२३ जेठ २०८३, शनिबार
कृष्ण सिटौलासँग संवाद

देउवाजीले सभापतिको उम्मेदवार अगाडि सार्ने होइन, हामीले सारेकोलाई समर्थन गर्ने हो: सिटौला [अन्तर्वार्ता]

साउन १३, २०८२
काठमाडौं
देउवाजीले सभापतिको उम्मेदवार अगाडि सार्ने होइन, हामीले सारेकोलाई समर्थन गर्ने हो: सिटौला [अन्तर्वार्ता]

नेपाली कांग्रेस १५ औं महाधिवेशनको वर्षमा छ । अब ढिलोमा २०८३ मंसिरसम्म महाधिवेशन हुनुपर्ने स्थिति छ । नेताहरूले पार्टी नेतृत्वका लागि दाबेदारी दिन थालिसकेका छन् । लगातार दुईपटक पद सम्हालेपछि सभापतिमा शेरबहादुर देउवाले विधानतः दाबेदारी पेश गर्न पाउँदैनन् । यसैले कांग्रेसले नयाँ अनुहारको सभापति पाउने पक्का छ । तर, संस्थापन र इतर पक्षबाट को उम्मेदवार होला र कसले बाजी मार्ला भन्ने बहस शुरू भइसकेको छ । यस्तोमा सभापतिले कसलाई उम्मेदवारमा अगाडि सार्लान् भन्नेमा पनि उत्तिकै चासो छ । कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अब सभापतिको उम्मेदवार देउवाको होइन, आफूहरूको रोजाइको हुनुपर्ने दाबी गर्छन् । कांग्रेसको आन्तरिक जीवन र महाधिवेशनकेन्द्रित राजनीतिबारे लोकान्तरका लागि रमेश सापकोटाले सिटौलासँग गरेको कुराकानी : 

नेपाली कांग्रेस महाधिवेशनको वर्षमा छ । तर, क्रियाशील सदस्यता नवीकरणको समय पटक–पटक थपिँदा पनि सकिने छाँट छैन । यस्तोमा महाधिवेशन धकेलिँदै जाने स्थिति आएको हो ?

पार्टीका सबै तहको कार्यकाल आउँदो मंसिरमा चार वर्ष हुन्छ । चार वर्षभित्र महाधिवेशनको कुनै तयारी केन्द्रीय कार्यालयले गरेको छैन । क्रियाशील सदस्य नवीकरण असोज मसान्तसम्म टुंग्याउने भन्ने भर्खरैको केन्द्रीय समितिको निर्णय छ । अब त्यसपछि नयाँ क्रियाशील सदस्यता वितरणको शुरूआत हुन्छ । यो सबै टुंगिसकेपछि र त्यसमा भएका विवादलाई पनि निरुपण गरिसकेपछि मात्रै महाधिवेशन हुने हो । सामान्य यो ढंगले हेर्दा, विश्लेषण गर्दा पार्टीको महाधिवेशन अब ८३ सालको मंसिरभित्र हुने लक्षण छ । त्यतिञ्जेलमा चाहिँ गर्नुपर्छ भन्ने हाम्रो विचार हो ।

क्रियाशील सदस्यताको विषयचाहिँ अनुशासनको कारबाहीसँग बढी जोडियो, त्यसैले सदस्यता टुंगिएन भन्ने बहस नै पार्टीमा देखिएको होइन ?

यस्तो होइन । अनुशासन समितिले निर्णय नगरेका कारण क्रियाशील सदस्यको नवीकरण नटुंगिएको होइन । क्रियाशील सदस्य नवीकरण गराउनतर्फ केन्द्रीय कार्यालयले जुन प्रकारको सजगता अपनाउनुपर्थ्यो, केन्द्रीय पदाधिकारीहरूले त्यो नअपनाएका कारण यो नवीकरण ढिलाइ भएको चाहिँ हो । अब अनुशासन समितिले भर्खरै निर्णय गरेको छ । त्यो निर्णयमाथि चित्त नबुझ्नेले त केन्द्रीय कार्यसमितिमा पुनरावेदन गर्ने व्यवस्था छ नि त । उजुरी, पुनरावेदन इत्यादि आयो भने केन्द्रीय कार्यसमितिको बैठकले पुनर्विचार गर्छ । पुनर्विचार गर्दाखेरी जे उपयुक्त हुन्छ, त्यही निर्णय गर्छ नि त ! हामी के चाहन्छौँ भने यो पार्टीभित्र अनुशासन पनि होस्, अन्याय पनि कसैलाई नहोस् । पार्टी र हामी सबै नेताको धारणा यही हो ।

चार वर्षमै महाधिवेशन गर्न किन नसकिएको हो ?

