३० जेठ २०८३, शनिबार
विवाहेत्तर सम्बन्धका कारण हत्या

हत्या अभियोगमा जेल बसेर छुटेका व्यक्तिसँग आमाले विवाहेत्तर सम्बन्ध राख्दा छोरीको गयो ज्यान !

साउन १५, २०८२
काठमाडौं
हत्या अभियोगमा जेल बसेर छुटेका व्यक्तिसँग आमाले विवाहेत्तर सम्बन्ध राख्दा छोरीको गयो ज्यान !

जनकपुरधाममा १५ वर्षीया अञ्जली यादवको हत्याका पछाडि उनकी आमाको विवाहेत्तर सम्बन्ध प्रमुख कारण रहेको पाइएको छ ।

अञ्जलीकी आमा आशाले श्रीमान हुँदाहुँदै धनुषा छिरेश्वर नगरपालिका–९ इच्छापुर बस्ने रामबाबु साहसँग अवैध सम्बन्ध राख्दै आएकी थिइन् ।

रामबाबुको ‘क्राइम रेकर्ड’ हेर्दा उनी २०७१ चैत २ गते जेठी श्रीमती सरितादेवी साहको हत्या गरेको घटनामा ५ वर्ष जेल सजाय काटेर २०७७ मा छुटेका थिए । आवेशप्रेरित हत्या भनेर उनले छोटो समयको सजाय पाएका थिए ।

उनी जेलबाट छुटेपछि दोस्रो विवाह गरी इच्छापुरमै बस्न थाले । त्यही बीचमा आशा र रामबाबुबीच धनुषाकै महेन्द्रबजारमा भेट भयो । उनीहरू एकले अर्कालाई मन पराए । दुवै छुट्टै डेरा लिएर बस्न थाले ।

उक्त कुरा आशाका श्रीमान दिनेशले थाहा पाए । दिनेशले आफ्नी श्रीमती आशा र रामबाबुबीच अवैध सम्बन्ध रहेको र उनीहरू सँगै बस्न थालेको रामबाबुको परिवारलाई समेत जानकारी गराए ।

गाउँमा पञ्चभेला बस्यो । पञ्चभेलाले रामबाबु र आशालाई सँगै बस्न दिने, दुई छोरा र एक छोरी दिनेशले हेर्ने गरी सहमति गरे । उक्त सहमतिपछि रामबाबुले केही रकम दिनेशलाई तिरेका थिए ।

रामबाबुसँग श्रीमानको हैसियतमा बस्न आशाले दिनेशसँग सम्बन्धविच्छेद गर्न कानूनी प्रक्रिया शुरू गरेकी थिइन् ।

घटना हुनुभन्दा १/२ महिनाअघि रामबाबुले खुशी हुँदै आशालाई जीविकोपार्जनका निमित्त एउटा अटो रिक्सा समेत खरिद गरिदिएका थिए । तर, आशाले उक्त अटो आफ्नो भाइको नाममा पास गरिदिइन् ।

त्यति मात्रै नभएर, आशा रामबाबुलाई समेत थाहा नदिई अर्को कोठा लिएर बसिन् । नयाँ कोठामा दिनेशलाई समेत बोलाएर घरजम गरेर बस्न थालिन् ।

आर्थिक रूपमा सबल भएपछि आशाले रामबाबुको फोन समेत उठाउन छाडिन् । उल्टै रामबाबुकी श्रीमतीलाई फोन गरेर दुई जनाबीच घरझगडाको वातावरण समेत सिर्जना गरेको पाइएको छ ।

साउन १२ गते (घटना भएको दिन) रामबाबुले आशालाई धेरैपटक फोन गरे । आशाले उठाइनन् । उठाए पनि छोरीसँग कुरा गर्न दिइन् ।

पटक–पटक रामबाबुले फोन गरेपछि अन्तिम कलमा आशाले उल्टै गालीगलौज गरेको रामबाबुको बयान छ । उक्त कुरा सहन नसकेर रामबाबु रिसकै झोकमा डेराबाट खुकुरी लिएर आशाको डेरामा पुगे । त्यहाँ आशा मात्रै थिइनन्, उनी छोरी र भतिजीसँग सुतिरहेकी थिइन् ।

रामबाबुले ढोका खोल्न लगाए । अनि जो–जो भेटिन्छ, उसैलाई खुकुरीले प्रहार गरे । रामबाबुको खुकुरी प्रहारबाट आशा, उनकी छोरी अञ्जली र भतिजी राधा घाइते भए ।

प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा अञ्जलीको मृत्यु भयो ।

आशाको थप उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । भतिजी राधा भने उपचारपछि डिस्चार्ज भइसकेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार यो विशुद्ध विवाहेत्तर सम्बन्धबाट सिर्जित घटना हो ।

‘आशा र रामबाबु दुवै विवाहित हुन्, एउटीको श्रीमान र अर्काको श्रीमती हुँदाहुँदै अवैध सम्बन्ध राख्न थाले,’ एसपी रेग्मीले लोकान्तरसँग भने, ‘रामबाबुले आशालाई जे–जे भन्यो, त्यही आवश्यकता पूरा गरिदिए । अन्तिममा फोन नउठाएपछि रिसइबीमा मार्ने उद्देश्यले नै खुकुरी लिएर अन्धाधुन्ध प्रहार गरेको देखिन्छ ।’

प्रहरीसँगको बयानमा पनि रामबाबुले आफूले आशालाई धेरै माया गरेको, तर विश्वासघात गरेपछि हत्या गर्ने उद्देश्यले नै खुकुरीले हानेको उल्लेख गरेका छन् ।

एसपी अधिकारीले भने, ‘एकपटक घटना घटाएर जेल भुक्तान गरेपछि पनि उसले फेरि डरलाग्दो अपराध गरेको देखिन्छ ।’

रामबाबुले घटनामा प्रयोग गरेको खुकुरी पनि प्रहरीले बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्