२७ जेठ २०८३, बुधबार
एनपीएल खर्च विवाद

‘स्लट कस्ट’को झण्डै ३ करोडले क्यान बोर्डमा विवाद, लारा ल्याउन टिकटमा मात्र ५५ लाख !

साउन १९, २०८२
काठमाडौं
‘स्लट कस्ट’को झण्डै ३ करोडले क्यान बोर्डमा विवाद, लारा ल्याउन टिकटमा मात्र ५५ लाख !

नेपाल प्रिमियर लीग (एनपीएल) क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आयोजनाका क्रममा भएको खर्चको विवरण प्रस्तुत गर्दा ‘स्लट कस्ट’ भनेर एकमुस्ट दुई करोड ९३ लाख रुपैयाँ खर्च देखाइएपछि क्यान बोर्डभित्र तीव्र असन्तुष्टि उत्पन्न भएको छ ।

क्यानका बोर्ड सदस्यहरूले सम्बद्ध अधिकारीसँग विस्तृत रूपमा खर्च विवरण पेश गर्न माग गरेका छन् । एनपीएलको पहिलो संस्करण सम्पन्न भएको लामो समय बितिसक्दा पनि खर्च विवरण सार्वजनिक नगरिएको भन्दै क्यानका सदस्यहरूले गुनासो गर्दै आएका थिए । त्यसपछि क्यानको हालै सम्पन्न बोर्ड बैठकमा एनपीएलको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो ।

सोही आय–व्यय विवरणमा ‘स्लट कस्ट’ भनेर एकमुस्ट दुई करोड ९३ लाख रुपैयाँ खर्च देखाइएपछि यसको विषयमा विवाद उत्पन्न भएको हो । यसका अतिरिक्त, ‘प्रोडक्सन कस्ट’ भनेर अर्को १ करोड ३४ लाख रुपैयाँ खर्च देखाइएको छ । यो शीर्षकलाई पनि अझ विस्तृत रूपमा पेश गर्न बोर्ड सदस्यहरूले माग गरेका छन् ।

‘बोर्ड बैठकमा प्रस्तुत गरिएको आय–व्यय विवरण सतही छ । एउटा अमूर्त शीर्षक दिएर ठूलो रकम खर्च भएको उल्लेख गरिएको छ । हामी पारदर्शी हुनु आवश्यक छ । त्यसैले प्रत्येक शीर्षकमा भएको खर्चलाई अझ विस्तृत रूपमा प्रस्तुत गरियोस् भनेर माग राखेका छौं,’ क्यानका एक बोर्ड सदस्यले लोकान्तरसँग भने ।

क्यानका प्रवक्ता छुम्बी लामा स्लट कस्टका रूपमा देखाइएको खर्च प्रत्यक्ष प्रशारणबापत स्टार स्पोर्ट्सलाई दिइएको बताउँछन् । यसमा विवाद गरिराख्न आवश्यक नभएको उनको जिकिर छ ।

यसैगरी, एनपीएलका क्रममा वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारालाई विशेष अतिथिका रूपमा नेपाल ल्याइएको थियो । विश्व क्रिकेटकै महान खेलाडीमध्ये एक लारा आफ्नी छोरीसहित नेपाल भ्रमणमा आएका थिए ।

क्यानको बोर्ड बैठकमा प्रस्तुत गरिएको खर्च विवरणमा ब्रायन लाराको टिकटमा मात्र ५५ लाख ५० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । खर्च विवरणमा लाराको टिकट ‘बुक माई टिकट प्रालि’बाट खरिद गरिएको उल्लेख गरिएको छ ।

बोर्ड सदस्यहरूले लाराको टिकटमा भएको खर्चको विषयमा पनि प्रश्न उठाएका छन् । एनपीएल आयोजनाका क्रममा ‘ट्राभल’ शीर्षकमा कुल ९७ लाख ५६ हजार पाँच सय ९० रुपैयाँ खर्च भएको विवरण बोर्ड बैठकमा प्रस्तुत गरिएको छ ।

null

यसैगरी, एनपीएल आयोजनाका क्रममा ‘क्यान भत्ता’ शीर्षकमा ३६ लाख २२ हजार पाँच सय रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । स्वास्थ्य उपचार शीर्षकमा पाँच लाख ११ हजार चार सय ६४ रुपैयाँ खर्च भएको जनाइएको छ ।

यसैगरी, प्रतियोगिताका क्रममा टेन्ट शीर्षकमा ३३ लाख ५८ हजार तीन सय १८ रुपैयाँ र टुर्नामेन्ट शीर्षकमा १० लाख ३२ हजार चार सय ३५ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । सफाइमा सात लाख ५९ हजार ६ सय ४३ रुपैयाँ र इन्टरनेटमा सात लाख दुई हजार ६ सय ५६ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

यसैगरी, नेपाल पुलिस, सशस्त्र प्रहरी र नेपाल आर्मीका लागि १९ लाख ५७ हजार पाँच सय रुपैयाँ खर्च भएको जनाइएको छ । पूर्व प्रतिबद्धता अनुसार विभागीय टीमका खेलाडीलाई दिइने ५ प्रतिशत रकम तीनवटै संगठनलाई बुझाइएको क्यानका प्रवक्ता छुम्बी लामा बताउँछन् ।

