२९ असार २०८३, सोमबार

जिग्रीको जन्मदिनमा पाँडे- तपाईंको ‘जे’ले गर्दा मेरो ‘पी’ले सार्थकता पाएको छ

साउन ४, २०८२
काठमाडौं
जिग्रीको जन्मदिनमा पाँडे- तपाईंको ‘जे’ले गर्दा मेरो ‘पी’ले सार्थकता पाएको छ

नेपाली हास्यव्यंग्य क्षेत्रमा पछिल्लो समय लामो सहकार्य गरेका कलाकारमा पर्छन्- कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ । 

‘भद्रगोल’ हुँदै ‘सक्किगोनी’ टेलिश्रृंखलामा सँगै सहकार्य गरेका उनीहरूले पछिल्लो समय ‘लाज शरणम्’ चलचित्र बनाए । जसलाई कुमारले निर्देशन गरेका थिए । 

यो चलचित्र व्यावसायिक रूपमा अपेक्षित सफल नभएपनि उनीहरू अर्को चलचित्रको तयारीमा छन् । र, हाल उनीहरूको टेलिश्रृंखला ‘सक्किगोनि’ भने स्थगित छ ।

आइतबार उनै जिग्रीको जन्मदिनमा पाँडेले सहकार्यका पुराना दिन सम्झिएका छन् । यो यात्रामा धेरै उतारचढाव आएको उल्लेख गरेका छन् । 

‘हामी साथ साथ लागेर हिँडेको यात्रा निकै पर आइसक्यो । यो यात्रामा धेरै उतारचढाव आए तर हाम्रो साथ उस्तै रह्यो, आत्मीय र विश्वासिलो । पछाडि फर्किएर हेर्दा झन् प्यारो, आत्मीय र गौरवपूर्ण लाग्छ’, पाँडेले लेखेका छन्, ‘तपाईंको ‘जे’ले गर्दा मेरो ‘पी’ले सार्थकता पाएको छ । तपाईंको साथविना अर्जुन घिमिरे होला तर, पाँडेको अस्तित्व रहने थिएन । कोही साथीको साथले कति सम्म फरक पर्दो रैछ भन्ने आफैंलाई हेरेर थाहा पाउँछु ।’

उनले आफ्ना लागि मित्रताको परिभाषा जिग्रीलाई सम्झिए पूरा हुने उल्लेख गरेका छन् ।

‘मेरो साथीको जन्मदिन मेरो पनि विशेष दिन हो । यो तपाईंको जन्मदिन मेरो पनि जन्मदिन हो । हामी दुवैलाई जन्मदिनको शुभकामना’, पाँडेले लेखेका छन् । 

जिग्री र पाँडेले जेपीटी (जिग्री पाँडे टिम) क्रियशनको ब्यानरमा काम गरिरहेका छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्