
मुलुकका दश ठूला भन्सारमध्ये पर्ने लुम्बिनी प्रदेशका पाँचवटा भन्सार कार्यालयले राजस्व असुलीमा उल्लेखनीय सुधार गरेका छन् । साना दुई भन्सारले निकासी र पैठारीमा लक्ष्य भेटाए पनि प्रमुख भन्सार कार्यालयहरू आर्थिक वर्ष २०८१/०८२ को लक्ष्य पूरा गर्न असफल भएका छन् ।
लुम्बिनीमा देशको दोस्रो ठूलो रूपन्देहीको बेलहिया, चौथो ठूलो बाँकेको नेपालगञ्ज, पाँचौं र छैठौं ठूलो कपिलवस्तुको कृष्णनगर र सुठौली भन्सार कार्यालय रहेका छन् ।

नेपालभर सञ्चालनमा रहेका ४१ वटा भन्सार कार्यालयमध्ये लुम्बिनी प्रदेशमा मात्रै नौवटा छन् ।
****
भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९५ अर्ब १९ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो निर्धारित लक्ष्यको ८७.०७ प्रतिशत रहेको कार्यालयका सूचना अधिकारी नगेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
भन्सारले १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ८० अर्ब ८४ करोड १७ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यो हिसाबले गत आर्थिक वर्षको तुलनामा ११.२९ प्रतिशतले वृद्धि भएको छ ।
कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भने, 'शतप्रतिशत लक्ष्य पूरा गर्न नसके पनि गत आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको छ । आयात परिमाणको दृष्टिले भैरहवा मुलुकको दोस्रो ठूलो भन्सार नाका हो ।'
नेपालको कुल भन्सार राजस्वको करिब २५ प्रतिशत भैरहवा भन्सारले संकलन गर्छ ।
****
बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्यको ७४.६३ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो, तर २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपैयाँ मात्र संकलन भएको कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिए ।
यद्यपि अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष दुई अर्बभन्दा बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ६६ करोड रुपैयाँको लक्ष्यमध्ये ६३.३४ प्रतिशत अर्थात् १८ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मार्बल, एटीएफ, जिप्सम, विभिन्न रसायन, खाद्यान्न, तयारी कपडा, तरकारी र फलफूल आयात हुन्छ । त्यसैगरी जडीबुटी, एसेन्सियल आयल, दालचिनी, अलैंची, प्लाइउड र खोटो रोजिनलगायतका वस्तु भारततर्फ निर्यात हुने गर्छ ।

****
कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले लक्ष्यको ९८ प्रतिशत राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा ५३ करोड २५ लाख ६८ हजार ९०० रुपैयाँको लक्ष्यमा ९८.२५ प्रतिशत अर्थात् ५२ करोड ३२ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको कृष्णनगर भन्सार अधिकृत तथा सूचना अधिकारी लेखनाथ भट्टराईले बताए ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत वर्ष १३.५ प्रतिशतले बढी राजस्व संकलन भएको छ । सोही जिल्लाको सुनौली भन्सार कार्यालयले कृष्णनगरभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ ।
सुठौली भन्सारले आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए ।
'हाम्रो लक्ष्य ८० करोड रुपैयाँ थियो, तर हामीले १ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गर्यौं । यो लक्ष्यको १२९.४५ प्रतिशत हो,' गैरेले भने, 'हाम्रो नाकाबाट उद्योगका लागि कच्चा पदार्थ आयात हुन्छ । हाम्रो मातहतका चारवटा साना भन्सार भने सञ्चालन हुन सकेका छैनन् ।'
****
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको महेशपुर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी राजेन्द्र ढुंगानाले १६ करोड ६६ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए ।
'हामीले लक्ष्यभन्दा १०३.५० प्रतिशत राजस्व संकलन गरेका छौं । लक्ष्य १५ करोड ४६ लाख ९१ हजार रुपैयाँ थियो,' ढुंगानाले भने । 'हामीकहाँ प्लान्ट क्वारेन्टिनको अभाव छ । यो भएको भए राजस्व संकलन धेरै बढ्ने थियो ।'
आर्थिक वर्ष २०८२/०८३ को लक्ष्य १९ करोड दुई लाख रुपैयाँ निर्धारण गरिएको छ । सरकारले वि.सं. २०७५ देखि यस भन्सारलाई साना भन्सारबाट मूल भन्सारमा स्तरोन्नति गरेको थियो ।