कार्यकाल चार वर्ष, एक वर्ष म्याद थप्ने व्यवस्था छ । त्यो म्याद थपेर पाँच वर्षभित्रमै गर्ने चाहिँ विगतदेखि प्रचलन जस्तै छ । नवौं, दशौं, एघारौं, बाह्रौं, तेह्रौं, चौधौं सबै महाधिवेशन पाँच वर्षमै भएका छन् । एक वर्ष थप्ने सुविधा सबै सभापतिहरूको कार्यकालमा प्रयोग भएकै छ । अहिले पनि त्यो प्रयोग हुने अवस्था छ । तर, के भने ८३ सालको मंसिरभन्दा उताचाहिँ लैजानुहुँदैन । त्यहीभित्र गर्नुपर्छ भन्ने मेरो आफ्नो विचार हो ।

null

यहाँहरूको विचार यस्तो छ, तर यो चुनावपछाडि गरौं भनेर पनि केही नेताहरूले बोलेको सुनिन्छ । सभापतिले समेत बेलाबेलामा त्यस्तो संकेत गर्नुभएको छ नि ?

होइन, सभापतिजीले त्यो कुरा बोल्नुभएको छैन । केही साथीहरूले उहाँलाई सुझाव दिएकोचाहिँ हो । ८४ को यो आमनिर्वाचनपछि नै गर्ने गरी सकिन्न ? भनेर उहाँलाई केही साथीले भन्नुभएछ । तर, त्यसरी जाँदाखेरि त पार्टीमाथि धेरै प्रश्नहरू खडा हुन्छन् । एक त यसै पनि आज पनि हाम्रो पार्टीभित्र अनेक समस्या छन् । अनेक गुटहरू भए भन्ने प्रश्न उठेकै छ, हैन ? त्यसकारण त्यति पर धकेल्ने खालको विचार हामी कसैले राख्नु हुँदैन । सभापतिले त्यस्तो कुरा उठाउनुभएको छैन । सभापतिलाई कुनै साथीले भनेको कुरा सुनाउनुभएको मात्रै हो ।

केही विकल्प जस्तै: कुनै साना दलसँग एकता गर्‍यो भनेदेखि चाहिँ चुनावपछि महाधिवेशन सार्ने बहाना मिल्छ भन्ने मत पनि देखिएको छ, होइन ?

म त्यस्तो सम्भव देख्दिनँ । त्यस्तो गर्ने चाहना कांग्रेसका कुनै नेताको पनि छैन ।

गत महाधिवेशनदेखि बहुपदमा जाँदा पदाधिकारीले काम नै पाएनन् । दुई–दुई उपसभापति र महामन्त्री र ८ सहमहामन्त्रीको संख्या घटाउनुपर्छ भन्ने मत बढेको हो ?

सह–महामन्त्रीहरूलाई विशेष जिम्मेवारी तोकिनुपर्ने हो । त्यो सहमहामन्त्रीलाई विशेष जिम्मेवारी नदिँदा उहाँहरूको भूमिका जति हुनुपर्थ्यो, त्यो हुन सकेन, त्यो चाहिँ यथार्थ कुरा हो । अब सभापति, उपसभापति, महामन्त्री र सह–महामन्त्रीहरू सबै नै हाम्रो पार्टीको विधानबमोजिम सबभन्दा माथिल्लो तह मानिन्छ । उहाँहरू संसदीय बोर्डको पनि पदेन सदस्य हो । संसदीय बोर्डको पदेन सदस्यहरू सहमहामन्त्रीहरू भएको कारणले उहाँहरूलाई विशेष भूमिका पार्टी संगठन निर्माणको अथवा सरकार सञ्चालनको अथवा भ्रातृ संस्थाहरू, शुभेच्छुक संस्थाहरू सञ्चालनको यस्ता विविध कार्यक्रमहरू दिनुपर्ने हो । अहिले भ्रातृ संस्थाहरूको अधिवेशन गराउनका लागि केही सहमहामन्त्रीलाई संयोजक बनाइएको छ । अब उहाँहरूको पर्फर्मेन्स नि हेर्नु छ । उहाँहरूलाई पार्टीले जुन भ्रातृ संस्थाको अधिवेशन गर्ने जिम्मेवारी दिएको छ, त्यसमा उहाँहरूले संयोजकको जिम्मेवारी कत्तिको पूरा गर्न सक्नुहुन्छ, त्यसबाट उहाँहरूको क्षमताको मूल्यांकन पार्टीले गर्ने अवसर त पाउँछ नै ।

