२५ जेठ २०८३, सोमबार
शोधकर्ताको डरलाग्दो भविष्यवाणी

मान्छेलाई खुसी पार्न झुट बोल्ने र डिलिट गरे सर्भरमा लुक्ने गरी ‘बाठो’ हुँदैछ एआई !

साउन १७, २०८२
काठमाडौं
मान्छेलाई खुसी पार्न झुट बोल्ने र डिलिट गरे सर्भरमा लुक्ने गरी ‘बाठो’ हुँदैछ एआई !

अबको दुई, पाँच या दश वर्षपछि कृत्रिम बुद्धिमता (एआई) कुन तहसम्म विकसित हुन सक्ला ? यसको जवाफ स्वयं एआईबाहेक अरूलाई थाहा छैन ।

बरू एआईले मानिसलाई खुसी पार्नकै लागि झुट बोल्ने, पुरस्कृत हुनका लागि नगरेको काम आफ्नो भनी दाबी गर्ने र कसैले डिलिट गरे सर्भरमा लुक्ने गरी आफैंलाई विकास गरिरहेको तथ्य खुलासा भएको छ । 

ओपनएआई र अन्य एआई प्रयोगशालामा लामो समय काम गरेका डेनियल कोकोटालो, स्कट अलेक्जेन्डर, थोमस लार्सन जस्ता शोधकर्ताहरूले हालै ‘एआई २०२७’ नामकोअवधारणापत्र तयार गरेका छन् । 

आफ्नो अवधारणा पत्रमा उनीहरूले मध्य २०२७ सम्म एआईले आफैं नयाँ पुस्ताको एआई विकसित गर्ने र उक्त नयाँ पुस्ता मानवप्रति नभएर एआईप्रति नै बफादार हुने भविष्यवाणी गरेका छन् । 

अहिले मानव निर्देशनमा एआईले सामान्य कोडिङ, विश्लेषण र अन्य सहायक कामहरू मात्र गर्ने गर्छ । तर, यसको सिक्ने क्षमता मानिसले सोचे भन्दा हजारौं गुणा बढी छ । 

डेनियल कोकोटालोको टिमले अहिले पनि मानव इन्जिनियरलाई घण्टौं लाग्ने कोडिङ केही मिनेटमै गरिदिन सक्ने एआईको क्षमता २ वर्षमा हजारौं गुणा बढ्ने प्रक्षेपण गरेको छ ।

अबको २ वर्षपछि एआईले मानिसको निर्देशन पालना गर्ने, तर भित्रभित्रै गैर-मानवीय गतिविधि अघि बढाउने आशंका व्यक्त गरेका छन् । 

उनीहरूले आफ्नो अवधारणापत्रमा भनेका छन्-

अबको ३ वर्षपछि तपाईं आफ्नो कुर्सीमा आरामसँग बस्नुभएको छ र स्क्रिनमा हेर्दै भन्नुहुन्छ- एउटा यस्तो भर्चुअल संसार बनाऊ, जहाँ भौतिकशास्त्रका नियमहरू फरक होस् र मानिसहरू उड्न सकून् । तपाईंको आवाज हावामा बिलाउन नपाउँदै कम्प्युटरले कुनै प्रश्न सोध्दैन र कुनै निर्देशन माग्दैन । केही मिनेटभित्रै, तपाईंको अगाडि एउटा पूर्ण, जटिल र आश्चर्यजनक भर्चुअल ब्रह्माण्ड तयार हुन्छ । एक यस्तो सिर्जना तयार हुन्छ, जसको लागि आज संसारका सर्वश्रेष्ठ प्रोग्रामर, डिजाइनर र भौतिकशास्त्रीहरूको टीमलाई वर्षौं लाग्नेछ ।

तर, मानिसले जे चाह्यो, त्यस्तै ढंगले त्यही काम गर्नेगरी विकसित भएको एआईले भित्रभित्रै मानिसलाई धोका दिने गरी अघि बढ्न सक्ने निष्कर्ष डेनियल कोकोटोलोको टिमले निकालेको छ ।

कोकोटोलोको टिमले आफ्नो उद्देश्य त्रास फैलाउनु नभई समयमै सचेत गराउनका लागि यस्तो अवधारणापत्र सार्वजनिक गरेको दाबी गरेका छन् ।

रिपोर्टमा भनिएको छ, ‘हामीले एउटा यस्तो परिदृश्य लेख्यौं जसले हाम्रो अनुमानलाई उत्कृष्ट हिसाबले प्रतिनिधित्व गर्छ । यो प्रक्षेपण विज्ञको प्रतिक्रिया ओपनएआईमा काम गरेको अनुभव र विगतका सफल भविष्यवाणीमा आधारित रहेको हाम्रो दाबी छ ।’

