
प्रेम सम्बन्ध टुटेपछि पोखरामा एक किशोरीले अनौठो हर्कत गरेकी छन् । जुन हर्कतले उनलाई अहिले प्रहरी हिरासतमा पुर्याएको छ । १८ वर्षकी ती किशोरीविरुद्ध ज्यान मार्ने उद्योगमा बैदाम प्रहरीमा बुधबार जाहेरी समेत दर्ता भइसकेको छ ।
यही मंगलबार दिउँसो सिमलचौरकी कल्पना (नाम परिवर्तन ) भान्छामा छिरिन् । खाजाका लागि चाउचाउ पकाउन लाग्दा जारको पानीमा सेतो पदार्थ देखिन् । जारको पानीमा ह्वास गन्ध आयो । त्यतिबेलासम्म पनि कल्पनाले मेसो पाएकी थिइनन्, जारको पानीमा विष मिसिएको छ भन्ने ।
पछि, खानाका छ कि भनेर राइस कुकर खोलिन् । त्यसमा पनि जारको पानीमा भएजस्तो गन्ध आयो । त्यसपछि कल्पनालाई मनमा चिसो पस्यो । बिहानसम्म केही नगनाएको भान्छामा एक्कासि कसरी सेतो पदार्थ र गन्ध आयो उनी संशयमा परिन् ।
एकएक गरि भान्छामा रहेका सबै खाने कुरा हेर्न थालिन् । हेर्दै जाँदा महको डब्बा, च्वानपरास, केचअप लगायत सबैमा गन्धयुक्त सेतो पदार्थ देखियो ।
भान्छाको खाद्यवस्तुमा केही मिसिएको छ भन्ने आशंकामा कल्पनाले प्रहरीमा सम्पर्क गरिन् । प्रहरी आएर अनुसन्धान गर्दा खानामा विष मिसिएको पुष्टि भयो ।
र, खानामा विष हाल्ने काम कल्पनाको भाइकी पूर्वप्रेमिका तिनै १८ वर्षीया किशोरीले गरेको खुल्यो । अनि, उनलाई बुधबार नै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार कल्पनाको परिवार दिउँसो घरमा नभएको समयमा पूर्वप्रेमिका आएको घरबेटीले देखेका थिए । भान्छामा केही शंकास्पद चिज मिसिएको थाहा पाएपछि घरबेटीले कल्पनाको परिवारलाई पूर्वप्रेमिका आएको सुनाए । त्यसपछि प्रहरीलाई खबर पुगेको थियो ।
जाहेरीमा उल्लेख भए अनुसार पूर्वप्रेमिका कल्पनाको घरमा आइरहन्थिन् । भाइको साथी भनेर चिनिएकाले घरमा आऊजाऊ र सम्बन्ध राम्रो थियो । उनलाई घरमा कोही नभएको बेला चाबी कता हुन्छ भन्ने थाहा थियो ।
कल्पनाका अनुसार उनको भाइ र ती किशोरीको केही समय अगाडि सम्बन्ध छुटेको थियो ।
ती किशोरीले आफ्नो प्रेमी अरु केटीसँग बोल्ने थाहा पाएकी थिइन् । त्यही निहुँमा उनीहरूको सम्बन्धमा दरार आएको पाइएको छ । सम्बन्ध टुटेको झोंकमा ती किशोरीले यस्तो हर्कत गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी, डीएसपी हरिबहादुर बस्नेतले बताए ।
यद्यपि घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको उनी बताउँछन् । ‘किशोरीले विष किन हालिन् भन्ने अझै यकिन खुलेको छैन । हामी थप अनुसन्धानमै छौं’, डीएसपी बस्नेतले भने ।