
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ३१ गते भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यसहित ३ कर्मचारीलाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गर्यो । सेवाग्राहीबाट २४ लाख ५० हजार रूपैयाँ घुस लिएको पाइएपछि उनीहरूलाई घुस रकमसिहत पक्राउ गरिएको थियो ।
चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउने प्रयोजनार्थ घुस लिएको पाइएको हो ।
आयोगले आचार्यको साथबाट मोबाइल डिभाइस २ थान र भूमिसुधार शाखाका नायब सुब्बा दीपकप्रसाद अधिकारीको साथबाट मोबाइल १ थान तथा कार्यालय सहयोगी टीकाराम राउतको साथबाट मोबाइल १ थान गरी २४ लाख ५० हजार रूपैयाँ बरामद गरेको हो ।
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर परिसरबाट पक्राउ परेका तिनैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।
****
२०८० असार २ गते बाँकेको कोहलपुरस्थित मालपोत कार्यालयका खरिदारद्वय हरिचन्द्र पाण्डे र रतनबहादुर जिसीसहित ४ जनाविरुद्ध विशेष अदालतमा घुससम्बन्धी मुद्दा दायर भएको छ ।
कार्यालयको मुद्दा फाँटमा कार्यरत खरिदार पाण्डे समेतले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (बिचौलिया)मार्फत २० हजार रुपैयाँ घुस लिएको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको हो ।
पाण्डेले घुस लिई तिवारी रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी शान्ति पुन र घनश्याम तिवारीलाई आयोगले नियन्त्रणमा लिएको थियो ।
****
महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा दीपेन्द्र नारायण चौधरीसमेत ३ जनाविरुद्ध अख्तियारले चैत २२ गते विशेष अदालतमा घुससम्बन्धी मुद्दा दायर गरेको छ ।
नायब सुब्बा चौधरी, खरिदार मुन्नुकुमार दास र लेखापढी जिवछ महतोविरुद्ध मुद्दा दायर भएको हो ।
जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीबाट ३५ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
तीनैजनाको आपसी मिलोमतोमा जग्गाको ट्रायल चेक एवं क्षेत्रफल सुधार गरी लालपुर्जा बनाइदिने भनी घुस लिएको अनुसन्धानमा पाइएको थियो ।
माथि उल्लेख भएका तीन फरक-फरक स्थानका मालपोत कार्यालयका कर्मचारीहरू घुस लिएको अवस्थामा रंगेहात पक्राउ परेको घटना हो यो । आयोगले रंगेहात पक्राउ गरेर विशेष अदालतमा मुद्दा चलाउँदै आएको छ ।
मालपोतका कर्मचारीले दिनहुँजसो खुल्लमखुल्ला सेवाग्राहीसँगै वा बिचौलियामार्फत घुस लिने गरेको पाइएको छ ।
खास गरेर शहरी तथा सुगम क्षेत्र र काठमाडौं उपत्यकाका मालपोत कार्यालयमा कम्प्युटर अपरेटरदेखि नायब सुब्बा होस् वा मालपोत अधिकृतदेखि प्रमुख मालपोत अधिकृतसम्म सरुवाका लागि मारामार गर्ने गर्छन् । प्रमुख मालपोत अधिकृत(उपसचिव) को सरुवा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायले गर्छ भने मालपोत अधिकृत(शाखा अधिकृत)को सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले भूमि मन्त्रलायमा र त्यसपछि भूमि मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभागमा गर्छ । त्यसपछि विभागले पदस्थापन गर्दै आएको छ ।
