२९ जेठ २०८३, शुक्रबार
दीपक खड्काको मनोमानी

ऊर्जामन्त्रीको हस्तक्षेपले तनावमा हितेन्द्र– पीपीएदेखि कर्मचारी सरुवासम्मै बलजफ्ती

साउन १३, २०८२
काठमाडौं
ऊर्जामन्त्रीको हस्तक्षेपले तनावमा हितेन्द्र– पीपीएदेखि कर्मचारी सरुवासम्मै बलजफ्ती

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निरन्तरको हस्तक्षेपका कारण नेपाल विद्युत प्राधिकरण पछिल्लो समय निकै अप्ठ्यारोमा पर्दै गएको पाइएको छ ।

ठेक्कादेखि कर्मचारी सरुवा, विनियम संशोधनलगायत हरेक विषयमा अनावश्यक हस्तक्षेप गर्न खोज्ने मन्त्रीको शैलीले प्रबन्ध निर्देशक (एमडी) हितेन्द्रदेव शाक्यमात्र होइन, प्राधिकरणकै स्वायत्तता समेत संकटमा परेको हो ।

पछिल्लो समय मन्त्रीको अनावश्यक हस्तक्षेपले एमडी शाक्य तनावमा रहेको प्राधिकरण स्रोत बताउँछ ।

मन्त्री–एमडी विवादको शुरूआत

तत्कालीन एमडी  कुलमान घिसिङ प्राधिकरणबाट हटेलगत्तै चैत १३ गते बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले ४ हजार ९६५ मेगावाटका ५४ जलविद्युत आयोजनाको विद्युत खरिद/बिक्री सम्झौता (पीपीए) खोल्ने निर्णय गर्‍यो । खड्का यो काम आफू मन्त्री भएलगत्तै गर्न चाहन्थे ।  

नयाँ एमडीका रूपमा प्राधिकरणमा शाक्य आएपछि बोर्डले पीपीए गर्ने निर्णय गरे पनि तत्काल सूचना सार्वजनिक भएन । ती आयोजनाको पीपीए गर्न आतुर मन्त्री खड्काले ‘तत्काल सूचना निकाल्न’ एमडी शाक्यलाई बारम्बार निर्देशन दिइरहे ।

तर, शाक्यले अर्थ मन्त्रालयको सहमतिविना सूचना निकाल्न नमिल्ने भन्दै समय लिए । यही कारणले मन्त्री र एमडीबीचको सम्बन्धमा दरार आउन शुरू भएको हो ।

स्रोतका अनुसार मन्त्रीले शाक्यलाई ‘दलाल’सम्म भन्न भ्याएका थिए । यसबारे बालुवाटारसम्म कुरा पुगेको थियो । प्रधानमन्त्री ओलीले विषयलाई गम्भीर रूपमा लिएको भन्दै मन्त्री खड्कालाई कार्यशैली सुधार्न चेतावनी समेत दिएको स्रोतको दाबी छ ।

त्यसपछि वैशाख १३ गते एमडी शाक्य अन्ततः पीपीएको सूचना जारी गर्न बाध्य भए ।

उनले ३० दिनको समय राखेपछि मन्त्री खड्का झन चिढिए । खड्का तत्काल सम्झौतामा पुग्न चाहन्थे । मन्त्रालय स्रोतका अनुसार त्यसपछि पनि शाक्यमाथि मन्त्रीले दबाब दिन छाडेनन् ।

कर्मचारी सरुवा प्रकरण: सूची पठाउने रनिर्देशन दिने

मन्त्री–एमडीबीचको दोस्रो ठूलो टकरावको मुद्दा कर्मचारी सरुवा बन्यो । मन्त्री खड्काले ४ सय जनाको सूची बुझाएर ‘जेठ मसान्तभित्रै’ सरुवा गर्न निर्देशन दिएका थिए ।

विनियमावलीअनुसार प्रक्रिया नपुगेको भन्दै एमडी शाक्यले ७० बाहेक अरू कर्मचारी सरुवा गर्न नमिल्ने जवाफ मन्त्रीलाई पठाए । घिसिङ एमडी हुँदा मालदार ठाउँबाट निकालिएका कर्मचारीहरूले पुनः त्यही ठाउँमा पुग्न मन्त्री खड्का र सचिव सुरेश आचार्यमार्फत लबिङ गरिरहेका थिए ।