प्रतियोगिताका क्रममा सुरक्षाका लागि गरुड सेक्युरिटीलाई १७ लाख ४९ हजार दुई सय ४० रुपैयाँ प्रदान गरिएको विवरणमा उल्लेख छ ।

यसैगरी, प्रतियोगिताका क्रममा जेनरेटर खर्च शीर्षकमा ३९ लाख ५९ हजार नौ सय ८२ रुपैयाँ र फ्लेक्स तथा फ्रेम खर्च शीर्षकमा ६५ लाख ९५ हजार चार सय ४७ रुपैयाँ उल्लेख गरिएको छ । प्यारापिट निर्माण शीर्षकमा पनि ३६ लाख एक हजार सात सय तीन रुपैयाँ खर्च देखाइएको छ ।

यसका अतिरिक्त, प्रतियोगिताको ट्रफीका लागि १४ लाख ५३ हजार तीन सय २७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । एलईडी र साउन्ड सिस्टम शीर्षकमा एक करोड ३२ लाख ३२ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

यसैगरी, फूड एन्ड क्याटरिङ शीर्षकमा एक करोड ८८ लाख ९५ हजार पाँच सय ६३ रुपैयाँ खर्च देखाइएको छ । लाराका लागि गरिएको अन्तरक्रिया कार्यक्रममा पनि ६ लाख ८८ हजार आठ सय ८४ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

यसैगरी, प्रि–टुर्नामेन्ट प्रोग्राम शीर्षकमा ५३ लाख २३ हजार दुई सय ८७ रुपैयाँ खर्च देखाइएको छ । फ्रेन्चाइज टोली र विभिन्न अतिथिलाई होटलमा राख्दा एक करोड १३ लाख ५७ हजार दुई सय ४३ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । ब्रायल लारालाई राखिएको होटल खर्च पनि यसैभित्र समावेश गरिएको छ ।

यसका अतिरिक्त, अक्सनका क्रममा १३ लाख ५४ हजार आठ सय ८८ रुपैयाँ, म्यानेजमेन्ट एन्ड ट्राभल फी शीर्षकमा ४५ लाख ६२ हजार तीन सय ७५ रुपैयाँ, डिजिटल एन्ड क्रिएटिभ्स शीर्षकमा ४९ लाख २३ हजार सात सय ५० रुपैयाँ खर्च देखाइएको छ ।

सामाजिक सञ्जाल गतिविधि शीर्षकमा पनि ५६ लाख ५८ हजार नौ सय ८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । आयोजक टोलीका लागि भत्ता शीर्षकमा एक करोड ५२ लाख ५३ हजार चार सय ३४ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

null

एनपीएलको पहिलो संस्करण आयोजनाबाट २७ करोड ६९ लाख ६४ हजार आठ सय १८ रुपैयाँ आर्जन गरिएको विवरण क्यानको बोर्ड बैठकमा प्रस्तुत गरिएको थियो । त्यसमध्ये २० करोड १५ लाख ७३ हजार पाँच सय ५९ रुपैयाँ खर्च भएको जनाइएको छ ।

खर्च कटाएर कुल आम्दानी सात करोड ५३ लाख ९१ हजार दुई सय ५९ रुपैयाँ भएको हिसाब प्रस्तुत गरिएको छ । त्यसको ५० प्रतिशत अर्थात् चार करोड ३७ लाख ४० हजार चार सय ७० रुपैयाँ आठवटा फ्रेन्चाइज टोलीलाई वितरण गरिएको विवरणमा उल्लेख छ ।

आठवटा फ्रेन्चाइज टोलीलाई वितरण गरेपछि तीन करोड १६ लाख ५० हजार सात सय ८९ रुपैयाँ बाँकी रहेको आय–व्यय सार्वजनिक गरिएको छ । त्यसपछि ७० लाख रुपैयाँ प्रदेश क्रिकेट संघहरूलाई उपलब्ध गराइएको बताइएको छ ।

त्यसपछि कुल दुई करोड ४६ लाख ५० हजार सात सय ८९ रुपैयाँ क्यानलाई नाफा भएको आय–व्ययमा उल्लेख गरिएको छ ।

एनपीएलको पहिलो संस्करणको आय–व्यय विवरणबारे गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई अध्ययन र छलफलपछि क्यानको आगामी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्ने बताइएको छ ।

क्यानको बोर्ड बैठकमा करिब साढे दुई करोड रुपैयाँ नाफा भएको देखाइए पनि केही बोर्ड सदस्यहरू आफूहरू त्यसमा सहमत हुन नसकेको बताउँछन् ।

एक बोर्ड सदस्यका अनुसार, क्यानले फ्रेन्चाइज बिक्री गरेबापत १६ करोड ८८ लाख ९३ हजार दुई सय ३१ रुपैयाँ आम्दानी गरेको बताए पनि त्यसमा सरकारी नियमअनुसार बुझाउनु पर्ने १५ प्रतिशत कर कट्टा गरिएको छैन । यसका अतिरिक्त आम्दानीमा बुझाउनु पर्ने कर पनि बुझाइएको छैन । त्यो सबै कटाउँदा नाफाको हिसाब बिग्रिने उनको तर्क छ ।

हेर्नुहोस्, एनपीएलको खर्च र आम्दानीको विवरण :

salt training

कमेन्ट गर्नुहोस्