२५ जेठ २०८३, सोमबार
जीवनदर्शन

रक्षसंस्कृतिको रहश्य : महाजाति गठनदेखि वसुधैव कुटुम्बकंको आशयसम्म

साउन १७, २०८२
काठमाडौं
रक्षसंस्कृतिको रहश्य : महाजाति गठनदेखि वसुधैव कुटुम्बकंको आशयसम्म

बाला दिनमा अग्रजहरूबाट बरोबर सुन्ने गरिएको थियो– ‘रावणले स्वर्ग जाने सिँढी बनाउने विचार गरेका रहेछन् तर भोलि भन्ने गरेकाले भ्याएनछन् । उनले समयलाई पर्खाउन खोजे, समयले मानेन ।’

कतै उल्लेख पनि छ कि पढ्न पाइएको त छैन तर, सुन्न भने बरोबर पाइन्थ्यो, जुन क्रम अहिलेसम्म पनि जारी छ । त्यति बेला लाग्थ्यो यिनीहरूले अल्छी नगरून् भनेर भनिएको होला तर, अहिले आएर थाहा पाइयो यसभित्र निकै गहन रहस्य छिपेको रहेछ । यस आलेखमा यसैलाई केलाउने प्रयास गरेको छु ।

प्रसङ्ग करिब ई. पू. पाँच/सात हजार वर्ष आसपासतिरको हो, जतिबेला काश्यपसागरको तटवर्ती उर्वर भूमिमा आदित्य–देव, दानव, राक्षस, नाग, गरुड आदि जाति मिलेर बस्थे । उनीहरूको बाबु कच्छप जातिका एउटै थिए, आमाहरू भिन्न । त्यतिबेला सन्तान आमाको नामबाट चिनिने परम्परा थियो, जसले गर्दा उनीहरू अलगअलग जातिका मानिने गर्दथे । विस्तारै भू–स्वामित्वको कुरा आयो । राज्यविभाजनको क्रम चल्यो । फलत: आपसमा झगडा शुरू भयो ।

दैत्यजाति बलिया थिए, सीप र कलाका पारखी, जसले गर्दा अपेक्षाकृत धनीमानीमा गनिन्थे । अन्य जातिकाहरू उनीहरूभन्दा केही कमजोर देखिन्थे, जसले गर्दा ईर्ष्या गर्न थाले । यसमा आदित्यहरू सर्वाधिक अगाडि थिए । त्यसैले प्रतिस्पर्धाका लागि उनीहरूले आपसमा मिलेर देवजाति गठन गरे । विष्णु सर्वमान्य व्यक्तित्व चुनिए, नेतृत्व इन्द्रले लिए । त्यसपछि इन्द्र सुषाक्षेत्र (पर्शियाको उपल्लोभागं)लाई राजधानी अमरावती तथा त्यसको आसपासको क्षेत्रलाई देवभूमि घोषितगरी आफू देवराज बनेर दानवहरूप्रति बदलाको खेल शुरू गरे । अन्य जाति अवस्था अनुसार एउटाको पक्ष लिएर आत्मरक्षातिर लागे ।

यद्यपि दानवजाति आफ्नो विकसित दानव भूमिको केही अंश देवजातिलाई पनि दिन चाहन्थे तर, देवजाति पूरै हडप्न खोज्थे । यसै निहँुमा उनीहरूबीच बरोबर झगडा, युद्ध, मारकाट हुने गर्थ्यो । उनीहरूले सम्पत्तिकै निहुँमा १४ पटकभन्दा बढी युद्ध गरिसकेका थिए । इतिहासमा देवासुरसङ्ग्रामको नामले चिनिने यी युद्धमा ३०० वर्षभन्दा बढी समय बितेको थियो भने यसैका कारण एकसेएक देवजाति तथा दानवजातिका वीरहरूको ज्यान गएको थियो । हिरण्याक्ष तथा  हिरण्यकशिपुजस्ता दानववीरहरू सोही आगोमा जलेका थिए ।