उक्त लबिङ आजसम्म पनि जारी रहेको स्रोतको दाबी छ ।  

‘आफूले भनेअनुसार नभएपछि मन्त्री खड्काले एमडी शाक्यलाई शुरूमा असार १५ सम्मको अल्टिमेटम दिएका थिए । त्यसबीचमा पनि उनले दिएको कर्मचारीको लिस्ट सरुवामा नपरेपछि साउन मसान्तसम्मको समय दिएका छन्,’ स्रोतले लोकान्तरसँग भन्यो ।

‘साउन मसान्तसम्म मैले दिएको लिस्ट कार्यान्वयन नभए देखाइदिन्छु,’ मन्त्री खड्काको भनाइ उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो । यो सरुवामा संस्थागत प्रशासनभन्दा बढी मन्त्रीको निजी सन्तुलन मिलाउने प्रयास हावी रहेको स्रोतले बतायो ।

मन्त्री खड्काले बोर्डमार्फत कर्मचारी विनियमावलीको १२औं संशोधन पनि गराए । उक्त संशोधनमा एमडीको सरुवा अधिकार खोस्ने व्यवस्था गरियो ।

एमडीलाई ‘ठीक पार्न समिति’ !

शाक्यले मन्त्रीको निर्देशन पालना नगरेपछि सञ्चालक समितिको १००२ औं बैठकले रतन ऐरको संयोजकत्वमा एक उपसमिति गठन गर्‍यो । उक्त उपसमितिको उद्देश्य थियो- कार्यकारी निर्देशकको सेवा सुविधा र अधिकार कटौती गर्न नयाँ मापदण्ड बनाउने ।

मन्त्रीकै चाहनामा गठन भएको यो उपसमिति एमडी शाक्यलाई ‘ठीक पार्ने’ नियतबाट प्रेरित थियो । उपसमिति बन्यो, तर केही अधिकारीले हस्ताक्षर गर्न मानेनन् । पछि मन्त्रालयमा थर्काएर सहमति गराइयो ।

स्रोत भन्छ, ‘शाक्यले मानेनन् भने अधिकार खोस्ने, नियम फेर्ने र विनियमावली लोकसेवामा पठाउने रणनीति बनाइयो । तर, लोकसेवा आयोगले समेत संशोधनको सहमति नदिएपछि त्यो प्रस्ताव रोकिएको छ ।’

धानखेतमा पीपीए ?

यसबीचमा ऊर्जामन्त्री खड्काले ‘ग्रीड कनेक्टेड वैकल्पिक ऊर्जा कार्यविधि, २०७८’ संशोधन गरेर करिब ८ सय मेगावाटको सौर्य ऊर्जाको पीपीए गर्न खोजे ।

कतिपय लाइसेन्स धान फल्ने खेतमा समेत दिइएको पत्ता लाग्यो । एमडी शाक्यले यसको कार्यान्वयन गर्न चाहेनन् । पछि बालुवाटारबाटै ‘पीपीए नगर्न’ भन्दै निर्देशन आएको स्रोतको दाबी छ । त्यसपछि मन्त्री  झन् क्रुद्ध भए ।

सौर्य आयोजनामा नियमनभन्दा व्यक्तिगत पहुँच र राजनीतिक स्वार्थ जोडिएको आशंकामा शाक्य यो प्रक्रियामा सहभागी हुन चाहेनन् । त्यसपछि शाक्यसँग मन्त्री खड्काको झनै दूरी बढेको हो ।

विवाद चर्कंदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एमडी शाक्यलाई बालुवाटारमा बोलाएर कसैले दबाब दिँदैमा गलत काम नगर्नू भनेर सम्झाएका थिए ।

स्रोतले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भन्यो, ‘रिजल्टचाहिँ दिनुपर्छ, तर प्राधिकरणलाई तपाईं आफ्नो हिसाबले चलाउनुहोस् । कसैले हस्तक्षेप गर्छ भने म त्यो हुन दिन्नँ ।‘

