२९ जेठ २०८३, शुक्रबार
हनी ट्र्याप

​रेस्टुरेन्टमा भेटिएकी युवतीको चक्करमा लाग्दा विदेशबाट कमाएर ल्याएको पैसा स्वाहा !

साउन ९, २०८२
काठमाडौं
​रेस्टुरेन्टमा भेटिएकी युवतीको चक्करमा लाग्दा विदेशबाट कमाएर ल्याएको पैसा स्वाहा !
AI Genereted Photo

सुर्खेत वीरेन्द्रनगरका हरि (नाम परिवर्तन) अहिले पारिवारिक तनावमा छन् ।

अपरिचित २१ वर्षीया युवतीको चक्करमा लाग्दा उनले १० वर्षसम्म विदेशमा कमाएको सम्पत्ति सकाए ।

एकातिर उनको गोजी रित्तियो, अर्कातिर श्रीमती र परिवारसँगको सम्बन्धमा खटपट शुरू भएको छ ।

मलेसियामा काम गरेर डेढ वर्षअघि मात्रै नेपाल फर्किएका हरि वीरेन्द्रनगरकै एक रेस्टुरेन्टमा रमाइलो गर्न पुगेका थिए । उनको चिनजान स्थानीय इन्दु (नाम परिवर्तन)सँग भयो ।

दुवैबीच कुराकानी हुन थाल्यो । फोन नम्बर साटासाट गरे । फेसबूकमा साथी बने । दैलेख नौमुले गाउँपालिका– ८ घर भएर वीरेन्द्रनगर बस्दै आएकी इन्दु टिकटक पनि चलाउँथिन् । इन्दुलाई नै भेट्न हरि पटक–पटक उक्त रेस्टुरेन्टमा पुग्थे ।

भेटघाटकै बीच हरिले इन्दुलाई होटलमा रात बिताउने प्रस्ताव राखे । इन्दुले स्वीकारिन् । दुवैबीच शारीरिक सम्पर्क भयो । त्यसपछिका दिनमा पनि पटक–पटक उनीहरूबीच सम्बन्ध रह्यो ।

त्यही मौकामा इन्दुले आफूलाई डेढ लाख रुपैयाँ आवश्यक परेको कुरा हरिलाई सुनाइन् । हरिले मोबाइल बैंकिङमार्फत तुरुन्त पैसा ट्रान्सफर गरिदिए ।

हरि विवाहित रहेको कुरा इन्दुलाई थाहा थियो । इन्दु र आफ्नो ‘रिलेसन’को बारेमा परिवारले थाहा नपाओस् भन्ने चाहना हरिको थियो । तर, इन्दुले हरिलाई ‘दुहुनो गाई’ बनाउन खोजिन् । अनि विभिन्न बहानामा पैसा माग्न थालिन् । हरिले पठाउँदै गए ।

पटक–पटक गरेर हरिले १४ लाख २५ हजार दिइसकेका थिए । तर, इन्दुले पैसा माग्न छाडिनन् । बरु उल्टै इन्दुले दुई जनाबीच शारीरिक सम्बन्ध राख्दा खिचेको नग्न फोटो आफूसँग रहेको र पैसा नदिए परिवारका सदस्यलाई पठाइदिने धम्की दिन थालिन् ।

अनि बाध्य भएर हरिले इन्दुसँगको सम्बन्धको बारेमा परिवारलाई थाहा दिए । घरको आवश्यकताबाट टाढिँदै गएका हरिले आफ्नो सम्बन्ध इन्दुसँग रहेको र उसले पटक–पटक पैसा मागेर हैरान बनाएको कुरा परिवारलाई बताएपछि इन्दुविरुद्ध प्रहरीमा जाने निधो भयो ।

‘म एउटी केटीको चक्करमा लागेर बर्बाद भएँ, विदेशमा कमाएको पैसा पनि यही केटीले लुटिसकी, मलाई न्याय चाहियो,’ भन्दै हरि जिल्ला प्रहरी कार्यालय सुर्खेत पुगे । हरिले इन्दुलाई पटक–पटक गरी पैसा पठाएको प्रमाण पनि बुझाए । प्रहरीले इन्दुलाई पक्राउ गर्‍यो ।

कार्यालयमा ल्याएर इन्दुलाई प्रहरीले सोध्यो, ‘तपाईंले यसरी परिवार भएको व्यक्तिलाई ट्रयापमा पारेर पैसा असुल्न मिल्छ ?’ इन्दुले जवाफ दिइन्, ‘उहाँ (हरि) परिवार भएको व्यक्तिले एउटी युवतीलाई मायाजालमा फसाएर पटक–पटक शारीरिक सम्बन्ध गाँस्न मिल्छ ? मैले बलात्कारको मुद्दा हालेको भए के हुन्थ्यो ?’ प्रहरी अवाक् भए ।

तर, फोनमा धम्की दिएर हरिसँग पैसा मागेको अडियो र च्याट इन्दुलाई कारबाही गर्न काफी थिए ।

सुर्खेतका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार इन्दुले अरूलाई पनि यसैगरी ‘हनी ट्र्याप’ मा पारेर रकम असुलेको आशंकामा अनुसन्धान भइरहेको छ ।

‘रेस्टुरेन्टमा दिनभरि बसेर आफूतिर आकर्षित हुने युवालाई टार्गेटमा पार्ने इन्दुको कार्यशैली अचम्मको देखियो,’ शाहीले लोकान्तरसँग भने, ‘हरिले शुरू–शुरूमा आफूखुसी पैसा दिँदै गए । पछि पैसा नभएको बताउँदा इन्दुले नग्न फोटो छ भन्दै बार्गेनिङ गरेर पैसा खातामा पठाउन लगाएको देखिन्छ ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेत पुगेका हरिका परिवारले ‘छोराले नाक कटायो’ भन्दै इन्दुलाई कारबाही र हरिलाई चेतावनी दिन सुझाएका थिए ।

‘परिवार र बच्चाबच्ची समेत भएका हरिले आफू, परिवार र ती युवतीको जीवन बर्बाद पारे,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘हामीले इन्दुको बयान लिइरहेका छौं । हरिको पनि कागज गराउँछौं । अदालतमा अभियोजन दर्ता गर्दा न्यायाधीशले कसरी हेर्छन्, त्यो पछि थाहा होला ।’

salt training

कमेन्ट गर्नुहोस्