
बर्खा लागेपछि फेवा ताललाई जलकुम्भीले ढाक्छ । शान्त ताल एकाएक कुरूप देखिन्छ । यो समस्या हरेक वर्षको हो । ठूलो पानी पर्नासाथ तालको मुहानबाट जलकुम्भी बगेर पर्यटकले चहलपहल हुने स्थान आइपुग्छ ।
जलकुम्भीले ताल ढाक्नु, बर्खाको समयमा फेवा कुरूप देखिनु र त्यसलाई सफा गर्नु नियमित चक्र हो । हप्तौंसम्म ताललाई जलकुम्भीले ढाकेपछि विभिन्न संघसंस्थाले कर्मकाण्डी सफाइ अभियान चलाउँछन् पनि । तर, जलकुम्भी व्यवस्थापनको समस्या सधैँ उस्तै हुन्छ ।
यसपटक भने फरक भयो । बर्खा लागेपनि फेवा सफा देखियो । एक/दुई स्थानमा स–साना जलकुम्भी देखिए पनि अघिल्लोपालि जसरी ताल झारले फोहोर भएन । तालमा जलकुम्भी नआएको भने होइन, पर्यटकको चहलपहल हुने स्थान बाराहीघाट, खहरे, हल्लनचोक र डुंगामा सयर गरेर रमाउने स्थानसम्म जलकुम्भी नआइपुगेको हो । जलारी समुदायले तालको मुहानदेखि झार सफा गरेकाले हावाहुरी र बाढीले झार तालभर फैलिन पाएन ।
झार सफा गर्नका लागि आइतबार बिहान सीता जलारी प्याराग्लाइडिङ ल्यान्ड गर्ने स्थान आइपुगेकी थिइन् । धेरै भयो उनी खोलाले ताललाई भेट्टाउने स्थानमा झार सफा गर्न लागेको । उनले ढल्केबरबाट झार फाल्न शुरू गरेकी हुन् ।
फेवामा झार पुग्न रोक्नका लागि पुलठाउँ बार लगाएर राखिएको छ । त्यही बारमा अल्झिएर बसेको झार, सफा गर्न पनि सजिलो । बीचमा पानी पर्यो । सिमसार क्षेत्र वर्षातपछि जलमग्न भयो । त्यसपछि उनको टोली प्याराग्लाइडिङ अवतरण गर्ने स्थानमा आएर सफा गर्न थालेको हो ।

झार सफा गरेबापत उनले दैनिक ६ सय रूपैयाँ पारिश्रमिक पाउँछिन् । जलकुम्भी सफा गर्नका लागि महानगरले जलारी समुदायलाई खटाएको छ । जसबापत् महानगरले उनीहरूलाई पैसा दिने गरेको छ ।
माछा जालमा नपर्ने सिजन हो यो । माछामा आश्रित रहेका जलारी समुदायलाई पारिश्रमिक दिएर ताल सफा गर्ने यो अभियानले राहत दिएको छ । यता, ताल सफा उता दैनिकी छाक टार्ने बाटो मिलेको छ ।
‘माछा मार्ने, माछा बेच्ने मात्र हो । यतिबेला फेरि सिजन पनि छैन माछाको । माछा परिराखेको छैन । ताल सफा गर्न महानगरले पैसा दिएपछि अलि अलि छाक टार्ने पैसा भएको छ,’ उनले भनिन् ।
उनीहरूको टोली बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म काम गर्छन् । त्यसपछि माछा मार्न तालमै डुल्छन् । यसबाहेक जलारी समुदायले स्वःस्फूर्त रूपमा प्रत्येक महिनाको ३ गते ताल सफा गरिराख्छन् । जाडो मौसममा तालमा झार नभए पनि पर्यटकले नै फालेको प्लाष्टिक र बोत्तल हुन्छन् । जसलाई यिनै समुदायले सफा गर्छन् ।
सरसफाइ गर्नेको टोलीमा थिए दिनेश जलारी । उनलाई यो काम पार्ट टाइम जागिर जस्तो भएको छ । थोरै भएपनि खर्च जुटाउन सहज बनेको छ ।
जलारी समुदायका अध्यक्ष ज्ञानबहादुर जलारीका अनुसार अहिले २५ जना जलकुम्भी सरसफाइ अभियानमा जोडिएका छन् । जलकुम्भी उत्पादन हुने थलोमा नै केन्द्रित भएर सरसफाइ भएको उनले बताए ।

जलकुम्भी सफाइ गर्नका लागि २०७४ सालमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र महानगरको ७५ लाख संयुक्त लगानी गरी एक करोड २५ लाख रूपैयाँ लागतमा मेसिन ल्याइएको थियो । क्यानडाबाट ल्याइएको एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिनले सोचे अनुरूप जलकुम्भी फाल्न सकेन । डेढ करोड लगानी ल्याएको मेसिन उल्टै लामो समय थन्किएर बस्यो । अहिले मेसिन बनाएर पुन:प्रयोगमा ल्याइएको छ । बिग्रेको मेसिन बनाएपनि यसले ठूलो झार फाल्न सक्दैन ।
‘मेसिनले ठूलोठूलो तान्न नसक्ने रहेछ । हल्का तान्छ । अहिले मेसिन र मानवशक्ति प्रयोग भएको छ,’ उनले भने ।
फेवातालको माछा मारेर आश्रित १ सय बढी परिवार संख्या छन् । कोही पिँजडामा माछा पालन गर्छन् । कोही दैनिक माछा मार्न हिँड्छन् । तालमा जलकुम्भी जस्ता झार आउँदा सबैभन्दा समस्या यिनै जलारीलाई समूदायलाई पर्छ ।
‘बर्खाको समयमा जलकुम्भी झार तालभरी फैलियो भने त जाल फिँजाउन समस्या हुन्छ । फिँजाइहाल्यो भने पनि यसले क्षतविक्षत बनाउँछ’ ज्ञानबहादुरले भने ।
