
२०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला भारतले नेपाललाई १५ वटा मुर्रा जातको राँगा दिने घोषणा भएको थियो ।
त्यतिबेला उक्त विषयले अत्यधिक चर्चा बटुलेको थियो । कतिपयले आलोचना समेत गरेका थिए । यहाँसम्म कि संघीय संसद्मा बोल्दै स्वयं प्रधानमन्त्री दाहालले मुर्रा जातको राँगा दिने विषय पहिलेदेखि नै प्रक्रियामा रहेको स्पष्टीकरण दिनुपरेको थियो ।
भारतले नेपालाई मुर्रा राँगा दिने भनेको दुई वर्षभन्दा बढी भइसकेको छ । भारतले नेपाललाई दिने भनिएका राँगाहरू कहाँ गए ? ल्याइयो कि ल्याइएन ? यस विषयमा लोकान्तरले सोधखोज गरेको छ ।
भारतले नेपाललाई मुर्रा राँगा दिने घोषणाको करिब ८ महिनापछि २०८० मंसिरमा १५ वटा मुर्रा जातका राँगा बाँकेको जमुनाहा नाका हुँदै नेपालगञ्जमा ल्याइएका थिए ।
कूल १५ वटा मुर्रा राँगामा ७ वटा राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरा, ३ वटा लहान र ५ वटा नेपालगञ्जमै राखिएको पशु सेवा विभागका पशु चिकित्सक हरिसिंह भाटले बताए । अहिले अधिकांश राँगाको विकास भइरहेको र केही राँगाबाट सिमेन (वीर्य) संकलन गर्न समेत शुरू गरिसकेको उनको भनाइ छ ।
‘शुरूमै १५ वटा मुर्रा राँगाहरूमध्ये ७ वटा पोखरामा पठाइयो । ३ वटा लहान र बाँकी नेपालगञ्जमै राखिएको थियो’, उनले भने, ‘अहिले झन्डै डेढ वर्ष हुँदा केही राँगाहरूको सिमेन संकलन शुरू गरिएको छ भने अन्यको विकास भइरहेको छ ।’
भारतबाट मुर्रा क्रस व्रीड गरेर उन्नत जातको भैँसी बनाउनका लागि ल्याइएको हो । मुर्रा जातको राँगाबाट संकलन गरिने वीर्यलाई कृत्रिम गर्भाधान गर्नका लागि प्रयोग गरिनेछ । मुर्रा जातको वीर्यबाट गर्भाधान गराइने भैँसीको औसत उत्पादन र दूधको उत्पादनमा वृद्धि हुने जनाइएको छ ।
भारतले नेपालाई २०८० मा मुर्रा राँगा दिने घोषणा गरे पनि मुर्रा जातका राँगा ल्याउने प्रक्रिया २०७३ सालदेखि नै चलिरहेको थियो ।
के गरिँदैछन् मुर्रा राँगा ?
पोखरामा राखिएका भारतबाट ल्याइएका ७ वटा मुर्रा राँगाहरूमध्ये केहीबाट सिमेन निकालेर वितरण समेत गरिएको राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका प्रमुख विश्वनाथ गौतमले लोकान्तरलाई जानकारी दिए । अन्य राँगाहरूको पनि विकास भइरहेको उनको भनाइ छ ।
पोखरामा पहिलेदेखि नै मुर्रा जातका राँगा थिए । अहिले भारतबाट ल्याइएका ७ वटा राँगासहित कूल १६ वटा राँगा पोखरामा छन् ।
‘गत आर्थिक वर्षदेखि केही राँगाहरूबाट सिमेन कलेक्सन गर्न शुरू भइसकेको हो । हामीले सिमेन कलेक्सन गरेर वितरण समेत गरिसकेका छौं’, उनले भने, ‘पहिलेदेखि केही मुर्रा राँगाहरू थिए । पुरानालाई नयाँले रिप्लेस गर्दै गइन्छ ।’
प्रजनन् कार्यालयमा संकलन गर्ने वीर्यलाई माइनस ९६ डिग्री सेल्सियस तापक्रममा राख्ने गरिन्छ । यस्तो चिसोमा राख्नका लागि लिक्विड नाइट्रोजनको आवश्यक हुन्छ । नाइट्रोजनको सहायताले राखिने सिमेनलाई वर्षौं वर्षसम्म पनि प्रयोग गर्न सकिन्छ ।
पछिल्ला केही वर्षदेखि स्थानीय पालिकाहरूले पनि पशुमा कृत्रिम गर्भाधान कार्यक्रम चलाउने गरेका छन् । पालिकाहरूले नै सञ्चालन गर्ने कृत्रिम गर्भाधानका लागि पशु प्रजनन् कार्यालयले वीर्य उपलब्ध गराउँदै आएको छ ।
नेपालमा रैथाने र आयातित उन्नत जातका दुई प्रकारका भैँसी पाइन्छ । नेपालमा लिमे, पारकोटे र गड्डी जातको स्थानीय भैँसी र मुर्रा शुद्ध नश्ल र मुर्रा क्रस व्रीड भैंसीका प्रजाति पाइन्छ ।
अहिले नेपालमा ल्याएको मुर्राको जातबाट औसत दूध उत्पादन ३ हजार लिटरभन्दा बढी छ । मुर्रा जातको राँगाबाट जन्मेका भैँसीको दूधमा ६ देखि ८ प्रतिशतसम्म चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशतभन्दा बढी चिल्लो पदार्थबाहेकको ठोस पदार्थ (एसएनएफ–सोलिड नट फ्याट) पाइन्छ ।
नेपालमा स्थानीय भैँसीको औसत उत्पादकत्व करिब ९ सय लिटर दूध प्रतिवेत छ । यस्तै, मुर्रा क्रस व्रीड भैँसीको औसत उत्पादकत्व करिब १ सय ५ सय लिटर दूध प्रतिवेत र शुद्ध नश्लका मुर्रा भैँसीको औसत उत्पादकत्व करिब २ हजार ३ सय लिटर दूध प्रतिवेत छ ।
नेपालमा २९ लाख भैँसीको संख्या रहेको राष्ट्रिय कृषि गणनाले देखाउँछ । यसमध्ये २६ प्रतिशतको हाराहारीमा उन्नत तथा वर्णशंकर भैँसी छ ।
कृत्रिम गर्भाधान गर्नका लागि प्रत्येक डोज (एक पटक गर्भाधान गर्दा लग्ने मात्रा)को ५० रूपैयाँ राजस्व तीर्नुपर्छ । जोकसैले ५० रूपैयाँ राजस्व तिरेर यस्तो कृत्रिम गर्भाधान गर्न सक्ने विभागले जनाएको छ ।
पशु विज्ञहरूले कृत्रिम गर्भाधानका लागि २०० देखि ३०० रूपैयाँमा गाउँघरमा गर्ने गरेका छन् । यसका साथै निजी गर्भाधानकर्ताहरूले पनि गाउँघरमा कृत्रिम गर्भाधान गराउँदै आएका छन् ।