****
विभिन्न कारणले बन्द भएका साना भन्सार कार्यालयहरू व्यवस्थित रूपमा सञ्चालन नहुँदा अवैध ओसारपसारले राजस्व गुमाउनुपरेको छ । रूपन्देहीमा मात्रै सातवटा यस्ता साना भन्सार रहेका छन् । द्वन्द्वकालमा बन्द भएका यी भन्सार सञ्चालनमा नआउँदा स्थानीयवासी समेत समस्यामा परेका छन् ।
बर्दियाको राजापुर भन्सारले राजस्व संकलन गर्दै आएको छ, तर तारातालस्थित साना भन्सारमा कर्मचारीको अभाव रहेको छ । बर्दियामा सशस्त्र द्वन्द्वकालमा छवटा साना भन्सार कार्यालय रहेका थिए, तर ती पुनःस्थापना नहुँदा राजस्व असुली प्रभावित भएको छ ।
पूर्वी पडेरिया, गणेशपुर र पश्चिम छेदापुर, धनौरा, कोठियाघाट र ईश्वरीगञ्ज, पडेरिया र गणेशपुर सञ्चालनमा हुँदा भारतबाट मोटरसाइकल र साइकलमार्फत ओसारपसार चलिरहन्छ ।
दाङको कोइलाबास नाका कुनै बेला नुनदेखि सुनसम्म किनमेल गर्ने मुख्य केन्द्र थियो, तर अहिले यो मृतसरह बनेको छ । यहाँको राजस्व संकलन अत्यन्त न्यून छ ।
बाँकेका सातवटा साना भन्सार सञ्चालनमा छैनन् ।
सुइया, बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भगोटना, साईगाउँ र उढरापुर साना भन्सार बन्द अवस्थामा रहेका छन् । कार्यालयमा भौतिक संरचना र गोदामको व्यवस्था नहुँदा राजस्व संकलन प्रभावित भएको छ ।
जिल्लाका विष्णुपुरा, भुजहवाँ, झुल्नीपुर र त्रिवेणीमा रहेका साना भन्सार कार्यालयहरू छन् ।

****
सीमानाकामा आवागमन सहज भएसँगै चोरी तस्करीका घटना बढेका छन् । रूपन्देही प्रहरीले एक वर्षको अवधिमा विभिन्न नाका हुँदै भन्सार छलेर भारतबाट भित्र्याइएका १२ करोड ६७ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
रूपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार तस्करी नियन्त्रणका लागि परिचालन गरिएका टोलीले जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर भित्र्याइएका सामान बरामद गरेका हुन् ।
खुला सीमा नाकाबाट चोरी तस्करी बढेपछि राजस्वको लक्ष्य पूरा गर्न नसकिएको कतिपयको बुझाइ छ ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले कोभिड महामारीपछि शिथिल बनेको देशको अर्थतन्त्रमा सामान्य सुधारका संकेत देखापरेकाले राजस्व संकलनमा केही सुधार आएको हुनसक्ने विश्लेषण गरे ।
'राज्यले व्यवसायी मैत्री वातावरण सिर्जना गरेर व्यवसायीहरूलाई प्रोत्साहन दिने हो भने चालू आर्थिक वर्षमा राजस्व अझै बढ्न सक्छ । सरकारले आयातभन्दा निर्यात बढाउनेतर्फ ध्यान दिनु जरुरी छ,' उनले भने ।