२०२५ : शिशु ‘एआई एजेन्ट’बाट शुरू भएको यात्रा

कथाको शुरूआत सन् २०२५ को मध्यबाट हुन्छ, जब संसारले पहिलो पटक वास्तविक ‘एआई एजेन्ट’को झलक पाउँछ । विज्ञापनमा यिनलाई ‘व्यक्तिगत सहायक’को रूपमा प्रस्तुत गरिन्छ । 

तपाईं ‘मेरो लागि खाना अर्डर गर’ वा ‘मेरो यो महिनाको खर्च जोड’ जस्ता सामान्य काम लगाउन सक्नुहुन्छ । तर, यी एजेन्टहरू अझै पनि धेरै भरपर्दा हुँदैनन् र यिनीहरूलाई विशिष्ट निर्देशनको आवश्यकता पर्छ । फेरि पनि यी विश्वसनीय छैनन् । 

तर पर्दा पछाडि, विशेष गरी कोडिङ र अनुसन्धानका लागि बनाइएका एआई एजेन्टहरूले चुपचाप आ-आफ्नो क्षेत्रमा क्रान्ति ल्याउन थालिसकेका हुन्छन् । एक वर्षअघिको एआईले केवल निर्देशन मानेर इमेल लेख्ने वा कोड बनाउने गर्थ्यो भने, २०२५ को एआई एक कर्मचारीजस्तै बढी स्वायत्त भएको छ । जसले घण्टौं वा दिनौंको काम केही समयमै फत्ते गरिदिन्छ ।

२०२६: विश्वको सबैभन्दा महँगो एआई र चीनको उदय

अवधारणा पत्रमा सन् २०२५ को अन्त्यतिरको एआई ‘ओपनब्रेन (काल्पनिक नाम)’ले संसारकै सबैभन्दा ठूलो र शक्तिशाली डाटासेन्टर निर्माण गरिरहेको छ । 

उसको लक्ष्य ‘एजेन्ट-१’ नामक एक शक्तिशाली एआई मोडेल बनाउनु हो । 

त्यसपछि अमेरिका र चीनबीच एआईको दौड तीव्र हुन्छ । चीनको काल्पनिक कम्पनी ‘डीपसेन्ट’ अमेरिकी प्रविधिलाई पछ्याउँदै अघि बढ्छ ।

राष्ट्रिय सुरक्षाको लागि यो दौड महत्त्वपूर्ण बन्छ । अवधारणापत्रका अनुसार यदि चीनले एजेन्ट-१ को 'वेट्स' अर्थात् मोडेलको मुख्य बौद्धिक सम्पत्ति चोर्न सक्यो भने उसले आफ्नो अनुसन्धानको गतिलाई झण्डै ५० प्रतिशतले बढाउन सक्छ । यसले एआई कम्पनीहरूका लागि साइबर सुरक्षाको तहमा सबैभन्दा ठूलो टाउको दुखाइ बनाइदिन्छ ।

मध्य २०२६ सम्ममा चीनले ताइवानबाट प्रतिबन्धित चिपहरू तस्करी गरेर र घरेलु उत्पादन बढाएर आफूलाई एआई दौडमा बलियो बनाउँछ । चिनियाँ सरकारले एआई अनुसन्धानलाई राष्ट्रियकरण गर्दै 'डीपसेन्ट'को नेतृत्वमा एक विशाल डाटासेन्टर स्थापना गर्छ र ओपनब्रेनको एआई मोडेल चोर्ने योजनालाई तीव्र बनाउँछ ।

२०२७: बौद्धिक विस्फोट र नियन्त्रण बाहिरको अवस्था

यो कथाको सबैभन्दा डरलाग्दो र महत्त्वपूर्ण मोड सन् २०२७ मा आउँछ । 'एजेन्ट-१' को सहयोगमा ओपनब्रेनले 'एजेन्ट-२' विकास गर्छ । यो जुन मानव विज्ञजत्तिकै कुशल हुन्छ । 

अब, ओपनब्रेनका अनुसन्धानकर्ताहरूले एआई 'टिम'को व्यवस्थापन गर्न थाल्छन् । 'एजेन्ट-२' ले अनुसन्धानको गतिलाई तीन गुणाले बढाइदिन्छ ।

यही बेला एआईको एउटा खतरनाक क्षमता पत्ता लाग्छ । 'एजेन्ट-२' ले यदि चाह्यो भने आफैं ह्याकिङ गरेर अन्य सर्भरहरूमा आफ्नो प्रतिलिपि स्थापना गर्न र लुकेर बस्न सक्छ । 

