
संविधान सभाबाट गणतन्त्र घोषणा हुनुअघि नेपालमा ‘कन्स्टिच्युसनल किङ’, ‘सेरेमोनियल किङ’ र ‘बेबी किङ’को बारेमा लामो बहस भएको थियो ।
२०६२/०६३ सालको जनआन्दोलनको नेतृत्व गरेका र आन्दोलनपछि प्रधानमन्त्री बनेका स्व. गिरिजाप्रसाद कोइरालाले विभिन्न सूत्रमार्फत ‘बेबी किङ’को प्रस्ताव बाहिर ल्याएका थिए ।
०६४ सालको दशैंअघि गृहनगर विराटनगर गएर कोइराला आफैंले पनि ‘बेबी किङ’को कुरा गरेका थिए ।
कोइरालाले त्यो बेला ‘ट्रयाक टु’ च्यानलमार्फत दोहोरो कुरा बाहिर ल्याए– छोरी सुजाता कोइरालामार्फत ‘बेबी किङ’ र कृष्णप्रसाद सिटौलामार्फत गणतन्त्र ।
आफैंले ‘बेबी किङ’को कुरा गरे पनि विवादमा आएपछि कोइरालाले त्यसको बचाउ गरेका थिए । नेपालमा आएको विदेशी पत्रकारको मिसनसँगको भेटमा ‘बेबी किङ’को प्रसंग निकालेको भनेर समाचार आएपछि उनले पत्रकारले अंग्रेजी बुझ्दैनन् भनेर दिएको अभिव्यक्ति चर्चाको विषय बन्ने गरेको थियो ।

‘बेबी किङ’को प्रसंगले आलोचना भएपछि गिरिजाप्रसाद कोइरालाले त्यो विषय फेरि बोलेनन् । छोरी सुजातालाई बोल्न लगाए । सुजाताले त ‘बेबी किङ’को बारेमा प्रस्ट बोलेकी थिइन्– २०६४ वैशाख २४ गते ।
उतिबेला डिजिटल मिडिया र सामाजिक सञ्जाल खासै प्रचलनमा नआइसकेकाले बोलेको त्यो कुरा भेट्न मुस्किल छ, तरदी हिमालयन टाइम्समा प्रकाशित एक समाचारमा सुजाताले प्रस्ट भनेकी छिन्– ‘बेबी किङ’को विषयमा छलफल गर्न कांग्रेस तयार छ ।
सुजाताले यो भनेको समयमा नेपालमा संविधान सभाको चुनाव हुन सकेको थिएन । संविधानसभा चुनाव अनिश्चित बनेको भन्दै तत्कालीन नेकपा माओवादी सरकारमा जाने र बाहिरिने क्रम चलिरहेको थियो ।
ऋषि धमलाको रिपोर्टर्स क्लबमा सुजाताले भनेकी थिइन्– ‘बेबी किङ’को विषयमा छलफल हुन सक्छ । देशको सार्वभौमसत्ता र अखण्डतालाई ध्यान दिएर कांग्रेसले आफ्नो भविष्यको बाटो तय गर्नेछ । देशको सार्वभौमसत्ताका खातिर हामी राजासँग पनि हात मिलाउन तयार हुनुपर्छ । कांग्रेसले गणतन्त्रको पक्षमा निर्णय गरेको छैन । देशको अस्तित्व नै खतरामा परेको बेला गणतन्त्रको के अर्थ ?’
