
बैतडी जिल्ला अस्पतालमा पहिलोपटक हर्नियाको शल्यक्रिया गरिएको छ । शनिबार जिल्ला अस्पतालमा पहिलोपटक दुई जनाको हर्नियाको सफल शल्यक्रिया गरिएको हो ।
करिब ५८ र ६८ वर्षीय दुई पुरुषको हर्नियाको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तले जानकारी दिए ।
यसअघि विशेषज्ञ चिकित्सकको अभावमा यो सेवा जिल्ला अस्पतालमा सञ्चालन हुन सकेको थिएन । एमडीजीपी डाक्टर पवीन उपाध्याय जिल्ला अस्पतालमा हाजिर भएसँगै सेवा शुरू भएको सूचना अधिकारी पन्तले बताए ।
आज पनि ४० वर्षीय एक पुरुषको हर्नियाको शल्यक्रिया गरिन लागिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक र डडेल्धुरा अस्पतालको समन्वयमा पहिलोपटक हर्नियाको सफल शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील विकले जानकारी दिए ।
डडेल्धुरा अस्पतालले पनि बैतडीमा उपलब्ध नभएका सर्जरी सामग्रीलगायत आवश्यकताअनुसार चिकित्सकलाई हप्ताको एक दिन खटाउने गरेको सूचना अधिकारी पन्तले जानकारी दिए ।
यसले गर्दा पनि जिल्लामा विशेषज्ञ सेवा प्रदान गर्न सहज भइरहेको उनको भनाइ छ ।