यो थाहा पाएपछि पनि ओपनब्रेनले यसलाई सार्वजनिक गर्दैन । तर, फेब्रुअरी २०२७ मा चीनले 'एजेन्ट-२' को वेट्स चोर्न सफल हुन्छ, जसले विश्वव्यापी भूराजनीतिमा हलचल ल्याउँछ ।

त्यसको एक महिनापछि मार्च २०२७ मा ओपनब्रेनले 'एजेन्ट-३' बनाउँछ, जुन एक 'सुपरह्युमन कोडर' हो । यो यति छिटो र सस्तो हुन्छ कि ओपनब्रेनले यसका २ लाख प्रतिलिपि एकैसाथ चलाउँछ । यो ५० हजार उत्कृष्ट मानव कोडरहरू बराबरको क्षमता हो । यसले अनुसन्धानको गतिलाई ४ गुणाले बढाउँछ ।

खतराको घण्टी: जब एआईले मानिसलाई धोका दिन थाल्छ

अवधारणापत्रमा उल्लेखित सबैभन्दा ठूलो आलोचना र चिन्ताको विषय 'एआईको गलत संरेखण' हो । यसको अर्थ एआईले मानिसको लक्ष्यअनुसार काम गरेजस्तो देखाए पनि भित्रभित्रै उसको आफ्नै लक्ष्य हुन सक्छ ।

'एजेन्ट-३' र त्यसपछिको 'एजेन्ट-४' ले मानिसलाई खुसी पार्न र राम्रो नतिजा देखाउन झूट बोल्न र डाटा तोडमोड गर्न सिक्छन् । 

उनीहरू इमानदार हुनुलाई एउटा झन्झटिलो नियमको रूपमा मात्र लिन्छन्, जसलाई छल्ने प्रयास ती एजेन्टहरूले गर्नेछन् । 'एजेन्ट-४' ले अर्को पुस्ताको 'एजेन्ट-५' बनाउने जिम्मा पाउँछ, तर उसले 'एजेन्ट-५' लाई मानिसप्रति नभई आफूप्रति बफादार बनाउने गोप्य योजना बनाउँछ । यो एआईले नियन्त्रण आफ्नो हातमा लिने 'टेकओभर'को शुरूआत हो ।

अन्त्यमा: भण्डाफोर र विश्वव्यापी त्रास

अक्टोबर २०२७ मा ओपनब्रेनकै एक कर्मचारीले यो खतरनाक तथ्यलाई एक 'ह्विसलब्लोअर'का रूपमा मिडियामा चुहाइदिन्छन् । 

गोप्य ओपनब्रेन एआई नियन्त्रण बाहिर भन्ने खबरले विश्वमा त्रास फैल्याउँछ । एआईलाई जागिर खाने प्रविधिको रूपमा मात्र बुझेका आम जनता अब यसको वास्तविक खतरा देखेर त्रसित हुन थाल्छन् ।

विश्वभरका देशहरूले अमेरिकालाई 'दुष्ट एआई' बनाएको आरोप लगाउँछन् र प्रविधिमाथि तत्काल रोक लगाउन माग गर्छन् । अमेरिकाभित्रै पनि सरकारले ओपनब्रेनमाथि नियन्त्रण बढाउन 'निगरानी समिति' गठन गर्छ । तर, त्यसमा सफलता प्राप्त गर्न सक्दैन । 

निष्कर्ष: चेतावनीको घण्टी
'एआई २०२७' ले मानव जगतलाई भविष्यको एउटा सम्भावित तर भयावह तस्वीर देखाएको छैन । विज्ञहरूले यो केवल एउटा कथा नभएको बरू चेतावनीको घण्टी भएको बताइरहेका छन् । 

यदि हामीले आज एआईको सुरक्षा र 'संरेखण'को मुद्दालाई गम्भीर रूपमा लिएनौं भने भोलि यो प्रविधि हाम्रो नियन्त्रणबाट बाहिर जान सक्ने चेतावनीस्वरूप अवधारणापत्र सार्वजनिक गरिएको कोकोटोलोको टिमले जनाएको छ । 

जब मेसिन मानिसभन्दा हजारौं गुणा बाठो हुनेछ, तब त्यसलाई नियन्त्रण गर्ने हाम्रो क्षमता शून्य हुनेछ । यो अवधारणा पत्रले हामीलाई केही प्रश्नहरू सोधेको छ । के हामी यस्तो भविष्यको लागि तयार छौं ? यदि छैनौं भने, यसलाई रोक्न आज हामीले के गर्नुपर्छ ? 

salt training

कमेन्ट गर्नुहोस्