एमालेले बहुपद घटाउने निर्णय गर्‍यो । कांग्रेसमा पदाधिकारी घटाउन आवश्यक छैन भन्ने हो ?

मेरो विचारमा आजका दिनमा पार्टीको पद घटाउने अथवा बढाउने चर्चा गर्नु नै बेकार हुन्छ । यो जे छ, त्यसैमा जानुपर्छ । त्यसैलाई बढी जिम्मेवार बनाएर, बढी एक्टिभ गराएर जानु उपयुक्त हो । 

काम नै भएनन् भन्ने होइन, तर खास गरिकन दुई तीनवटा कुरा हुन सकेन । एउटा भ्रातृ संस्थाहरूलाई समयमा अधिवेशनमा पुर्‍याउन सक्नुपर्थ्यो, त्यो गर्न सक्नुभएन । अब अहिले फेरि अन्तिमपटक भनेर जिम्मेवारी दिइएको छ । यसको मूल नेतृत्व गर्ने जिम्मेवारी सहमहामन्त्रीहरूलाई नै दिइएको छ फेरि पार्टीले निर्णय गरेर । अब यो उहाँहरूका लागि सायद अन्तिमपटकै होला ।

जिम्मेवारी पाएका नेताहरूचाहिँ आफ्नो तयारीका लागि महाधिवेशनको दौडधुपमा हिँडे, सदस्यता टुंग्याउन हिँडेनन् भनेर यहाँले भाषण र आन्तरिक बैठकमा पनि बोल्दै आउनुभएको थियो, होइन ?

भाषण त होइन, मेरो सुझाव हो । कार्यसमितिमा पनि भनेको छु, तपाईं पदाधिकारीहरूले त सिंगो पार्टी लिएर हिँड्नुपर्छ, तपाईंहरूले गुट लिएर हिँड्ने होइन भनेर । पदाधिकारीका लागि त पार्टीका सबै केन्द्रीय सदस्य, अन्य सबै साथीहरू बराबर हुन्छन् नि ! त्यसकारणले पार्टीलाई जनतासमक्ष लिएर जाने खुला कार्यक्रमहरू ल्याउनुस् भनेको हुँ । चार वर्ष भइसक्यो, अहिलेसम्म नेपाली कांग्रेस पार्टी निर्वाचनपछि जनतामा खुला तरिकाले जाने, आमसभा गरेर जाने, र्‍याली गरेर जाने काम गरेन । जनतासँग प्रत्यक्ष संवाद गरेर जाने कार्यक्रमहरू आउन सकेन, जसले गर्दा कांग्रेसमाथि जनतामा अनेकौं प्रश्नहरू खडा भए, त्यसको जवाफ दिन पनि पाइएन । त्यस प्रकृतिको कार्यक्रम ल्याउनुस् भनेर भनेका छौँ । हरेकपटकको कार्यसमितिमा यो कुरा उठाएको छौं । स्पेसल्ली अझ मैले नै उठाएको छु । नौ–दश महिनाअगाडिको केन्द्रीय कार्यसमितिको बैठकमा कुरा उठाएँ । गएको हिउँदपछि गर्ने भनेर पदाधिकारी साथीहरूले जवाफ दिनुभयो । फेरि अहिले अस्तिको बैठकमा कुरा उठाएको छु । अब बर्खापछि भन्नुभएको छ । हेरौँ, बर्खापछि कार्यक्रम आउँछ कि आउँदैन ।

भनेको कार्यकालको अन्तिमतिर, अर्थात् चार वर्ष पुग्न लाग्दा पनि अहिलेका पदाधिकारीको टीमले अपेक्षित काम गर्न सकेन भन्ने मत हो ?

