
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जतिसक्दो छिटो फाइभजी नेटवर्क सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् ।
मन्त्रालयमा मंगलबार एनटीसी र एनटीएको २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोरजी विस्तार व्यापक बनाउँदै फाइभजी नेटवर्कको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन् ।
मन्त्री गुरुङका अनुसार आफूले मन्त्री भए लगत्तै पटक-पटक फाइभजी नेटवर्कको शुरू गर्न भन्दै आए पनि एक वर्ष पुगिसक्दा त्यसको कार्य सम्पादन नहुनु दु:खलाग्दो विषय रहेको बताए ।
उनले अब भने चाँडोभन्दा चाँडो नेटवर्क विस्तारमा गर्नुपर्ने बताए । त्यस्तै, छलफलका क्रममा मन्त्री गुरुङले नेपाल टेलिकम सैद्धान्तिक रूपले मात्रै जिल्लाभर पुग्नु पर्याप्त नरहेको स्पष्ट पारे ।
उनले फोरजी नेटवर्क हरेक जनताका घर-घरमा पुर्याउने काम प्राथमिकतामा राख्नुपर्ने बताए । साथै, इन्टरनेट र टेलिफोनमा समस्या आउँदा सरकारको डिजिटल फ्रेमवर्क उद्देश्य सार्थक हुन कठिन हुने, जनताले सेवाको भाव महसुस गर्नबाट बञ्चित रहने, डिजिटल सुशासन कायम गर्न चुनौती देखापर्ने हुँदा दूरसञ्चार विस्तारमा ढिलासुस्ती नगर्न मन्त्री गुरुङले आग्रह गरे।
साथै, मन्त्री गुरुङले नेपाल टेलिकमको प्रचार प्रसार गतिविधि निकै कम भएको औंल्याउँदै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा प्रचार गरेर एनटीसीबारे जनतालाई सुसूचित गराउन निर्देशन दिए ।
छलफलमा सञ्चार सचिव राधिका अर्यालले एनटीएले अनुगमनको पाटोलाई प्रभावकारी बनाउनुपर्ने अनुरोध गरिन् । उनले सूचना प्रविधिको क्षेत्रमा नवीन कार्य गर्दै आएका युवा पुस्तालाई हौसला प्रदान गर्ने खालका कार्य योजना समेत बनाउन निर्देशन दिइन् ।
प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले फाइभजी नेटवर्क सञ्चालन गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको जानकारी दिए । अब केही समयमै टेन्डर प्रक्रिया थालनी गरेर नेटवर्क विस्तार गर्ने उनले बताए ।
टेलिकमका निमित्त प्रबन्ध निर्देशक सविना मास्के(प्रधान)ले पनि फोरजी विस्तार निरन्तर कार्य भइरहेको र फाइभजी लन्च गर्ने तयारीमा जुटेको जानकारी दिइन् ।