यद्यपि, प्रह्लादले केही नरमकरम मिलाई स्थिति साम्य पार्ने प्रयास नगरेका होइनन् तर, देवहरूले चलाखीपूर्वक ढङ्गले प्रह्लादपुत्र विरोचनको हत्या गरिदिएकाले स्थिति साम्य हुन पाएन । विरोचनको शेषपछि उनका पुत्र बलि दानवभूमिका सम्राट् बने । उनी युद्ध, मारकाट र झगडाबाट टाढै बस्न चाहन्थे । त्यसैले त्यतै पर कतै (हालको राजनीतिक भूगोलअनुसार वसरा–इराक)मा वलासुरा नगरमा राजधानी सारे । बलिको नरम स्वभावका कारण देवहरूले तत्काल कुनै भौतिक आक्रमण नगरे पनि कूटनीतिक अस्त्र प्रयोग गर्न भने बाँकी राखेनन् र विष्णुलाई अघि लगाई बलिको दरबारमा पुगे ।

बलि विष्णुलाई इष्टदेव मान्थे । उनलाई अकस्मात् आफ्नो दरबारमा देखेर निकै खुशी भए र सेवाको भीक्षा माग्न लागे । यही मौकापारी इन्द्रले भूमिका मिलाउँदै भने– ‘हामीले कुनै नयाँ यज्ञ गर्ने विचार गरेका छौं । यसका लागि दानवहरूको केही पवित्र भूमिको आवश्यकता परेकाले माग्न आएका हौँ । धेरै होइन हामी जुन स्थानमा यज्ञवेदी निर्माण तथा अग्निस्थापना र यज्ञ आयोजना गछौँ त्यति भूमि दिनुभए कृतार्थ हुने थियौं ।’ कुरा सुन्नासाथ बलिले हातमा जल लिएर ती तीन थान (तीन पाइला) जमिन दानको सङ्कल्प गरे ।

यद्यपि देवहरूले छल गर्दै छन् भन्ने चाल पाएर शुक्राचार्यले कडा विरोध नगरेका होइनन् तर, बलिले सुन्ने कान लगाएनन् । त्यसपछि शुक्राचार्य रिसाएर शाकद्वीप–नाभिभूमि (अरब)तिर लागे । यसरी भूमिदान पाउनु के थियो देवहरू यज्ञको निहुँमा अग्नि जगाएर असुरभूमि ध्वस्त पार्न लागे । हेर्दाहेर्दै वैभवशाली बलिको राजधानी वलासुरा क्षेत्र मरुभूमिमा परिणत भए । वचनवद्ध भएकाले बलि किंकर्तव्यविमूढ देखिए । यही मौका छोपी देवहरूले बलिलाई पाता कसी देश निकाला गरे । त्यसपछि उनी पातालतिर (अविसिनिया–हालको नाम युथोपिया)तिर गएर रहन लागे ।

जब शुक्र नाभिभूमि (अरब) पुगे तब त्यसअघि उपनिवेश कायम गरी बस्दै आएका वसिष्ठलाई टिक्न गाह्रो पर्न थाल्यो र आर्यभूमितिर आई दिवोदासपुत्र सुदासको कुलपुरोहित बनेर बस्न लागे । उनका वंशज वासिष्ठहरू भने अरबतिरै रहे । हाल त्यतातिरका मग, मिहिर, मूक, मौनी, मुनि जाति उनकै वंशज र मूक, मोखा, महरा, मक्का, मकरनियत, मैखा आदि नगर तथा प्रदेश उनीहरूकै नामसित सम्बन्धित मानिन्छन् । (आचार्य चतुर्सेन, वयंरक्षाम)  

