
लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औं बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो ।
बैठकले वार्षिक नीति तथा कार्यक्रम समेत स्वीकृत गरेको छ । सो अवसरमा विश्वविद्यालयको हालको बेरुजू शून्य दशमलव ५ मात्रै भएको बैठकलाई अवगत गराइएको थियो ।
त्यस्तै, सभाको बैठकले एकेडेमिक क्रेडिट बैंक स्थापना गर्ने निर्णय गरेको छ । जुनसुकै विश्वविद्यालयमा अध्ययन गरी बीचमै छाडेका विद्यार्थीहरूले आफूले ग्रहण गरेको क्रेडिट बैंकमा जम्मा गरी उपाधिका लागि अपुग रहेको क्रेडिट आवर अध्ययन गरी उपाधि पाउन सक्नेछन् । विश्वविद्यालय यससम्बन्धी विनियम बनाइ कार्यान्वयनमा लगिने जनाएको छ ।
सभाको बैठकले स्कूल अफ ल स्थापना, देवदह शिक्षा विकास परियोजनाको गुरुयोजना कार्यान्वयनमा लैजाने समेत निर्णय गरेको छ । बैठकमा पेस भएका नियमावली संशोधन गर्ने निर्णय स्वीकृत भएको सदस्य सचिव एवं रजिस्ट्रार आचार्यले जानकारी दिए ।
बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बौद्ध दर्शनलाई अन्य विषयमा राखेर प्राध्यापन गराउनु महत्त्वपूर्ण विषय रहेको बताए । उनले विश्वविद्यालयका हरेक कार्यक्रम बौद्ध दर्शनलाई समेट्नेगरी हुनुपर्ने बताए ।
त्यस्तै, सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्रका रूपमा लैजाने गरी शैक्षिक कार्यक्रम तर्जुमा गर्नुपर्ने बताए । उनले अन्य विश्वविद्यालयभन्दा लुम्बिनी बौद्ध विश्वविद्यालय फरक हुनुपर्ने भन्दै विश्वभरका अध्येताहरू बौद्ध दर्शनको अध्ययनका लागि लुम्बिनी आउने अवस्था बनाउनुपर्ने बताए ।
बैठकमा उपकुलपति प्राडा. सुवर्णलाल बज्राचार्यले विदेशी विद्यार्थीलाई आकर्षण गर्नेगरी शैक्षिक कार्यक्रमको उपाधि स्थापना, सञ्चालन तथा विद्यार्थी केन्द्रित शैक्षिक पूर्वाधार निर्माणमा जोड दिएर नीति कार्यक्रम तर्जुमा गरिएको बताए । एकेडेमिक क्रेडिट बैंक, ड्युल डिग्रीसहितको मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गरिने तथा बौद्ध दर्शन केन्द्रित अध्ययन अनुसन्धानलाई जोड दिने उनले बताए ।
उनले देवदहमा २० हजार विदेशी विद्यार्थी भर्ना गर्नेगरी पूर्वाधार निर्माणको थालनी गरिएको भन्दै यो पूर्वाधारले ५० वर्षको आवश्यकता पूरा गर्ने उनले बताए । सभाको बैठकले पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाउने स्वीकृति दिएको भन्दै उनले दातृ निकायलाई आह्वान गरिने बताए ।
दुई संकाय, एक स्कूल, दुई आंगिक क्याम्पस र १४ वटा सम्बन्ध तथा सहकार्य क्याम्पस रहेको विश्वविद्यालयमा हाल २९ सय २२ जना विद्यार्थी अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।