१२ साउन २०८३, मंगलबार

मेक्सिकोले अस्वीकार गर्‍यो अमेरिकी सेनाको प्रवेश प्रस्ताव

साउन २४, २०८२
काठमाडौं
मेक्सिकोले अस्वीकार गर्‍यो अमेरिकी सेनाको प्रवेश प्रस्ताव

मेक्सिकोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकी लागूऔषध गिरोहमाथि कारबाहीका लागि पेन्टागनलाई निर्देशन दिएको समाचार सार्वजनिक भएपछि आफ्नो भू–भागमा अमेरिकी सेना प्रवेश नगर्ने स्पष्ट जनाएको छ ।

शुक्रबार राष्ट्रपति क्लाउडिया शेइनबामले ‘संयुक्त राज्य अमेरिका मेक्सिकोमा सेना लिएर आउने छैन । हामी सहकार्य गर्छौं, समन्वय गर्छौं, तर कुनै आक्रमण हुने छैन । यसलाई पूर्ण रूपमा अस्वीकार गरिन्छ’, भनेकी छन् ।

द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले गोप्य रूपमा विदेशी भूमिमा सैन्य शक्ति प्रयोग गर्न निर्देशनमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसले सो निर्देशनबारे प्रत्यक्ष टिप्पणी नगरे पनि ट्रम्पको शीर्ष प्राथमिकता ‘स्वदेशको सुरक्षा’ रहेको जनाएको छ ।

यसअघि ट्रम्पले आठ लागूऔषध गिरोहलाई औपचारिक रूपमा ‘आतंकी समूह’ घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए, जसमा छ वटा मेक्सिकन समूह थिए । शेइनबामका अनुसार मेक्सिको सरकारले सो आदेश आउने जानकारी पाए पनि त्यसमा कुनै सैनिक संलग्नता नहुने स्पष्ट गरिएको थियो ।

‘यो कुनै सम्झौतासँग सम्बन्धित छैन । जब पनि यसबारे कुरा उठ्छ, हामीले सधैं ‘होइन’ भनेका छौं’, उनले भनिन् । यसअघि उनले ट्रम्पको यो निर्णय अमेरिकाले आफ्नो सार्वभौमिकतामा हस्तक्षेप गर्ने अवसर हुन नहुने बताएकी थिइन् ।

अमेरिकी विदेश सचिव मार्को रुबियोका अनुसार सो घोषणा भएपछि खुफिया निकाय र रक्षा विभागमार्फत गिरोहमाथि कारबाही गर्न सहज हुने छ । उनले गिरोहलाई केवल लागूऔषध कारोबार गर्ने नभई सशस्त्र आतंकी संगठनका रूपमा व्यवहार गर्नुपर्ने बताएका छन् ।

द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पको निर्देशनले समुद्रमा र विदेशी भूमिमा समेत गिरोहविरुद्ध प्रत्यक्ष सैन्य कारबाहीको औपचारिक आधार प्रदान गर्छ ।

हालका महिनामा मेक्सिको र अमेरिकाबीच अवैध आप्रवासी तथा लागूऔषधको प्रवेश रोक्न सहकार्य भएको छ । अमेरिकी सीमाशुल्क तथा सीमा सुरक्षा विभागका तथ्यांकअनुसार यस वर्ष जुन महिनामा सीमा नाकाबाट हुने प्रवेशको संख्या अहिलेसम्मकै न्यून थियो । गत हप्तामात्र अमेरिकी राजदूत रोनाल्ड जोनसनले फेन्टानिल बरामद आधाभन्दा बढी घटेको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्