२३ जेठ २०८३, शनिबार

एसईईमा ४ जीपीए ल्याउने बाल गीताञ्जलीका ६ विद्यार्थी सम्मानित

साउन १८, २०८२
काठमाडौं
एसईईमा ४ जीपीए ल्याउने बाल गीताञ्जलीका ६ विद्यार्थी सम्मानित

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित बाल गीताञ्जली माध्यमिक विद्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

शनिबार विद्यालयमा आयोजित कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै सम्मान गरिएको हो । कार्यक्रममा शिक्षक, अभिभावक र नगरपालिकाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

विद्यालयका अनुसार, यस वर्ष एसईईमा सहभागी भएका ४२ जना मध्ये ६ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।

विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै कागेश्वरी मनोहरा नगरपालिकाभर ४ जीपीए ल्याउने एकमात्र विद्यालयको कीर्तिमानसमेत राखेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले बाल गीताञ्जली विद्यालय नगर मात्र नभएर पूर्वी काठमाडौंकै अनुकरणीय शैक्षिक संस्था भएको बताए ।

विद्यालयले कमजोर शैक्षिक पृष्ठभूमिका बालबालिकालाई समेत सफलता दिलाउन सक्ने क्षमताको विकास गरेको भन्दै उनले संस्कार, संस्कृति र सीपमूलक शिक्षामा विद्यालय अग्रणी रहेको बताए । साथै, नगरपालिकाले सबै विद्यालयलाई समान रूपमा सहयोग गर्दै ‘नो एनजी’ अवधारणा लागू गर्ने योजना रहेको जानकारी दिए।​ 

उपमेयर शान्ता थापाले बाल्यकालमै सही र गलतबीच छुट्याएर निर्णय लिन सक्ने चेतनाको विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै, गीताञ्जलीका विद्यार्थीहरूले अभिभावक र नगरपालिकाको शिर नझुक्ने गरी आचरण गर्ने विश्वास व्यक्त गरिन् । अनुशासन र मूल्य बोधले नै व्यक्तित्व निर्माण गर्ने हुँदा त्यसतर्फ विशेष ध्यान दिनुपर्ने उनको जोड थियो।

वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयाँलले एसईईपछि शैक्षिक यात्रा अझ फराकिलो हुने भएकाले विद्यार्थीहरूले अझ धेरै ज्ञान आर्जन गर्नुपर्ने बताए । उनले आर्थिक रूपमा कमजोर वर्गका बालबालिकाको शिक्षामा सुधार ल्याउन नगरपालिका प्रतिबद्ध रहेको र सामुदायिक विद्यालयको नतिजा उकास्ने प्रयासहरू पनि भइरहेको बताए ।

विद्यालयको सफलतामा शिक्षकहरूको शिक्षण शैली, विद्यार्थीहरूप्रतिको व्यवहार र विद्यालयको समग्र वातावरणले महत्त्वपूर्ण भूमिका खेलेको अभिभावकहरूको भनाइ छ ।

अभिभावक महेश्वर चापागाईंले शिक्षक, विद्यार्थी र अभिभावकको सामूहिक प्रयासले विद्यालयले राम्रो नतिजा ल्याएको बताए ।

४ जीपीए ल्याउने विद्यार्थी मध्येका विवेक अधिकारीले विद्यालयलाई दोस्रो घरको रूपमा अनुभूति गरेको भन्दै १० वर्ष लामो अध्ययन यात्रामा रमाइला पलहरू बिताएको स्मरण गरे । विद्यालयमा पारिवारिक वातावरण पाएको र शिक्षकहरूको माया, मार्गदर्शन र प्रेरणाले आफूलाई यो सफलतासम्म ल्याएको उनले बताए।

विद्यालयका प्रधानाध्यापक महेन्द्रराज घिमिरेले यो सफलता विद्यार्थीको कडा मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको साथले सम्भव भएको उल्लेख गरे । शिक्षकले बाटो देखाउने काम गर्ने भए पनि अन्ततः नतिजा विद्यार्थीको प्रयासमा भर पर्ने बताए।

कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूका साथै विद्यालयका शिक्षक र कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । बाल गीताञ्जली विद्यालयले यो सफलतामार्फत पूर्वी काठमाडौं क्षेत्रमै प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्