
घुस प्रकरणमा मुछिएकी पूर्वभूमि व्यवस्था मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अख्तियारमा पुगेकी छिन् ।
अख्तियार उच्च स्रोतका अनुसार श्रेष्ठ आज बिहान १० बजे अख्तियारमा हाजिर भएकी हुन् ।
कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख घुस डिल भएकोमा उनीसमेत संलग्न रहेको देखिएपछि अख्तियारले बोलाएको थियो ।
अहिले श्रेष्ठसँग सोधपुछ चलिरहेको अख्तियार उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।
सोही प्रकरणमा मुछिएका निवर्तमान सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि भ्वाइस टेस्ट गर्न अख्तियार पुगेका थिए ।
घुस प्रकरणमा मुछिएपछि गुप्ताले पदबाट राजीनामा दिएका थिए । श्रेष्ठले ल्याएका मान्छेले आफूलाई फसाउन पैसा छाडेर गएको दाबी गुप्ताले प्रधानमन्त्रीसँग गरेका थिए ।
मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख डिल गरेको अडियो सार्वजनिक भएको थियो ।
जसमा अर्का मन्त्री बलराम अधिकारी पनि मुछिएका छन् । उनले भने राजीनामा दिएका छैनन् ।