२८ जेठ २०८३, बिहीबार
यसरी बन्यो चक्रे समूह पक्रने योजना

राजनीतिक संरक्षणमा हुर्केका गुण्डा नाइके ‘चक्रे मिलन', यस्तो छ आपराधिक पृष्ठभूमि

साउन १६, २०८२
काठमाडौं
राजनीतिक संरक्षणमा हुर्केका गुण्डा नाइके ‘चक्रे मिलन', यस्तो छ आपराधिक पृष्ठभूमि

राजनीतिक संरक्षणमा हुर्किएका ‘गुण्डा नाइके’ मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’सहित उनको ठूलै समूहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । महाराजगञ्जस्थित एक होटेलमा गएराति चक्रेको जन्मदिन मनाइरहेका बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

विगत तीन/चार दिनदेखि चक्रे समूहले जन्मदिन मनाउने नाममा टिकटकमा भिडियो राखेर शान्ति भंग गरिरहेका थिए । यसैगरी, सडकमा गाडीको लावालस्करसहित सर्वसाधरणलाई समेत ‘डिष्टर्ब’ हुनेगरी होहल्ला गरेको आरोप उनीहरूमाथि छ ।

काठमाडौंको महाराजगंज क्षेत्रलाई नै केन्द्रमा राखेर गुण्डागर्दी गर्दै आएका चक्रे पछिल्लोपटक भने खासै गुण्डागर्दीमा सक्रिय देखिएका थिएनन् । अर्का गुण्डा नाईके एवं पूर्वमन्त्री राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ यिनै चक्रेको हात काटेको अभियोगमा जेलमा कैद सजाय भुक्तान गरिरहेका छन् ।

विगतमा चक्रे ठेक्कापट्टा र ढुंगा, गिटी, बालुवाका ठेकेदारबाट रकम असुली गर्दै आएका थिए । त्यसो त चक्रे कहिल्यै एक्लै हिँड्दैनन् । उनी समूह बनाएरै हिँड्छन् ।

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा चक्रे सक्रिय छन् । समाजलाई आतंकित पार्ने खालका भिडियो राखेर चक्रे र उनको समूहले शान्ति भंग गर्दै आएको गुनासो प्रहरीमा पुगेको थियो । तर, कानूनले टेक्ने खालको अपराध पुष्टि नभएकै कारण प्रहरी चुप लागेर बसेको थियो ।

बिहीबार भने उनीहरू महाराजगंजकै एक होटलमा जन्मदिन मनाउन केक काटेर होहल्ला गरिरहेको सूचना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुग्यो । कार्यालय प्रमुख एसएसपी रमेश बस्नेतलाई एसपी अंगुर जिसीले के गर्ने भनेर सोधे । स्रोतका अनुसार ‘त्यत्तिकै पक्राउ गर्दा राम्रो सन्देश जाँदैन, समात्ने टेको त चाहियो’ भन्दै बस्नेतले जिसीलाई भने । अनि विगत तीन/चार दिनदेखि चक्रेको समूहले जन्मदिन मनाउने नाममा केक काटेको दृश्य, सार्वजनिक सडकमा गाडी स्कर्टिङ गरेर सर्वसाधरणलाई हैरानी दिएको कुरा जिसीले बस्नेतलाई बताए ।

बस्नेतले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी टेकबहादुर तामाङलाई फोन गरे । तामाङले ‘किलो वान’ अर्थात् काठमाडौं प्रहरीसँग समन्वय गर्न सुझाए । बस्नेत र काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीबीच फोनमा कुराकानी भयो । पक्राउ गर्न जाने तयारी भयो । सादा पोशाक र पोशाक लगाएका प्रहरीको टीम तयार गरेर महाराजगंजस्थित होटलमा प्रहरी पुग्यो ।

होटलमा चक्रे र उनको समूह मदिरामा मस्त थिए । त्यहीबाट समातेर सबैजनालाई गाडीमा हालेर भद्रकालीस्थित परिसर लगिएको थियो ।

एसएसपी बस्नेतले लोकान्तरसँग भने, ‘जन्मदिन मनाउने नाममा शान्ति भंग गर्न पाइँदैन, सर्वसाधारणलाई त्रासमा राख्न पाइँदैन, त्यही भएर अनुसन्धान गर्न पक्राउ गरेका हौं ।’

प्रहरीले ६७ जनालाई नियन्त्रणमा लिएर अहिले ‘स्क्रिनिङ’ गरिरहेको छ ।

यस्तो छ चक्रेको आपराधिक पृष्ठभूमि

चक्रे मिलन पछिल्लोपटक सक्रिय राजनीतिमा छैनन् । कुनैबेला उनी नेकपा एमालेका केही नेताको नाम लिएर राजनीतिक संरक्षण खोज्ने गरेका थिए । आपराधिक पृष्ठभूमि हेर्दा २०५० मै काठमाडौं प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको देखिन्छ । उनी त्यतिबेला धरौटीमा छुटेका थिए । पुन: २०६० मा ज्यान मार्ने उद्योगमै काठमाडौं परिसरबाट मुद्दा चलेको देखिन्छ ।

एकैपटक काठमाडौं परिसरले २०६४ वैशाख १२ गते चक्रेविरुद्ध कर्तव्य ज्यान मुद्दा चलेको प्रहरीको क्राइम रेकर्ड सिष्टम (सीआरएस)बाट देखिन्छ । मुद्दा चले पनि राजनीतिक संरक्षण पाएका उनी २०६५ असार २८ गते साधारण तारेखमा छुटेका थिए ।

२०६६ असार २८ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चक्रेलाई लागुऔषध ओसारपसार तथा बिक्रीवितरणको मुद्दा चलाएको देखिन्छ । उक्त मुद्दामा भने उनी पाँच वर्ष कैद सजाय भुक्तान गरेर छुटेका थिए ।

२०६७ फागुन १२ गते धापासीमा बा १ क ५५०० नम्बरको डोजर चालकलाई डोजरभित्र राखेर आगजनी गर्न जेलभित्रै बसेर चक्रेले महत्वपूर्ण भूमिका खेलेको प्रहरीको त्यतिबेलैको अनुसन्धानले देखाएको थियो । 

२०७९ मा त एमाले गोरखाको क्षेत्र नम्बर २ कमिटीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष चुनाव लड्न चक्रेको समेत नाम सिफारिस गरेको थियो । अवैध र अपारदर्शी ढंगले सम्पत्ति आर्जन गर्ने प्रवृत्ति हुर्किरहेका बेला केही प्रतिनिधि गुन्डा नाइकेलाई कानुनी कारबाहीको दायरामा ल्याउन खोज्दा राजनीतिक संरक्षणकै कारण सम्भव हुन नसकेको एक उच्च प्रहरी अधिकृत बताउँछन् ।

यो पनि

महाराजगञ्ज क्षेत्रमा मध्यराति प्रहरीको अपरेसन, गुण्डा नाइके चक्रे मिलनसहित ६७ जना पक्राउ

salt training

कमेन्ट गर्नुहोस्