१३ असार २०८३, शनिबार
चिनियाँ राइस–डक प्रविधि

धान खेतमा हाँस पालेर कृषिमा नयाँ अभ्यास गरिरहेका डा. भुसाल

साउन २४, २०८२
बुटवल
धान खेतमा हाँस पालेर कृषिमा नयाँ अभ्यास गरिरहेका डा. भुसाल

चीनबाट अर्थशास्त्रमा विद्यावारिधि गरेर नेपाल फर्किएका डा. दामोदर भुसाल अहिले रुपन्देहीमा कृषि उद्यमीको रूपमा परिचित छन् । गुल्मीमा जन्मे/हुर्केका भुसाल छिमेकी देश चीनमा धान खेतमा भइरहेको ‘राइस डक टेक्नोलोजी’बाट प्रभावित भए । नेपाल फर्केपछि उनले सोही शैलीमा धान खेतमा हाँस पालनगरी अहिले धेरैको ध्यान तानेका छन् ।

एउटा बालीभित्र अर्को बाली अर्थात् ‘इन्टरक्राफ्ट’मा कृषिलाई जोडेपछि तिलोत्तमा नगरपालिका–१० कान्छी बजार अहिले धान खेतमा हाँस पालन गर्ने उद्यमशील टोलको रूपमा परिचित छ । यसलाई एकीकृत कृषि प्रणालीको रूपमा लिइन्छ । कृषिमा नयाँ र फरक अभ्यास भित्र्याएपछि भुसालको इनोभेसन कृषि फर्ममा दैनिक रूपमा अवलोकनकर्ता हेर्न आइरहन्छन् । 'धान खेतमा हाँस पालन एउटा एकीकृत कृषि प्रणाली हो । जसको माध्यमबाट किसानले एउटै समयमा एउटै खेतबाट दुइटा उत्पादन लिन सकिन्छ । यसरी खेती गर्दा धान र हाँस दुवैको उत्पादन लागत कम हुन्छ,' उनी भन्छन्, 'महँगो कृषि मेसिनरी र श्रमिकको अभावका कारण खेती गर्न छाडेका किसानलाई यो प्रविधिले पुन: खेती गर्न उत्प्रेरित गर्छ । यसलाई सस्तो प्राङ्गारिक खेती प्रणाली पनि भनिन्छ । यो प्रविधिको प्रयोग गर्दा धानको उत्पादनमा २० प्रतिशतले वृद्धि हुने र किसानको समग्र आयमा ५० प्रतिशतसम्म वृद्धि हुने देखिन्छ ।’

प्रतिकट्ठा १२/१५ वटा चल्ला नियमित रूपमा खेतमा चराउँदा धानमा कीटनाशक औषधि र अतिरिक्त मल खाद प्रयोग जरुरत पर्दैन । साथै झार गोडमेलको समस्या पनि हुँदैन । हाँसले कीरा, फट्याङ्ग्रा, गँड्यौला तथा विभिन्न झारपात खाई धान खेत सफा गर्छन् । सामान्य अवस्थामा धान खेतमा चरेका हाँसले ६० प्रतिशत दाना खेतबाट प्राप्त गर्छन् ।

साना तथा विपन्न किसानको आयआर्जन र पोषण सुधार गर्न यो प्रविधिबाट खेती गर्दा प्रत्यक्ष योगदान पुर्‍याउँछ । नेपालको सन्दर्भमा यो प्रविधि नयाँ भए पनि जापान,  दक्षिण कोरिया, भियतनाम, चीन र बंगलादेशमा यस प्रकारको खेती प्रणाली लोकप्रिय रहेको भुसालले सुनाए । भुसालको अध्ययन/अनुसन्धानले दक्षिण एसियाका अन्य देशहरूमा पनि धान खेतमा हाँस पालन विस्तार तीव्र गतिमा भइरहेको छ । धान रोपाइँ गरेको १५/२० दिनपछि तीन हप्ताका स्वस्थ हाँसका चल्ला खेतमा चर्न छोड्न सकिन्छ ।

प्रतिकट्ठा १२/१५ वटा चल्ला नियमित रूपमा खेतमा चराउँदा धानमा कीटनाशक औषधि र अतिरिक्त मल खाद प्रयोग जरुरत पर्दैन । साथै झार गोडमेलको समस्या पनि हुँदैन । हाँसले कीरा, फट्याङ्ग्रा, गँड्यौला तथा विभिन्न झारपात खाई धान खेत सफा गर्छन् । सामान्य अवस्थामा धान खेतमा चरेका हाँसले ६० प्रतिशत दाना खेतबाट प्राप्त गर्छन् । जसले गर्दा दाना कम दिँदा पनि हुने भएपछि हाँसको लागत पनि कम पर्न जान्छ । हाँस वयस्क नहुन्जेल जंगली पशुपंक्षीबाट सुरक्षित राख्न भने, आवश्यक हुने भुसाल सुझाउँछन् ।