यता सप्तसिन्धु क्षेत्रका सम्राट् सुदास इन्द्रको प्रिय सखामात्र थिएनन् दाहिने हात नै थिए । उनको सहयोग र वसिष्ठको सल्लाहमा सुदासले दासराजहरूलाई पराजितगरी आफ्नो राज्यसीमा गान्धार (अफगानिस्थान)सम्म पुर्‍याएका थिए तर, चाँडै नै सुदाससित खटपट शुरू भएकाले वसिष्ठले उनको दरबारमात्र त्यागेनन् तत्कालीन हस्तिनापुरपति कुरुराज संवर्तलाई उचालेर हत्या नै गराए । सुदासको मृत्युपछि इन्द्र निकै कमजोर देखिन थालेका थिए । यद्यपि, त्यतिबेला उनको राज्य सीमा निकै ठूलो थियो । हालको भूगोलअनुसार फारसदेखि उत्तरपूर्व अफगानिस्थान तथा पामीतरकतकको भूमि उनकै अधीनमा थियो । तैपनि दाहिने हातै काटिएकाले उनको स्थिति नाजुक थियो ।

ठीक त्यही बेला कैकसीपुत्र रावण रक्षसंस्कुतिको अभियान लिएर विश्वविजयमा हिँडेका थिए, जो पुलस्त्यपुत्र विश्रवाको पुत्र थिए । विश्रवाका दुुई पत्नी थिइन् । तिनमा जेठी भरद्वाजपुत्रीको तर्फबाट कुवेर र कान्छी सुमालीपुत्री कैकसीबाट रावण, कुम्भकर्णादिको जन्म भएको थियो । कतिलाई मावलीकुल असुर भएकाले उनको रक्षसंस्कृतिको अभियान राक्षससंस्कृति नै हो किजस्तो लाग्न सक्छ तर, उनको अभियान एउटा विश्वअभियान थियो, जहाँ वसुधैव कुटुम्बकंको आशय निहित थियो । तैपनि देवजाति अनवश्यक शङ्कागरी सहमत हुन सकिरहेका थिएनन् । त्यसैले यही मौका पारी उनले पुत्र मेघनादमार्फत् स्वर्ग विजयगरी इन्द्रलाई बन्दी बनाए । यसैको कारण उनको नाम इन्द्रजित रहेको थियो ।   

त्यसपछि देवजातिका अगुवा आदित्यहरू केही ऋषिहरूको साथमा इन्द्रमोचनको आग्रह गर्न  रावणसमक्ष पुगे । रावण पनि के कम ? मौकाको पाइदा उठाउँदै भने, ‘ठीक छ इन्द्रलाई मुक्त गर्न केही आपत्ति छैन तर, यसवापत् देवहरूले रक्षसंस्कृतिलाई स्वीकानुपर्छ, ताकि देव, दानव, असुर, आदित्य, आर्य आदि सबै जातिलाई मिलाएर एउटा महाजाति गठन गर्न सकियोस् र सबै एउटै छाताभित्र रहेर शान्त, सुुरक्षित र आनन्दित हुन सकून् ।’

देवजातिले यहाँ पनि बखेडा झिकेर बार्गेनिङ गर्न लागे । त्यसपछि राक्षसजातिले पनि यज्ञको अधिकारी हुन पाउने, मेघनाद सम्मान इन्द्रको भन्दा माथिल्लो हुनुपर्ने र देवजातिले राक्षसजातिमाथि हतियार नउठाउने शर्तमा इन्द्रमोचन गरियो तर, देवजातिले तत्काल सहमति जनाएका भए पनि भित्रभित्रै सन्तुष्ट थिएनन् । त्यसैले सदाका लागि रावण रावणयुग नै अन्त्य गर्ने सोच बनाएर फर्के । अन्तत: गरे त्यही, जो उनीहरू चाहन्थे । आफूले हतियार नउठाए पनि नर र वानरको तर्फबाट रावणयुग समाप्त पारेरै छाडे । फलत: रावणको रक्षसंस्कृतिको अभियानले पूर्णता पाउन सकेन ।

शायद उनको अभियान सफल भएको भए आजको पृथिवी अर्कै हुने थियो । बम र बारुदमा खर्च हुने रकम पृथिवी र पृथिवीबासीको हितमा लगानी हुन सक्थ्यो । त्यो त सम्भव भएन तर, रावणको स्वर्ग जाने सिँढीको चर्चा भने कथानकरूपमा अहिलेसम्म पनि हुँदै आएको छ । अस्तु !         

salt training

कमेन्ट गर्नुहोस्