त्यसैगरी, नायब सुब्बा र कम्प्युटर अपरेटरहरूको सरुवा भने विभागका महानिर्देशकहरूले नै गर्ने गर्छन् । त्यसरी सुगम, शहरी तथा तराई–मधेशमा सरुवा हुनका लागि लाखौं रूपैयाँ बुझाएर जाने गरेको कर्मचारीहरू नै बताउँछन् ।
‘मन्त्रलायबाट हुने सरुवामा होस् वा विभागबाट हुने पदस्थापनदेखि सरुवासम्ममा भनेको ठाउँमा जान कर्मचारीले पैसा बुझाउनैपर्ने हुन्छ,’ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायका एक कर्मचारीले लोकान्तरसँग भने, ‘घुस दिएर जाने कर्मचारीले घुस लिएर नै सेवाग्राहीको काम गर्छन् ।’
मन्त्रलाय वा विभागमा त्यस विषयमा उजुरी परे पनि केही 'एक्सन' नलिनु त्यसैको परिणाम भएको उनले खुलाए ।
सुगममा जान मारामार, दुर्गममा सुब्बा तथा कम्प्युटर अपरेटर नै हाकिम
काठमाडौं उपत्यका, सुगम तथा तराई मधेशका शहरी क्षेत्रमा खटिन कर्मचारीहरूले मरिहत्ते गरे पनि दुर्गम तथा ग्रामीण क्षेत्रका मालपोत कार्यालयमा कर्मचारीहरू जान नै चाहँदैनन् । त्यसबाहेक कतिपय सुगम स्थानमा पनि नायब सुब्बा नै निमित्त रहिरहनका लागि पनि विभागमा पैसा बुझाउने गरेको ती कर्मचारीले बताए ।
यसअघि सरुवामा व्यापक आर्थिक चलखेल भएको विषयमा उजुरी परेपछि मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा पनि व्यापक आर्थिक चलखेल भएको भन्दै प्रतिवेदन बुझाइएको थियो । त्यस विषयमा लोकान्तरले नियमित समाचार प्रकाशन गरेको थियो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको प्रशासन शाखाबाट प्राप्त विवरण अनुसार ८० वटा मालपोत कार्यालयमा कुल २६५ जना मालपोत अधिकृतको दरबन्दी रहेकोमा १६५ जना अधिकृतहरू मात्र पूर्ति भएका छन् भने ९२ जना मालपोत अधिकृतको दरबन्दी रिक्त नै छ ।
हेर्नुहोस्, दरबन्दी रिक्त भएको विवरण :



मालपोत अधिकृतको दरबन्दी भए पनि लामो समयदेखि कतिपय त्यस्ता अड्डामा नायब सुब्बादेखि कम्प्युटर अपरेटरले नै निमित्त कार्यालय प्रमुख भएर काम गर्दै आएका छन् ।
विभागले दिएको विवरणअनुसार असार ३२ गतेसम्म ५० जना नायब सुब्बा र ४ जना कम्प्युटर अपरेटरहरू निमित्त कार्यालय प्रमुखको रूपमा कार्यरत छन् ।
ताप्लेजुङमा नायब सुब्बा निर्मल शेर्पा, तेह्रथुममा नायब सुब्बा प्रदीप राई, सक्रान्तिबजार –तेह्रथुममा नायब सुब्बा खड्कप्रसाद गुरुङ, खाँदवारी संखुवासभामा नायब सुब्बा चेतनाथ पराजुली, चैनपुर-संखुवासभामा नायब सुब्बा जुनकुमार राई, भोजपुरमा नायब सुब्बा विदुरप्रसाद भट्टराई निमित्त मालपोत अधिकृतको रूपमा कार्यरत छन् ।
त्यसैगरी, दिङ्गला-भोजपुरमा नायब सुब्बा विनोद दाहाल, सोलुखुम्बुमा नायब सुब्बा विदेश खनाल, ओखलढुंगामा नायब सुब्बा नीरकुमार ढुंगाना, खिजिफलाँटे-ओखलढुंगामा नायब सुब्बा लालबहादुर सुनुवार, दिक्तेल-खोटाङमा नायब सुब्बा जगतबहादुर श्रेष्ठ, खोटाङबजार-खोटाङमा नायब सुब्बा राजकुमार न्यौपाने निमित्त मालपोत अधिकृतको रूपमा कार्यरत छन् ।