अन्य पशुपक्षी र कुखुरामा जस्तोजस्तो हाँसमा रोगको समस्या पनि कम हुन्छ । साथै दाना र पानीमा हुने प्रदूषणले समस्या ल्याउन सक्ने भएकोले सरसफाइमा विशेष ध्यान दिन जरुरी रहेका उनको बुझाइ छ । हाँसको मलमूत्रले जमिन उर्वर हुन्छ, त्यसैले खेतीमा रासायनिक मल र विषादीको प्रयोग गर्नु पर्दैन । यो प्रणाली धेरैका लागि अनौठो भए पनि यहाँ आसपासका किसानलाई यहीँ प्रणालीबाट खेती गर्ने प्रेरणा मिलेको भुसाल बताउँछन् ।

null

उनले अहिले १० कट्ठा जग्गामा धान खेतमा हाँस पालन गरेका छन् । उनको फर्ममा पाँच सय हाँस छन् । उनीसँगै एक सयभन्दा बढी टोल बासी यहीँ खेती प्रणालीमा जोडिएका छन् । तत्काल देख्दा आलोचना गर्न खोज्नेहरू बिस्तारै यसको प्रतिफल देखेर राम्रै रहेछ भन्ने तहमा पुगेको उनी बताउँछन् ।

५० वर्षीय भुसालले कृषिजन्य बस्तुमा हुने विभिन्न विषादी र गुणस्तर कम भएका रसायनयुक्त  खाद्यान्नलाई प्रतिस्थापन गराउँदै आफू अर्ग्यानिक र फरक खेतीमा केन्द्रित भएको बताए । ‘चीनमा पढाइ सकेर आएपछि मलाई अन्य कामको लागि दबाब थियो । तर, कृषिमा केही नयाँ केही गर्नुपर्छ भन्ने सोचले धानमा हाँस खेतीप्रति भित्र्याउन मन लाग्यो । आफूले प्रत्यक्ष देखेको र अनुसन्धानअनुसार धान र हाँस खेतीको नेपालमा सम्भावना देखेकाले इन्टरक्राफ्ट खेती अपनाएको हुँ,’ डा. भुसाल भन्छन् ।  थोरै जग्गामा किसानले धानसँगै हाँसबाट अतिरिक्त लाभ लिन सक्ने भएकाले बहु उपयोगी फाइदा लिन सकिन्छ । यसले अर्ग्यानिक उत्पादन प्रणालीलाई पनि अगाडि बढाउँछ । अहिले बजारमा अर्ग्यानिक उत्पादन साह्रै महँगो छ, सस्तो अर्ग्यानिक उत्पादन गर्न यसरी इन्टरक्रफ्ट अर्थात् एउटा बालीभित्र अर्को बाली लगाउने प्रविधिलाई राज्यले पनि जोड दिनुपर्ने भुसाल बताउँछन् ।

सामाजिक उद्यमशीलता बढाउँदै लैजानुपर्ने बेलामा देशभित्रै कुनै सम्भावना छैन भनेर ठूलो ऊर्जावान जनशक्ति देश छोडिरहेको छ । यस्तो समयमा केही जानेका विषयमा शुरूआत गरेर युवालाई देशमा रोक्न उनी आवश्यक देख्छन् । अहिले ठूला व्यवसायभन्दा यस्ता साना र तत्कालै नतिजा देखिने काम अगाडि बढाउने योजना तीनै तहका सरकारले अघि सार्नुपर्ने उनको भनाइ छ ।

लुम्बिनी प्रदेश योजना आयोगका पूर्वसदस्य समेत रहेका भुसालको यो खेती प्रणाली वातावरणीय सन्तुलनका लागि पनि महत्त्वपूर्ण छ । ‘अहिले सबैतिर माटो धेरै बिग्रेको छ । यो खालको प्रयास भएमा हाँस आयात पनि गर्नुपरेन,’ उनी भन्छन्, ‘यो प्रणालीबाट खेती गर्दा अर्ग्यानिक कृषिजन्य वस्तु उत्पादन पनि हुन्छ ।’ तर, शुरू शुरूमा मान्छेलाई बुझाउन गाह्रो भएको उनको अनुभव छ । मान्छेलाई बुझाउन धेरै गाह्रो रहेछ, विदेशी मुलुकमा यही प्रणालीबाट कति उत्पादन बढाएका छन्, यहाँ सरकारले पनि यस्ता नीतिलाई प्राथमिकता दिँदैन,’ डा. भुसालले थपे, ‘किसानले पनि चेतनाको अभावमा विश्वास कम गर्छन् । यसबाट मैले राम्रो प्रतिफल निकालिरहेको छु । त्यसैले म यो विधिमा ढुक्क छु ।’

डा. भुसालले रेमिट्यान्सलाई उद्यमशीलतामा कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि खोज अनुसन्धान गरेका छन् । सामाजिक उद्यमशीलता बढाउँदै लैजानुपर्ने बेलामा देशभित्रै कुनै सम्भावना छैन भनेर ठूलो ऊर्जावान जनशक्ति देश छोडिरहेको छ । यस्तो समयमा केही जानेका विषयमा शुरूआत गरेर युवालाई देशमा रोक्न उनी आवश्यक देख्छन् । अहिले ठूला व्यवसायभन्दा यस्ता साना र तत्कालै नतिजा देखिने काम अगाडि बढाउने योजना तीनै तहका सरकारले अघि सार्नुपर्ने उनको भनाइ छ । राजनीति गर्ने हरेक नेताले मात्रै होइन, कार्यकर्ता नै उद्यमी नबनेसम्म देश आत्मनिर्भर बन्न नसक्ने उनी बताउँछन् । अब यो अभियानलाई दबाबको रूपमा अगाडि बढाउनुपर्ने भुसालको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्