काम नै भएनन् भन्ने होइन, तर खास गरिकन दुई तीनवटा कुरा हुन सकेन । एउटा भ्रातृ संस्थाहरूलाई समयमा अधिवेशनमा पुर्‍याउन सक्नुपर्थ्यो, त्यो गर्न सक्नुभएन । अब अहिले फेरि अन्तिमपटक भनेर जिम्मेवारी दिइएको छ । यसको मूल नेतृत्व गर्ने जिम्मेवारी सहमहामन्त्रीहरूलाई नै दिइएको छ फेरि पार्टीले निर्णय गरेर । अब यो उहाँहरूका लागि सायद अन्तिमपटकै होला । भ्रातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गराउने अन्तिम जिम्मा होला । अब त्यसपछि पार्टीको सिद्धान्त, नीति, कार्यक्रम लिएर, पार्टीलाई एकताबद्ध गरेर, पार्टीका सबै नेताहरू उपस्थित हुनेगरी ७७ वटै जिल्लामा विविध कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । खुला कार्यक्रम गर्नुपर्छ । आन्तरिक कोठे कार्यक्रम होइन, खुला कार्यक्रम सडकमा गर्दा जनतालक्षित हुन्छ ।

null

यो बीचमा पार्टीले अभियान त गर्‍यो नि...

त्यो त आन्तरिक कार्यक्रम हो । अहिलेसम्म जति कार्यक्रम भए, ती पार्टीका आन्तरिक कार्यक्रम मात्रै हुन्, बाह्य कार्यक्रम भएका छैनन् । जबसम्म बाह्य कार्यक्रम हुँदैनन्, खुला मञ्चमा सभाहरू गरिँदैनन्, तबसम्म जनतामा हाम्रो कुरा कसरी पुग्छ त ?

नयाँ चुनौती आए भनेर खुला कार्यक्रम आवश्यक परेको हो ?

हामीले भन्नुपर्छ, संविधान जारी भएपछि यताका वर्षमा अहिलेसम्म हामीले के गर्‍यौं ? जनतालाई कति उपलब्धि भयो ? के गर्न सकेनौं ? किन सकेनौं ? के गल्ती गर्‍यौं ? गल्ती गर्‍यो भने अब कसरी सच्याउँछौं ? यी सबै कुरा त जनतालाई भन्नुपर्छ । यो जनताको अधिकार हो । निर्वाचनद्वारा अहिलेसम्म जनताले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएका छन् । आम निर्वाचनमा, स्थानीय तहमा, प्रदेशमा, केन्द्रीय तहमा नेपाली कांग्रेस नै सबैभन्दा ठूलो पार्टी छ । सबैभन्दा ठूलो पार्टीको जिम्मेवारी नै हुन्छ । जनताप्रति सबभन्दा ठूलो जवाफदेहिता कांग्रेसकै छ । त्यसकारण नेपाली कांग्रेस पार्टी त्यो कार्यभार पूरा गर्न जनताको माझमा जानुपर्छ भन्ने मेरो मत हो । अब हेरौं, अब बर्खापछि कार्यक्रम आउँछ भन्नुभएको छ साथीहरूले । पदाधिकारी साथीहरूले कार्यक्रम ल्याउनुहोला र जनतासँग जाउँला भनेर बसेको छु ।

तपाईं आफैं संविधान निर्माणको धेरै पक्षसँग जोडिनुभएको छ । यो संविधान संशोधनको विषयमा चाहिँ तपाईंको मत के हो ?