ट्रेड युनियनको प्रतिरोध

मन्त्रीको हस्तक्षेपको प्रतिवाद प्राधिकरणभित्रबाटै शुरू भयो ।

प्राधिकरणका चारवटा ट्रेड युनियन– कर्मचारी संघ, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कल्याण परिषद मन्त्रीले सरुवाका लागि दिएको निर्देशनविरुद्ध उभिए ।

उनीहरूले प्रबन्ध निर्देशकलाई अधिकार दिइएको अवस्थामा मात्र बोर्ड बैठक चल्न दिने चेतावनी दिए ।

ट्रेड युनियनको प्रतिरोधपछि मन्त्री आफैं वार्तामा सहभागी हुन बाध्य भए र १२औं संशोधन तत्काल कार्यान्वयन नगर्ने सहमति भयो ।

त्यसपछि बसेको सञ्चालक समितिको बैठकमा कर्मचारी सेवाशर्त नियमावली २०७५ मा भएको १२ औं संशोधन तत्काल कार्यान्वयन नगर्ने र त्यस विषयमा अध्ययन गर्न ऊर्जा सचिव सुरेश आचार्य र प्राधिकरण सञ्चालक समिति सदस्य बलबहादुर पराजुलीसमेतको समिति गठन गर्ने निर्णय गरियो ।

भनेजस्तो नभए वार्षिकोत्सवमै सहभागी नहुने मन्त्रीको चेतावनी

पछिल्लो समय आफूले भनेकोजस्तो नभए बजेट पास गर्न नदिने चेतावनीसमेत मन्त्री खड्काले दिएका छन् ।

विवाद बढ्दै गएपछि मन्त्री खड्काले पछिल्लो समय एमडी शाक्यलाई बाइपास गरेर प्राधिकरणअन्तर्गत सञ्चालन भएका प्रत्येक आयोजनाका प्रमुखहरूसँग सिधै कुरा गर्ने र आफ्नो पक्षका डेपुटी कार्यकारी निर्देशकहरूलाई बोलाएर निर्देशन दिने गरेका छन् ।

गत बुधवार बसेको सञ्चालक समितिको बैठकमा मन्त्री खड्काले साउनभित्र कर्मचारीहरूको सरुवा नगरे भदौ १ गते आयोजना हुने प्राधिकरणको वार्षिकोत्सवमै आफू नआउने चेतावनी दिएको स्रोतको दाबी छ ।

यसमा सचिव सुरेश आचार्यले मन्त्री खड्कालाई साथ दिइरहेका छन् ।   

निर्देशनलाई हस्तक्षेप भन्न मिल्दैन – मन्त्रीको सचिवालय

यता ऊर्जामन्त्री खड्काको सचिवालयले भने मन्त्रीको निर्देशनलाई हस्तक्षेप भन्न नमिल्ने जिकिर गरेको छ ।

‘चेन अफ कमान्ड पालना गर्नुपर्‍यो नि ! मन्त्री यत्तिकै हात बाँधेर बस्ने त होइन होला । ऊर्जा क्षेत्र संकटमा जाँदा सबैभन्दा पहिला त मन्त्री कै नाम आउने होला । काम गर्न दिएको निर्देशनलाई हस्तक्षेप भन्न उपयुक्त हुँदैन ।’

हामीले कर्मचारी सरुवामा बढी चासो किन देखाएको हो ? भनेर पनि सोधेका थियौं ।

मन्त्री खड्काको सचिवालयले भन्यो, ‘लामो समयदेखि बिग्रँदै आएको प्राधिकरणको अवस्था सुधार गर्ने एउटा उपाय काम गर्ने कर्मचारीलाई काम गर्ने ठाउँमा ल्याउनु पनि हो । मन्त्रीज्यूले लामो अध्ययन गरेपछि मात्र सरुवाको विषयमा चासो राख्नुभएको हो । अतिरिक्त लाभका लागि सरुवामा चासो राखेको कुरा आरोप मात्र हो ।’

salt training

कमेन्ट गर्नुहोस्