
प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको सिफारिस सूचीविरुद्ध उजुरी परेको छ । संसद् सचिवालयमा कार्यरत एसपी विमल बस्नेतले बढुवा सिफारिसविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।
अमेरिका घुम्न गएका बस्नेतले अनलाइनमार्फत उजुरी दिँदै आफू सिनियर हुँदाहुँदै बढुवामा किन छुटाइयो ? भनेर प्रश्न गरेका छन् ।
बढुवा सिफारिसको सूचना सार्वजनिक भएको मितिले सात दिनभित्र उजुरी गर्न सकिने व्यवस्था प्रहरी नियमावली २०७१ मा व्यवस्था छ ।
यही साउन ५ मा गृहसचिव अध्यक्ष रहने बढुवा सिफारिश समितिले ११ जना एसपीलाई बढुवाका लागि सिफारिस गर्दा एक नम्बरमा रहेका बस्नेतलाई छुटाइएको थियो ।
बढुवा समितिले एसपीहरू तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुँयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाललाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो । उजुरी नपरेको भए मंगलबार दर्ज्यानी चिह्न लगाउने कार्यक्रम थियो ।
२०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा इन्सपेक्टरको रूपमा प्रवेश गरेका बस्नेत नेपाल प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन् । हाल बढुवा सिफारिसमा परेकाहरू भने २०५८ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका अधिकृत हुन् ।
‘मभन्दा पाँच वर्ष जुनियर प्रहरी अधिकृत बढुवा हुँदा मलाई किन छुटाइयो ?,’ उजुरीमा बस्नेतले भनेका छन्, ‘पुरानो कारबाही देखाएर अहिले बढुवा रोक्न मिल्छ ?’
प्रहरी प्रधान कार्यालयका अनुसार बस्नेत यसअघि कर्णाली प्रदेशको ट्राफिक प्रमुख हुँदा आर्थिक अनियमिततामा मुछिएका थिए ।
छानबिन समितिको सिफारिसका आधारमा पाँच वर्षसम्म उनको बढुवा रोक्का गरिएको थियो । बढुवा रोक्काको अवधि सकिएपछि पनि आफूलाई बढुवामा छुटाइएको आरोप बस्नेतको छ ।
एसपी बस्नेतको उजुरीमाथिको कारबाहीमा १५ दिन लाग्ने भएपछि बढुवा सिफारिस भएकाको निर्णय समेत धकेलिएको छ ।
उनी २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा इन्सपेक्टरमै प्रवेश गरेका हुन् । नेपाल प्रहरीमा २०५३ मै इन्सपेक्टर भएका दानबहादुर कार्की अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् । राअविबाटै बस्नेतसँगै नेपाल प्रहरीमा प्रवेश गरेका ओम राना अहिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) छन् । आफ्ना ब्याचीहरू डीआइजी र एआईजी भइसक्दा पनि आफूलाई अन्यायवश पटक–पटक बढुवामा छुटाइएको गुनासो बस्नेतको छ ।
गृहसचिव गोकर्णमणि दुवाडी सोमबारै थाइल्यान्ड प्रस्थान गरेका छन् । उनी शुक्रबार नेपाल फर्कनेछन् । त्यसपछि मात्रै उजुरीउपरको राय उजुरी सुन्ने समितिलाई दिने तयारी गृह मन्त्रालयको छ ।
गृहका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव छविराज रिजालले एसपी बस्नेतले उजुरी दिएको पुष्टि गरे । उनले लोकान्तरसँग भने, ‘उजुरी आएको हो, अब त्यसउपर उजुरी सुन्ने समितिले निर्णय गर्ला ।’
बस्नेतको उजुरीमाथि कसरी अघि बढ्छ सुनुवाइ ?
प्रहरी नियमावली २०७१ को नियम ४२ उपनियम १ मा बढुवा उजुरीसम्बन्धी व्यवस्था छ । उक्त व्यवस्थामा लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा तीन सदस्यीय ‘बढुवा उपर उजुरी सुन्ने समिति’ रहेन उल्लेख छ । दुई सदस्यमा मुख्यसचिव र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव रहने व्यवस्था छ ।
‘नियमावलीको बढुवाउपरको उजुरी सुन्ने समितिले उपनियम (१) बमोजिम उजुरी प्राप्त भएपछि उजुरी गर्ने म्याद सकिएको भोलिपल्ट बढुवा समितिको राय प्रतिक्रिया र उजुरीसँग सम्बन्धित कागजात पठाउन बढुवा समितिको सचिवालयमा लेखी पठाउनु पर्नेछ,’ नियमावलीमा भनिएको छ, ‘त्यसरी लेखी आएमा सम्बन्धित बढुवा समितिको सचिवालयले तीन दिनभित्र आफ्नो राय प्रतिक्रियासहित उजुरीसँग सम्बन्धित कागजात उजुरी सुन्ने समितिमा पठाउनु पर्नेछ ।’
उजुरीमाथि १५ दिनभित्र छिनोफानो भइसक्नुपर्ने व्यवस्था नियमावलीमा छ । तर, उजुरी झुटो ठहरिएमा उजुरीकर्ताको बढुवाको २ अंक काटिने छ ।