त्यसैगरी, मधेश प्रदेशको सिम्रौनगढ-बारामा नायब सुब्बा बाबुनन्दन साह, पोखरिया पर्सामा नायब सुब्बा रामजीप्रसाद साह र रौतहटको मौलापुरमा नायब सुब्बा कौशलकिशोर झा निमित्त मालपोत प्रमुखको रूपमा कार्यरत छन् ।
त्यसैगरी, बागमती प्रदेशको माडी चितवनमा नायब सुब्बा नवराज घिमिरे, शिखरकोट-मकवानपुरमा टंकप्रसाद आचार्य, रसुवामा नायब सुब्बा गणेश श्रेष्ठ निमित्त मालपोत प्रमुखको रूपमा कार्यरत छन् ।
त्यसैगरी, गण्डकी प्रदेशको सिर्दिवास-गोरखामा नायब सुब्बा सुदीपप्रसाद अधिकारी, वालिङ स्याङ्जामा नायब सुब्बा जीवनाथ पौडेल, बुर्तिवाङ बागलुङमा नायब सुब्बा काशिराम खड्का निमित्त मालपोत प्रमुखको रूपमा कार्यरत छन् ।
त्यसैगरी, लुम्बिनी प्रदेशको तम्घास गुल्मीमा नायब सुब्बा सूर्यबहादुर सोमै, मजुवाबजार गुल्मीमा नायब सुब्बा भगवानलाल साह, रामपुर पाल्पामा नायब सुब्बा ज्ञानबहादुर सिंजाली, अर्घाखाँचीमा नायब सुब्बा रमेश न्यौपाने निमित्त मालपोत प्रमुखको रूपमा कार्यरत छन् ।
त्यसैगरी, बाणगंगा-कपिलवस्तुमा कम्प्युटर अपरेटर मोहनबहादुर दर्लामी, मझगवा रुपन्देहीमा नायब सुब्बा मेघनाथ पौडेल, घर्तीगाउँ रोल्पामा कम्प्युटर अपरेटर तीर्थबहादुर घर्ती, खलंगा प्युठानमा नायब सुब्बा मंगल थापा, जसपुर प्युठानमा नायब सुब्बा सरोज अधिकारी निमित्त मालपोत प्रमुखको रूपमा कार्यरत छन् ।
त्यसैगरी, कर्णाली प्रदेशको रुकुम पश्चिमभागमा नायब सुब्बा मोहनकुमार पुन, आठबिसकोटमा नायब सुब्बा खिमबहादुर घर्ती, दैलेखमा नायब सुब्बा युवक हमाल, दुल्लु दैलेखमा नायब सुब्बा दिलकुमारी योगी, जाजरकोटमा नायब सुब्बा डिल्लीबहादुर केसी निमित्त मालपोत प्रमुखको रूपमा कार्यरत छन् ।
त्यसैगरी, मेहलकुना सुर्खेतमा नायब सुब्बा गगनसिंह सुमाई, हुम्लामा नायब सुब्बा प्रवेन्द्र यादव, डोल्पामा नायब सुब्बा कर्णबहादुर रोकाया, मुगुमा नायब सुब्बा जगतबहादुर रोकाया, जुम्लामा नायब सुब्बा मोहनबहादुर विष्ट, जुम्ला सिञ्जामा नायब सुब्बा पूर्णप्रसाद चौलागाईं र कालिकोटमा नायब सुब्बा सञ्जय कठायत निमित्त मालपोत प्रमुखको रूपमा कार्यरत छन् ।
त्यसैगरी, सुदुरपश्चिम प्रदेशको बझाङमा नायब सुब्बा कृष्णबहादुर बोहरा, झोता भैरव बझाङमा नायब सुब्बा सुभाससिंह रावल, अछाममा नायब सुब्बा शिवराज ढुंगाना, बाजुरामा नायब सुब्बा जंगवीर सुनार, टीकापुर कैलालीमा नायब सुब्बा लालबहादुर बोहरा, दार्चुलामा लक्ष्मीराज विष्ट निमित्त मालपोत प्रमुखको रूपमा कार्यरत छन् ।
त्यसैगरी, बैतडीमा कम्प्युटर अपरेटर तर्कराज जोशी, डडेल्धुरामा नायब सुब्बा कमलापति भट्ट, जोगबुढा डडेलधुरामा नायब सुब्बा प्रेमबहादुर धामी र बेलौरी कञ्चनपुरमा कम्प्युटर अपरेटर कुशलमंगल भाट निमित्त मालपोत प्रमुखको रूपमा कार्यरत छन् ।
हेर्नुहोस्, कार्यालय प्रमुखहरूको सूची :