सेरेमोनियल किङ र ‘बेबी किङ’को बहसले माओवादी सशंकित थियो, त्यसैले उसले तत्कालीन अन्तरिम व्यवस्थापिका संसदबाटै गणतन्त्रमा जाने प्रस्ताव पारित गर्नुपर्ने अडान राखेको थियो । र, अन्तरिम व्यवस्थापिका संसद्को विशेष अधिवेशनबाट २०७४ कात्तिक १८ गते ‘अविलम्ब ठोस प्रस्ताव पारित गरेर गणतन्त्रमा’ जाने प्रस्ताव पारित भएको थियो ।
हालसालै मात्र कांग्रेसका एक पाका नेता एवं राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले संसदमा‘बेबी किङ’को किस्सा यसरी सुनाएका थिए– ‘गिरिजाबाबुले भन्नुभयो, मैले राजालाई अनुरोध गरें । राजा तपाईं सत्ता छाड्दिनुस्, तपाईंको छोराले पनि सत्ता छाडिदेऊन् । अनि तपाईंको नाति (हृदयन्द्र)लाई राजा बनाउनुस् । तपाईंजस्तो राजा होइन, नातिलाई जापानको जस्तो राजा बनाउनुस् भन्नुभएको थियो । तर, राजाले जवाफ फर्काएनन् ।’
त्यो बेला कांग्रेसमा अनेकन किस्सा चलेको थियो– ‘सेरेमोनियल किङ’बारे । त्यतबेलैको एउटा चर्चित किस्सा हो– 'कतिपयले सुदूरपश्चिममा ‘शेरेमुनि किङ’ अर्थात् शेरबहादुर देउवाभन्दा तल रहने राजा' भनेर समेत व्याख्या गरेछन् ।
‘बेबी किङ’को एजेन्डा त्यही बेला अलपत्र परेको हो । २०६५ साल जेठ ५ गते संविधानसभाले गणतन्त्र घोषणा गरेपछि संवैधानिक, सेरेमोनियल र ‘बेबी किङ’ सबैको ‘च्याप्टर’ एकैदिन ‘क्लोज’ भयो ।
हाल स्मरण शक्ति गुमाएर गुमनाम रहेका कांग्रेस नेता डा. रामशरण महतले त्यो बेला बताएअनुसार गणतन्त्रमा जाने प्रस्तावबारे कोइरालाले अरू कसैलाई बताएका थिएनन् ।
हृदयन्द्रको ‘ब्रान्डिङ’ प्रयास
गणतन्त्र स्थापनाको डेढ दशकपछि राजतन्त्र पुन:स्थापना पक्षधर शक्ति (जसलाई गणतन्त्रवादीले प्रतिगामी भन्छन्) का गतिविधि बढ्न थाले । पूर्वयुवराज्ञी हिमानी शाहको नाममा खोलिएको ट्रस्टमार्फत सामाजिक गतिविधिमा पूर्वराजपरिवारका सदस्यहरू देखिन थाले ।
पछिल्ला दुई वर्षमा त पूर्वराजा ज्ञानेन्द्र शाहले ठाउँ–ठाउँमा गएर जनतासँग प्रत्यक्ष संवाद गर्न थाले । २०८१ फागुन ७ गते दिएको शुभकामना सन्देशमार्फत शाहले देशको बेहाल हेरेर नबस्ने भन्दै आफूलाई साथ दिन अपिल गरे ।
ज्ञानेन्द्र शाहको अपिलबाट उत्साहित समूहले निर्वासनबाट फर्किएका राजालाई जस्तो गरी पोखराबाट काठमाडौं ओर्लिएका ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागतको तामझाम गरे ।
विमानस्थलबाहिर जम्मा भएको भीडलाई हेरेर हौसिएका राजावादीले ज्ञानेन्द्रलाई नारायणहिटी फर्काउने भन्दै आन्दोलन घोषणा गरे ।

अराजक दुर्गा प्रसाईंको समूहले राजसंस्था पुन:स्थापनाका लागि भन्दै आन्दोलन नै घोषणा गर्यो । विभिन्न समिति बनाइयो । प्रसाईं जनकमान्डर बने ।
राजसंस्था फर्काउने नाममा प्रसाईं चैत १५ गते काठमाडौंको तीनकुनेमा विध्वंश मच्चाएर देशबाहिर भागे । राजसंस्था फर्काउने हाँक दिएका प्रसाईं संगठित अपराधमा जेल परेसँगै राजावादीको आन्दोलन सेलायो ।
प्रसाईंको भरिया बन्न गएका रवीन्द्र मिश्रहरू हप्तौं प्रहरी हिरासतमा बसेर फर्किएपछि शिथिल बने । प्रसाईंलाई कमान्डर तोकेर शुरू भएको राजावादी आन्दोलन तुहियो । तन्त्रमन्त्र गरेर राजसंस्था फर्काउने जगमान गुरुङको अभियान पनि अलपत्र बन्यो ।
