२८ जेठ २०८३, बिहीबार
प्रहरीलाई नै चकित पारेको घटना

सिनामंगलमा चिनियाँ नागरिकको अखडा– नाम चलेका ब्रान्डका स्टिकर टाँसेर नक्कली सामानको धन्दा

ठाउँको ठाउँ तयार पार्थे डेल, लेनेभोदेखि एसरसम्मका ल्यापटप ब्याट्री तथा सीसीटीभी क्यामेरा
असार ३२, २०८२
काठमाडौं
सिनामंगलमा चिनियाँ नागरिकको अखडा– नाम चलेका ब्रान्डका स्टिकर टाँसेर नक्कली सामानको धन्दा

काठमाडौं महानगरपालिका– ३२ पुरानो सिनामंगलस्थित पञ्चमुखी मार्गमा रहेको पाँचतले घरमा चिनियाँ नागरिकको अस्वाभाविक गतिविधि देखेपछि स्थानीयले प्रहरीलाई सुराक दिए ।

सुराक उपलब्ध गराउने व्यक्तिले भनेका थिए, ‘बाटैदेखि ठूल्ठूला सीसीटीभी राखिएको छ । एयरपोर्ट पूरै देखिने सीसीटीभीमार्फत चिनियाँ नागरिकले अवैध गतिविधि गरिरहेका छन् ।’

उक्त सूचना पहिल्याउँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार साँझ सो घरमा छापा मार्‍यो ।

पाँच तले घर । भुइँतलादेखि नै इलेक्ट्रिक समान छरपस्ट पारिएको । विभिन्न कम्पनीहरू (डेल, लेनेभो, एसर) का ल्यापटपमा लाग्ने ब्याट्री, लोगो बनाउने मशिन, प्याकेजिङ गर्ने मशिन, ब्याट्री बनाउन प्रयोग हुने कच्चा पदार्थ र नौ किसिमका सीसीटीभी क्यामेरा तथा क्यामेरा बनाउने सामानहरू थुपारिएको देखेपछि छापा मार्न पुगेका प्रहरी चकित परे ।

null

स्थानीय शिवहरि भट्टराईले मासिक २ लाख रुपैयाँ लिने गरी चिनियाँ नागरिक जेनीसँग सम्झौता गरेका थिए ।

प्रहरी पुग्दा त्यहाँ अर्का चिनियाँ नागरिक यु वाङ थिए । उनी सामान मिलाउँदै थिए ।

प्रहरीका अनुसार चिनियाँ नागरिकले ७/८ जना नेपाली किशोरकिशोरीलाई मासिक १० देखि १५ हजार तलब दिएर सामान प्याकेजिङ, लेबिलङको काम लगाउँदै आएको देखियो ।

null

बिजनेस भिसामा आएका यु र जेनीले २०८० देखि भट्टराईको घर भाडामा लिएका थिए ।

प्रहरीले सोधपुछ गर्दा ‘रेसिडेन्सियल’ उद्देश्यले नै भाडामा लिने बताएपछि आफूले मासिक दुई लाख लिने गरी सम्झौता गरेको भट्टराईले बताएका छन् ।

null

भट्टराईले जेनीसँग घरभाडा सम्झौता गरेका थिए । जेनी अहिले चीन पुगिसकेकी छन् ।

अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी र डीएसपी अनिल घिमिरेसहितको टोली घरमा छापा मार्न पुगेको थियो ।

‘भित्र पुग्दा त ‘ब्रान्डेड’ कम्पनीको लोगो टाँसिएको ब्याट्री र सीसीटीभीहरूको खात देखियो,’ एसपी जिसीले लोकान्तरसँग भने, ‘चीनबाट कच्चा पदार्थ नेपाल ल्याउने र यहाँ ल्याएपछि प्राविधिक दक्षताका आधारमा ब्याट्री र सीसीटीभी बनाउने गरेका रहेछन् ।’

जिसीका अनुसार तत्कालै त्यहाँ भेटिएका वाङलाई सामानहरूको बिल/भरपाई देखाउन आग्रह गर्दा उनले देखाउन सकेनन् । वाङले आफू पनि काम गर्न बसेको र यसको व्यवस्थापन जेनीले गर्दै आएको प्रहरीले बयानमा खुलाएका छन् ।

null

प्रहरीले उक्त घरबाट ल्यापटपको तयारी ब्याट्री तीन हजार एक सय ४९ वटा, सीसीटीभी ब्याट्री ७४८ वटा, सीसीटीभी बनाउन प्रयोग हुने सामान ११ हजार ९ सय पाँचवटा कच्चा पदार्थ बरामद गरेको छ ।

त्यस्तै, विभिन्न नाम चलेका ब्रान्डको लोगो तयार पार्ने मशिनहरू समेत प्रहरीले बरामद गरेको छ ।

‘कसैसँग अनुमति नलिई विभिन्न ब्रान्डका ल्यापटपका ब्याट्री र सीसीटीभी बनाएको देखियो,’ एसपी जिसीले भने, ‘राजस्व छली गरेको देखिएपछि सबै बरामद सामान र व्यक्तिलाई राजस्व अनुसन्धान विभाग पठाइएको छ ।’

null

नेपालमा साइबर अपराध, बैंकको एटीएम ह्याक, अवैध कल सेन्टर सञ्चालन गरेर बस्ने चिनियाँ नागरिकहरूलाई प्रहरीले यसअघि नै पक्राउ गरी सार्वजनिक गरिरहेको छ ।

हाल पक्राउ परेका वाङ र फरार भनिएकी जेनीले आधिकारिक कम्पनीसँग स्वीकृति नलिई चीनबाट कच्चा पदार्थ ल्याएर ल्यापटपका ब्याट्री र सीसीटीभी क्यामेरा बनाएर बिक्री गरेको यो नौलो घटना हो ।

एसपी जिसी भन्छन्, ‘यस्तो धन्दा अन्य ठाउँमा पनि होला, हामी खोज्दैछौं । हाल पक्राउ परेका वाङ एक्लैको संलग्नता नहुन सक्छ ।’

बरामद सामाग्रीहरूलाई नगरप्रहरीको तीनवटा ट्रकमा राखेर वाङसहित राजस्व अनुसन्धान विभागमा बुझाइसकिएको छ । प्रहरीसँग भने अहिले वाङबाहेक अरू चिनियाँ नागरिक सम्पर्कमा आएका छैनन् ।

 

salt training

कमेन्ट गर्नुहोस्