२९ जेठ २०८३, शुक्रबार
फेवा तालको सफाइमा जलारी

जलकुम्भी सरसफाइमा जलारी समुदाय, महानगरले दिने पारिश्रमिकले राहत

साउन १८, २०८२
पाेखरा
जलकुम्भी सरसफाइमा जलारी समुदाय, महानगरले दिने पारिश्रमिकले राहत

बर्खा लागेपछि फेवा ताललाई जलकुम्भीले ढाक्छ । शान्त ताल एकाएक कुरूप देखिन्छ । यो समस्या हरेक वर्षको हो । ठूलो पानी पर्नासाथ तालको मुहानबाट जलकुम्भी बगेर पर्यटकले चहलपहल हुने स्थान आइपुग्छ । 

जलकुम्भीले ताल ढाक्नु, बर्खाको समयमा फेवा कुरूप देखिनु र त्यसलाई सफा गर्नु नियमित चक्र हो । हप्तौंसम्म ताललाई जलकुम्भीले ढाकेपछि विभिन्न संघसंस्थाले कर्मकाण्डी सफाइ अभियान चलाउँछन् पनि । तर, जलकुम्भी व्यवस्थापनको समस्या सधैँ उस्तै हुन्छ ।

यसपटक भने फरक भयो । बर्खा लागेपनि फेवा सफा देखियो । एक/दुई स्थानमा स–साना जलकुम्भी देखिए पनि अघिल्लोपालि जसरी ताल झारले फोहोर भएन । तालमा जलकुम्भी नआएको भने होइन, पर्यटकको चहलपहल हुने स्थान बाराहीघाट, खहरे, हल्लनचोक र डुंगामा सयर गरेर रमाउने स्थानसम्म जलकुम्भी नआइपुगेको हो । जलारी समुदायले तालको मुहानदेखि झार सफा गरेकाले हावाहुरी र बाढीले झार तालभर फैलिन पाएन ।

झार सफा गर्नका लागि आइतबार बिहान सीता जलारी प्याराग्लाइडिङ ल्यान्ड गर्ने स्थान आइपुगेकी थिइन् । धेरै भयो उनी खोलाले ताललाई भेट्टाउने स्थानमा झार सफा गर्न लागेको । उनले ढल्केबरबाट झार फाल्न शुरू गरेकी हुन् । 

फेवामा झार पुग्न रोक्नका लागि पुलठाउँ बार लगाएर राखिएको छ । त्यही बारमा अल्झिएर बसेको झार, सफा गर्न पनि सजिलो । बीचमा पानी पर्‍यो । सिमसार क्षेत्र वर्षातपछि जलमग्न भयो । त्यसपछि उनको टोली प्याराग्लाइडिङ अवतरण गर्ने स्थानमा आएर सफा गर्न थालेको हो । 

null

झार सफा गरेबापत उनले दैनिक ६ सय रूपैयाँ पारिश्रमिक पाउँछिन् । जलकुम्भी सफा गर्नका लागि महानगरले जलारी समुदायलाई खटाएको छ । जसबापत् महानगरले उनीहरूलाई पैसा दिने गरेको छ । 

माछा जालमा नपर्ने सिजन हो यो । माछामा आश्रित रहेका जलारी समुदायलाई पारिश्रमिक दिएर ताल सफा गर्ने यो अभियानले राहत दिएको छ । यता, ताल सफा उता दैनिकी छाक टार्ने बाटो मिलेको छ ।

‘माछा मार्ने, माछा बेच्ने मात्र हो ।  यतिबेला फेरि सिजन पनि छैन माछाको । माछा परिराखेको छैन । ताल सफा गर्न महानगरले पैसा दिएपछि अलि अलि छाक टार्ने पैसा भएको छ,’ उनले भनिन् ।

उनीहरूको टोली बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म काम गर्छन् । त्यसपछि माछा मार्न तालमै डुल्छन् । यसबाहेक जलारी समुदायले स्वःस्फूर्त रूपमा प्रत्येक महिनाको ३ गते ताल सफा गरिराख्छन् । जाडो मौसममा तालमा झार नभए पनि पर्यटकले नै फालेको प्लाष्टिक र बोत्तल हुन्छन् । जसलाई यिनै समुदायले सफा गर्छन् ।

सरसफाइ गर्नेको टोलीमा थिए दिनेश जलारी । उनलाई यो काम पार्ट टाइम जागिर जस्तो भएको छ । थोरै भएपनि खर्च जुटाउन सहज बनेको छ ।

जलारी समुदायका अध्यक्ष ज्ञानबहादुर जलारीका अनुसार अहिले २५ जना जलकुम्भी सरसफाइ अभियानमा जोडिएका छन् । जलकुम्भी उत्पादन हुने थलोमा नै केन्द्रित भएर सरसफाइ भएको उनले बताए ।

null

जलकुम्भी सफाइ गर्नका लागि २०७४ सालमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र महानगरको ७५ लाख संयुक्त लगानी गरी एक करोड २५ लाख रूपैयाँ लागतमा मेसिन ल्याइएको थियो । क्यानडाबाट ल्याइएको एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिनले सोचे अनुरूप जलकुम्भी फाल्न सकेन । डेढ करोड लगानी ल्याएको मेसिन उल्टै लामो समय थन्किएर बस्यो । अहिले मेसिन बनाएर पुन:प्रयोगमा ल्याइएको छ । बिग्रेको मेसिन बनाएपनि यसले ठूलो झार फाल्न सक्दैन ।

‘मेसिनले ठूलोठूलो तान्न नसक्ने रहेछ । हल्का तान्छ । अहिले मेसिन र मानवशक्ति प्रयोग भएको छ,’ उनले भने ।

फेवातालको माछा मारेर आश्रित १ सय बढी परिवार संख्या छन् । कोही पिँजडामा माछा पालन गर्छन् । कोही दैनिक माछा मार्न हिँड्छन् । तालमा जलकुम्भी जस्ता झार आउँदा सबैभन्दा समस्या यिनै जलारीलाई समूदायलाई पर्छ ।

‘बर्खाको समयमा जलकुम्भी झार तालभरी फैलियो भने त जाल फिँजाउन समस्या हुन्छ । फिँजाइहाल्यो भने पनि यसले क्षतविक्षत बनाउँछ’ ज्ञानबहादुरले भने ।

null

salt training

कमेन्ट गर्नुहोस्