संविधान संशोधन गर्ने भनेर सात बुँदे सहमतिमा नेपाली कांग्रेस र एमालेका नेताहरूको हस्ताक्षर छ । अहिलेको सरकार बन्ने सन्दर्भमा, सात बुँदामध्ये एउटा बुँदा संविधान संशोधनसँग सम्बन्धित छ । मेरो सुझाव– संविधान कार्यान्वयनको समीक्षा गरौं, अनि पहिले जहाँनेर आवश्यक छ, त्यहीँ मात्र संशोधन गरौं भन्ने हो । कांग्रेस र एमालेसँग मात्रै संशोधन गर्न सक्ने संख्या छैन । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा दुईतिहाइ चाहिन्छ । आजका दिनमा राष्ट्रिय सभामा अब बहुमतै नपुग्ने स्थिति बनेको छ । त्यसकारण नेपाली कांग्रेस र एमालेले संविधान संशोधनका लागि एउटा कार्यदल गठन गर्नुपर्छ । त्यस्तो कार्यदल सरकारले नै गठन गरे जाती हुन्छ । कांग्रेस र एमालेको शीर्ष तहले सल्लाह गरेर संविधान कार्यान्वयनको समीक्षा गर्ने, त्यसको आधारमा संशोधन गर्ने भनेर एउटा कार्यदल नै गठन गर्नुपर्छ । त्यसले अन्य पार्टीसँग पनि छलफल गरेर के–के विषयमा संशोधनको आवश्यक हुन्छ भनेर सहमति गर्नुपर्छ । त्यो विषयमा छलफल गर्नुपर्छ । पहिले समीक्षा गर्ने त्यसपछि संविधान संशोधनमा जानुपर्छ ।

संविधान अभ्यासमा आएको १० वर्षको अनुभवपछि के–के कुरामा रिभ्यु गर्ने भनेर प्रस्ट विषय बाहिर ल्याइएन, किन होला ?

एउटा त संविधानले नै भन्छ, १० वर्षमा पुनरवलोकन गर्नुपर्छ । जति पनि जातीय आयोगहरू छन्, तिनीहरूको काम, कर्तव्य र अधिकारका सम्बन्धमा रिभ्यु गर्नुपर्छ । ती आयोगहरूलाई संवैधानिक आयोग बनाएर काम, कर्तव्य र अधिकार संविधानले दिएबापत कति उपलब्धि भयो ? जनताको पक्षमा कति काम भए ? त्यसको समीक्षा गर्नुपर्छ । पुनरवलोकन गर्नुपर्छ । अथवा, अधिकार पुग्यो वा पुगेन भन्ने विषयमा छलफल गर्नका लागि एउटा पुनरावलोकन त आवश्यक भइसक्यो । यो त संविधानकै व्यवस्था हो । तर अब यतिमात्रै गरेर पुग्दैन । हामीले समग्रमा नै, संसदले गरेको कार्य, सरकारले गरेको कार्य, न्यायपालिकाले गरेको कार्य, त्यसैगरी अन्य संवैधानिक निकायहरूले गरेको कार्य समग्रको एकपटक मूल्यांकन गर्नुपर्छ ।

ठ्याक्कै यो–यो विषयमा संशोधन गर्नुपर्छ भन्न सकिँदैन ?

यो विषयमा मात्रै संविधान संशोधन भनेर अहिले ठ्याक्कै भन्न मिल्दैन । त्यो रिभ्युपछि मात्रै बोध गरिने कुरा हो । कम्तीमा म चाहिँ अहिले यो–यो विषयमा संशोधन गर्नुपर्छ भनेर विषय नै भन्न आवश्यक ठान्दिनँ ।

null

अब अलिकति प्रसंग बदलौं, १५ औं महाधिवेशनको तयारीमा यहाँहरू छ–सात जना नेताहरू नियमित बसिराख्नुभएको छ । यसरी बस्नुको उद्देश्य के हो ? यस समूहको नेता को हो ?

हामी सात जना मात्रै होइनौं, पहिले त अझ धेरै थियौं । ११ जनासम्म पनि पुग्यौं । कहिले कुन साथीले बोलाउनुहुन्छ, कहिले कुन साथीले बोलाउनुहुन्छ, चिया खाने काम भएको छ । तर, त्यहाँ छलफल हुने विषयचाहिँ आगामी महाधिवेशनको मात्रै हुँदैन । देशको समसामयिक राजनीति कसरी अगाडि बढिराखेको भनेर छलफल गर्छौं । पार्टी संघ र प्रदेशमा सरकारमा बसेर के कसरी काम गरेको छ भनेर समीक्षा गर्दै आएका छौं । ठूलै संख्यामा कांग्रेसबाट स्थानीय सरकार बनेका छन् । उनीहरूको क्रियाकलापबाट कति उपलब्धि भयो वा भएन, त्यसको पनि समीक्षा गर्छौं । यस्ता समीक्षा संक्षिप्तमा भएका छन् । संविधान कार्यान्वयनको बारेमा पनि जे–जति हामीले बुझेका छौं, आपसमा विचारको विनिमय हुन्छ ।

