा ठगी गर्ने गिरोहको कानसम्म पुग्यो ।

उनीहरूले शर्मिलाको नम्बर पनि पत्ता लगाए । अनि पिछा गर्न थाले । ‘जग्गा बेच्नु भएको रहेछ मिस, हामीसँग सस्तोमा डलर साट्ने बुढा बाजे छन्, तपाईँ मालामाल हुनुहुन्छ’ भन्दै गिरोहले शर्मिलालाई भने । शर्मिलाले शुरूमा ‘किन चाहियो डलर’ भनेर प्रतिप्रश्न पनि गरेकी थिइन् । शर्मिलालाई गिरोहले ६ लाख ५० हजारमा ४५ हजार अमेरिकी डलर साट्ने भनेपछि उनी सोच्न बाध्य भइन् ।

शर्मिलालाई गिरोहले शुरूमा २० का दरका चार पाँच वटा नोट दिए । सक्कली डलर नै हो भन्ने विश्वास दिलाउन गिरोहले गरेको चलाखीबारे शर्मिलाले खासै हेक्का गरिनन् ।

शर्मिलाले जग्गा बेचेर बैंकमा राखेको रकम मध्ये ६ लाख ५० हजार रुपैयाँ झिकेर गिरोहलाई ‘कहाँ आउने?’ भनेर सोध्छिन् । गिरोहले गुन्डुमा बोलाउँछन् । पैसा लिएर गुन्डु पुगेकी शर्मिलालाई पनि गिरोहले माथि उल्लेखित घटनाजस्तै कागजको गड्डी हातमा थमाएर पैसा लिएर भाग्छन् ।

डलर ठगीमा ४ जनाविरुद्ध मुद्दै–मुद्दा
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डलर साट्ने भन्दै ठगी गर्ने ८ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरको जिम्मा लगाएको छ । यही असार २७ गते पक्राउ परेका उनीहरूमध्ये सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–३ का कर्मा वाङदेन पाइन, सिन्धुपाल्चोक धार्पाका सूर्यबहादुर पाइन, सन्तबिर पाइन, र विष्णु कुमार रुम्बाविरुद्ध यसअघि पनि पटक–पटक डलर सटही गरी ठगी गरेको मुद्दा चलेको पाइएको छ । प्रहरीले यो गिरोहबाट प्लाष्टिकको पेस्तोल, ७ वटा कि–प्याड मोबाइल, ए–फोर साइजको एक रिम पेपर लगायत समाग्री बरामद गरेको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार यो गिरोह पहिल्यैदेखि डलर ठगीमा सक्रिय देखिन्थे । ‘विभिन्न पसलमा टाँगिएका होर्डिङ बोर्डको फोटो खिचेर फोन नम्बर संकलन गर्ने र उनीहरूलाई कल गर्दै डलर ठगीको योजना बुन्ने गरेको देखिन्छ,’ अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले लोकान्तरसँग भने, ‘लोभले लाभ लाभले विलाप भनेजस्तै पीडित भनिएकाहरू छिटै धनी हुन खोज्दा यस्ता गिरोहको फन्दामा पर्छन् । डलर साट्ने गिरोहदेखि सबै सावधान हुन जरुरी छ ।’

salt training

कमेन्ट गर्नुहोस्