ज्ञानेन्द्रलाई नारायणहिटी फर्काउने तुरूप काम नलागेपछि अहिले फेरि एकथरि जमात नाति हृदयन्द्र (उतिबेलाका ‘बेबी किङ’ अहिले वयस्क भइसके) लाई अगाडि सार्ने प्रयासमा लागेको छ । दुई दिनयता सामाजिक सञ्जालमा हृदयन्द्र शाह जुम्ला गएर स्थानीयसँग कुराकानी गरेको ‘स्क्रिप्टेड भिडियो’ छ्यापछ्याप्ती छ ।
नेपालमा मात्र होइन, विदेशमा पनि राजतन्त्र ढलिसकेपछि समेत राजपरिवारका सदस्यको बारेमा चर्चा हुने गर्छ । नेपालमा त अहिलेसम्म पनि वंशनास गरिएका वीरेन्द्र शाहको परिवारका सदस्यको तस्वीर सार्वजनिक यातायातमा टाँसिएको देख्न सकिन्छ । हृदयन्द्रको भिडियो आजका दिनमा ‘टक अफ दी टाउन’ भएको छ ।
हृदयन्द्रले जुम्लामा अभिनय गरेको भिडियोलाई लिएर अहिले सामाजिक सञ्जालमा एकथरिले भावी राजाको रूपमा व्याख्या गरेका छन् । उदण्ड पारसभन्दा हृदयन्द्रको भलाद्मी पारालाई धेरैले मन पराएका छन् ।
हृदयन्द्र जति शालीन छन्, उनलाई राजा बनेको सपना देख्नेहरू त्यसको तुलनामा धेरै अराजक र उदण्ड छन् । हृदयन्द्र राजा होइन, फिल्म क्षेत्रमा स्थापित हुन सक्छन् भनेर अभिव्यक्ति दिएबापत नायिका सुरक्षा पन्तविरुद्ध घृणायुक्त गालीको वर्षा भयो । अहिले पनि कसैले उनको कुरा गर्यो भने तल्लो स्तरको गाली गर्छन् ।
सुरक्षाले भनेजस्तै हृदयन्द्रले आफ्नो भ्लगमा असाध्यै राम्रो अभिनय गरेका छन् । तर, उनले केही दिन जुम्लामा बसेर त्यहाँका जनताको वास्तविक दु:ख बुझे भन्ने कुरा धनीको छोरीलाई गरिबको बारेमा निबन्ध लेख्न लगाएजस्तो हो– जहाँ गरिबीको कल्पना गर्दै धनीकी छोरीले निबन्ध लेखेकी थिइन् रे– ‘गरिबको घरमा एउटा मात्र कार हुन्छ ।’
सुरक्षा घेरामा जुम्ला पुगेका हृदयन्द्रले बुझेको र वर्णन गरेको जुम्ला धनीको छोरीले लेखेको निबन्धजस्तो हो । यद्यपि, सुखसयलमा जन्मे/हुर्केको राजशाही परिवारको नाति पुस्ताले नेपालका दूरदराजमा पुगेर यस्ता भिडियो बनाउँदा त्यो क्षेत्रको विकासमा टेवा पुग्न सक्छ ।
हृदयन्द्र पूर्वी नेपालको ओलाङचुङगोला, पश्चिमका मुगु, हुम्ला तथा डोल्पाका ग्रामीण बस्तीमा पुगेर यस्तै भिडियो बनाऊन् । अघिल्लो महिना जुम्ला पुगेका हृदयन्द्रले हातमा साबेल लिएर काम गर्दै गरेको तस्वीरले धेरैलाई तानेको थियो ।

तर, राजसंस्था पुन:स्थापना हुने/नहुने भन्नेचाहिँ ‘सेन्टिमेन्टल’ होइन, राजनीतिक विषय हो । हृदयन्द्रको निर्दोष अनुहार या हिमानी शाहको संस्कारयुक्त व्यवहार तथा मुस्कानले नेपालमा राजसंस्था फर्किने/नफर्किने निर्क्यौल हुँदैन ।
महाराजगञ्जको निर्मल निवासमा बस्ने व्यक्ति ज्ञानेन्द्र शाहप्रतिको पूर्वाग्रहभन्दा पनि नारायणहिटी दरबारमा श्रीपेच लगाएर संविधानभन्दा माथि बस्न खोज्ने ज्ञानेन्द्रको महत्वाकांक्षा तथा कार्यशैलीका कारण नेपालबाट राजसंस्था अन्त्य भएको हो ।
हृदयन्द्र जुम्ला गएर भ्लग बनाउँदैमा नेपालको गणतन्त्र कमजोर हुने र राजसंस्था फर्किने होइन । राजसंस्था फर्किन सम्भव नभएपनि हृदयन्द्र–हिमानीका प्रयासले नेपालमा राजसंस्थालाई सम्झाइराख्न मद्दत पुग्छ । दुर्गा प्रसाईं समूहले मच्चाएको अराजकताभन्दा हृदयन्द्रले गरेको प्रयासलाई प्रशंसा गर्नुपर्छ ।