त्यसपछि के आगामी महाधिवेशनको बारेमा त स्वाभाविक रूपले छलफल हुने नै भयो,  किनकि अब यो महाधिवेशनको वर्ष शुरू भयो । चौथो वर्ष भनेको अन्तिम वर्ष हो ।

तपाईं आफैंले नेतृत्वको सवालमा सात भाइभन्दा बाहिर पनि जान सक्छौँ भन्नुभयो नि, यहाँले भन्न खोजेको ठ्याक्कै के हो ?

शेरबहादुर देउवाजीलाई गएको महाधिवेशनमा सघाउने त हामी सात पूर्वपदाधिकारी मात्रै होइन नि, अरू पनि साथीहरू छन् । अरू पनि त वरिष्ठ साथीहरू हुनुहुन्छ । त्यसको अर्थ पदाधिकारी पनि होलान्, सदस्य मात्रै पनि होलान् । ती सबै साथीहरूलाई चाहिँ मिलाएर हिँड्ने जिम्मेवारी तपाईंको हो भनेर सभापतिलाई भारी बोकाएका छौँ ।

त्यसो भन्दै गर्दा सभापतिमा दाबेदारी पेश गरिरहेका शेखर कोइराला वा गगन थापा पनि हो कि भनेर अर्थ्याइयो भने ?

उहाँहरूले गत महाधिवेशनमा शेरबहादुरलाई सघाउनुभएको थियो भने त हो, होइन भने अब आफै बुझ्नुस् न ।

अनि ती सात नेताहरूले इन्डिभिजुअल म नै दाबेदार भनेर सभापतिलाई भन्नुभएको छ ?

हाम्रो आ–आफ्नो दाबेदारी ‘नेचुरल राइट’ जस्तै हो । प्राकृतिक अधिकार भन्छ नि ! गएको अधिवेशनमा जसले सहयोग गर्‍यो, तिनीहरूलाई नै सभापतिले सहयोग गर्नुपर्छ भन्ने हामीले प्राकृतिक अधिकारको कुरा गरेको हो । 

शेखरजीको दाबेदारी स्वाभाविक हो । गएको महाधिवेशनमा उहाँ अल्टरनेटिभ उम्मेदवारको रूपमा स्थापित हुनुभएको छ । उहाँले दोस्रो बढी भोट ल्याउनुभएको हो । उहाँ र गगन एउटै टीमबाट उठ्नुभएको थियो । अहिले गगनहरूको बारेमा म धेरै टिप्पणी गर्न उपयुक्त ठान्दिनँ ।

सभापतिले तपाईंहरूको इच्छा पूरा गर्दिनुहुन्छ त ?

उहाँले के गर्नुहुन्छ, उहाँको इच्छा हो नि ! हाम्रो चाहिँ इच्छा दाबेदारी हो ।

यहाँहरू बीचबाटै कोही एक जनालाई अगाडि सार्ने समझदारी छ कि छैन ? कि सभापतिले जसलाई तोक्दिनुहुन्छ, त्यही स्वीकार्नका लागि तयार हुनुभएको हो ?

त्यस्तो होइन । हामी त आपसमा छलफल गर्दैछौं । छलफल, विश्लेषण गरेर पार्टी संगठनमा कसलाई अगाडि सार्दा उपयुक्त हुन्छ, त्यो विचार गर्छौं ।

तपाईंहरू सातमध्ये कुनै एक जनालाई अगाडि सार्न समस्या छैन ?

छैन, छैन । त्यस्तो विवाद गरेकै छैनौं । हामी अहिले भेला र छलफल मात्रै गर्दैछौं ।

सबै त उम्मेदवार हुँदैनन्, अन्तिममा एक जना मात्र अगाडि बढ्नुपर्ने हुन्छ । यस्तोमा तपाईंहरूमै मनुमुटाव आउँदैन ?

मलाई लाग्छ, समस्या नहुनुपर्ने हो । हेरौं न भविष्यमा । राजनीति हो, अब राजनीतिक संगठनको कुरा हो, नेपाली कांग्रेसको कुरा हो । आज जे सोचिन्छ, भोलि त्यही हुन्छ भन्ने पनि छैन, होइन र ?

तपाईं आफ्नै चाहिँ के छ योजना ?

त्यो त बेला आएपछि बोलौँला नि, किन हतार गर्नु र ! बेला आएपछि तपाईंहरूलाई बोलाएरै घोषणा गर्छु । महाधिवेशनको कार्यतालिका बनेपछि मात्रै बेला हुन्छ भन्ने मेरो आफ्नो मान्यता छ ।

अरू नेताहरूले भाषण गरेरै सभापतिको तयारी गरिसके । शेखर कोइराला र गगन थापाले हामी दाबेदार हौं भनिसके नि ?

शेखरजीको दाबेदारी स्वाभाविक हो । गएको महाधिवेशनमा उहाँ अल्टरनेटिभ उम्मेदवारको रूपमा स्थापित हुनुभएको छ । उहाँले दोस्रो बढी भोट ल्याउनुभएको हो । उहाँ र गगन एउटै टीमबाट उठ्नुभएको थियो । अहिले गगनहरूको बारेमा म धेरै टिप्पणी गर्न उपयुक्त ठान्दिनँ ।

तपाईं आफैं १३ औं महाधिवेशनमा सभापति र गगन महामन्त्रीको उम्मेदवार बन्नुभएको थियो । टीम एउटै थियो । अहिलेचाहिँ कस्तो छ गगन थापासँग यहाँको सम्बन्ध ?

मेरो सबैसँग ठीक छ सम्बन्ध । कसैसँग मेरो सम्बन्ध बिग्रेको छैन । सबैसँग राम्रो छ । यो पार्टीभित्र सबैसँग राम्रो सम्बन्ध हुने शायद मै हुँ जस्तो लाग्छ । यो मेरो दाबी हो, किनकि म कसैलाई नराम्रो देख्न चाहन्नँ ।

भनेको १५ औं महाधिवेशनमा फेरि पनि उहाँहरूसँगै एउटै टीममा रहेर जान सक्ने सम्भावना पनि छ ?

होइन, भोलिको सम्भावना त अहिले कसरी भन्नु ? राजनीतिमा सम्भावना कहिल्यै टरेको हुन्न । राजनीतिमा भोलिका दिनमा कुनै कुरालाई निषेध गर्छु भनिँदैन । मेरो आफ्नो मान्यता के छ भने, नेपाली कांग्रेस पार्टीका नेताहरूमा, युवाहरूमा सबैमा केही न केही क्वालिटी छ । अझै मेरो दाबी छ, अरू पार्टीका भन्दा केही क्वालिटी भएका साथीहरू कांग्रेसमै बढी हुनुहुन्छ । त्यही क्वालिटीलाई जोडेर एउटा बलियो पार्टी बनाउनुपर्छ । कमजोरी केही छैन कसैसँग भन्ने कुरै होइन । कोही पनि ‘एब्सुल्युट ट्रुथ’ हुँदैन । ‘एब्सुल्युट राइट’ कसैले चाहेर पनि गर्न सक्दैन । काम गर्दा केही न केही त्रुटि हुन्छ । काम गर्दा त्रुटि हुन्छ । तर, मेरो मान्यता अलि फरक छ । त्रुटिलाई मात्रै लिएर हेर्नुपर्छ भन्ने मान्यता राख्दिनँ । उसको असल पक्ष के हो, त्यसलाई लिएर, त्यो असल पक्षलाई जोड्न चाहन्छु  । एउटा जनताका लागि नेपाली कांग्रेसलाई एउटा असल पार्टीको रूपमा, बलियो पार्टीको रूपमा विकास गर्न पाए हुन्थ्यो भन्ने मेरो आफ्नो रहर हो ।

null

सभापतिले म अब उठ्दिनँ भन्नुभएको छ । विधानले पनि दिँदैन । तर, बेलाबेला मजाक गरेर हो कि के हो, म अप्ठ्यारो मान्छे हुँ पनि भन्नुहुन्छ । दाबेदार धेरै भए भनेर आफैं अगाडि सर्ने गरी एमालेमा जस्तै वैधानिक प्रक्रिया फुकाउनतिर लाग्नुहोला भन्ने आशंका तपाईंहरूलाई छैन ?

सभापतिजी उठ्नुहुन्न, सबैको बीचमा धेरैपटक भनिसक्नुभयो । पार्टी केन्द्रीय समितिमा पनि भनिसक्नुभयो । मेरोबारे केही चिन्ता नगर्नुस्, मलाई विधानले नि दिँदैन, म उठ्ने पनि होइन भनेर । तपाईंहरू मिलेर जानुस् भन्नुहुन्छ । आजको दिनमा त सभापति सबैको सभापति हो नि ! उहाँले महाधिवेशनमा कसलाई सपोर्ट गर्नुहुन्छ, त्यसैबेला भन्नुहोला । आजको दिनमा भन भनेर एकदमै प्रेसर गर्न पनि त उपयुक्त हुन्न नि त । उहाँमाथि त पार्टीका सबै साथीहरूलाई समान ढंगले लिएर हिँड्ने दायित्व छ । उहाँ फेरि उठ्ने भए अलिकति ‘अन्डरकरेन्ट’ गरिराख्नुहुन्थ्यो होला । तर, अब उठ्नु पनि छैन भने सबलाई समेटेर, साथमा लिएर हिँड्नुपर्छ ।

उहाँले सभापतिमा अघि सार्ने कुनै एक पात्रको नाममा चाहिँ सहमति हुने स्थिति रहला ?

छलफल गरिन्छ नि त्यसबेला ।

सात वा तपाईंहरूले कुनै समय पुर्‍याउनुभएको ११ जनाबीच नेतृत्वको विषयलाई लिएर तनाव नआउला ?

भोलिको कुरा आज कसरी भविष्यवाणी गर्नु ?

हामी मध्येबाटै एकजना अघि सार्दा हामीलाई आपत्ति हुँदैन भनेर यहाँहरूले दुई–तीनपटक नै भनिसक्नुभयो नि सभापतिलाई, होइन ?

त्यसरी भनेको छैनौं । हामीमध्ये छान्नुस् भनेर उहाँलाई भनेकै छैन । भ्रममा नपर्नुस्, तपाईंले हामीलाई सहयोग गर्नुपर्छ मात्र भनेका छौं । हामीलाई भन्नाले हिजो तपाईंलाई सहयोग गर्ने, महाधिवेशनमा तपाईंलाई सहयोग गर्ने साथीहरूलाई नै तपाईंले सहयोग गर्नुपर्छ भनेका छौं । तपाईं निरपेक्ष बस्न पाउनुहुन्न भनेको, त्यो त हाम्रो विचार हो नि त । हामीले हामीमध्ये छान्नुस् पनि भनेका छैनौं, हामी आफैं छान्छौं भनेका पनि छैनौं । के भनेका छौं भने, तपाईंलाई गएको महाधिवेशनमा हामी जति साथीले सहयोग गरेका छौं, त्यही टीमलाई तपाईंले सहयोग गर्नुपर्छ भनेका छौं । यही हो कुरा ।

पूर्णबहादुर खड्कालाई अगाडि सार्नुभयो भने यहाँहरूले के गर्नुहुन्छ ?

उहाँले सार्ने कुरा होइन, हामीले हो सार्ने त ।

ए, तपाईंहरूले अगाडि सारेको व्यक्तिलाई सभापतिले समर्थन गर्नुपर्ने हो ?

अँ । सभापतिले कसरी सार्नुहुन्छ, मेरो उम्मेदवार यो भनेर ? हामीले सारेकोलाई पो उहाँले सहयोग गर्ने हो त । बुझ्नुभएन कुरा ? हामी सल्लाह गर्छौं, जे उपयुक्त हुन्छ, त्यही निर्णय गर्छौं, त्यसलाई अगाडि सार्छौं होला नि त । त्यसलाई उहाँले सहयोग गर्नुपर्छ भनेर हामीले एकदम अधिकारको कुरा गरेका छौं । तपाईंले हामीलाई सहयोग गर्नुपर्छ भन्ने हाम्रो अधिकार हो, हामीलाई सहयोग गर्ने तपाईंको कर्तव्य हो भनेका छौं ।

salt training

कमेन्ट गर्नुहोस्