२७ जेठ २०८३, बुधबार
कैदीबन्दीको नियन्त्रणमा जेल प्रशासन

असुरक्षित बन्दै कारागार : नाइके–चौकीदार स्वार्थ नमिलेर वा आन्तरिक कलहले सधैँ झडप

साउन २५, २०८२
काठमाडौं
असुरक्षित बन्दै कारागार : नाइके–चौकीदार स्वार्थ नमिलेर वा आन्तरिक कलहले सधैँ झडप

कैदी स्थानान्तरणको विषयलाई लिएर शुक्रबार राति कैलाली कारागारभित्र भएको झडपले उग्र रूप लिँदा धनगढीका भरत चौधरीको मृत्यु भयो । ४७ जना कैदीबन्दी घाइते भए ।

कारागारभित्र द्विपक्षीय झडप हुने सूचना कारागार प्रशासनलाई पहिले नै आएको थियो । तर, प्रारम्भिक सूचनालाई गम्भीर रूपमा नलिँदा कारागार रणमैदानमा परिणत हुन पुग्यो । जेलर र निमित्त जेलर बिदामा बसेका बेला भएको यो घटनाले कारागारको सुरक्षामाथि प्रश्न चिह्न खडा गरेको छ ।

अघिल्लो दिनै झगडा हुँदा पाँचजना घाइते भएको घटनालाई गुपचुप राखेर सुरक्षा सावधानी नअपनाउँदा शुक्रबार राति घटनाले अर्को रूप लियो ।

जेलरको चरम लापरबाही भन्दै हिजो मात्रै कैलालीमा नयाँ जेलर पठाइएको छ । ३७ घण्टापछि बल्ल कैदीबन्दीलाई आफन्तले भेट्न थालेका छन् ।

त्यसो त कैलाली कारागारमा पटक–पटक कैदीबन्दीबीच झडप हुँदै आएको थियो ।

गत असार २ मा बैंकिङ कसुरमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका डडेल्धुराका हरिसिंह पालीको मृत्यु भएको थियो । उक्त घटनालाई कारागार प्रशासनले गुपचुप राख्न खोजे पनि पालीको मृत्यु कुटपिटबाट भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको थियो ।

****

जेलको नाइके कसलाई बनाउने भन्ने विवादमा यही साउन ४ गते सिरहा कारागारमा झडप हुँदा १३ जना घाइते भएका थिए । कारागारभित्रको आन्तरिक प्रशासनले नाइके तोक्ने विषयमा चर्को विवाद हुँदा स्थिति द्विपक्षीय झडपमा परिणत भएको थियो ।

एक सय ५० जना क्षमताको कारागारमा चार सय ५० जना कैदीबन्दी राखिएको सिरहामा पनि झडप हुन सक्ने प्रारम्भिक जानकारी जेलरलाई पुग्दापुग्दै पनि हेलचेक्य्राइँ गरिएका कारण झडप भएको बुझिन्छ ।

****

२०८० साउन १९ मा चौकीदार मनोज लावतीको सरुवाको विषयलाई लिएर झापाको भद्रपुर कारागारभित्र दिनभर तनाव भयो । कैदीबन्दीले कारागारभित्र आगो मात्रै बालेनन्, भुइँमा बिच्छ्याइएका इँटा झिकेर प्रहरीमाथि प्रहार गरे । प्रशासन र प्रहरीलाई कारागार प्रवेशमै रोक लगाएका थिए । अन्तत: कारागार प्रशासनले लावतीको सरुवा सच्यायो ।

****

२०७८ चैत २९ मा झुम्का कारागारमा झडप हुँदा २५ जना घाइते भएका थिए । दुईजना चौकीदारसहित १२ जना कैदीबन्दीलाई स्थानान्तरण गरेपछि कसलाई चौकीदार बनाउने भन्ने विषयमा विवाद हुँदा स्थिति झडपमा परिणत भएको थियो । ब्लक ‘ए’ र ‘बी’ का कैदीबन्दीबीच चौकीदार बनाउने विषयमा विवाद सिर्जना भएको थियो । कारागार व्यवस्थापन विभागकै निर्णयानुसार कैदी स्थानान्तरण गर्न खोजेको झुम्काले आन्तरिक सुरक्षा चुनौतीलाई नजरअन्दाज गर्दा झडप हुन पुगेको थियो ।

****

प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ यता विभिन्न कारागारमा १८ पटक झडपका घटना भइसकेका छन् । ललितपुरको नख्खु, मकवानपुरको भीमफेदी, सिन्धुली, चितवन, सुनसरीको झुम्का, काठमाडौंको डिल्लीबजार, दाङको घोराही, मोरङ, कैलाली, सिरहा, झापाको भद्रपुर गरी ९ वटा कारागारमा १८ पटक झडप भएका छन् ।

झडप हुन्छ । हदै भयो भने जेलर र त्यहाँ खटिएका सुरक्षा प्रमुखको सरुवा हुन्छ । दाइ नाइके, भाइ नाइके र चौकीदार फेरिन्छन् । तर, कारागारलाई सुरक्षित बनाउने सवालमा कारागार प्रशासन गम्भीर देखिँदैन ।

जेलरभन्दा शक्तिशाली नाइके र चौकीदार !

कारागारमा सबैभन्दा शक्तिशाली जेल नाइके र चौकीदार हुन्छन् । बैंकिङ कसुरमा दोषी ठहर भई केन्द्रीय कारागारमा ६ वर्ष समय बिताएर छुटेका एक जनाले लोकान्तरसँग भने, ‘जेलका नाइके र चौकीदारको सिधै पहुँच जेलरसँग हुन्छ । जेलभित्र कस्तो खाने कुरा लैजाने, कुन कैदीबन्दीलाई कुन हदसम्मको सुविधा दिने भन्ने निर्णय नाइकेले गर्छन् ।’

उनका अनुसार नाइके र चौकीदारले जेलरलाई मासिक रूपमा खर्च बुझाउँदै आएका हुन्छन् । जेलमा सरकारले नै तोके अनुसारको सिदा दिइएको हुन्छ । त्यही सिदा प्रयोगमा पनि नाइके, चौकीदार र जेलरले मनपरी गर्दै आएका हुन्छन् ।

लोकान्तरलाई जेलभित्रका गतिविधि बुझाउने ती व्यक्ति पुन: अर्को कसुरमा अहिले पनि उपत्यकाकै तीनमध्ये कुनै एक कारागारमा कैद भुक्तान गरिरहेको उनले खुलाए ।

****

जेलको आन्तरिक प्रशासन राज्यको नियन्त्रणमा हुनुपर्छ : काशीराज दाहाल (उनकै शब्दमा)

पूर्व प्रमुख, कारागार व्यवस्थापन विभाग

कारागारभित्रको आन्तरिक प्रशासन अहिले पनि कैदीबन्दीकै नियन्त्रणमा छन् ।

भएका कैदीबन्दीबाटै नाइके र चौकीदार चुनिने हो । त्यो कानूनमै तोकिएको विषय हो ।

कारागारभित्र विभिन्न पृष्ठभूमिका कैदीबन्दी राखिएका हुन्छन् । नयाँ आर्थिक वर्ष शुरू हुनेबित्तिकै चौकीदारको म्याद सकिन्छ । नयाँ नियुक्ति गर्नुपर्ने हुन्छ । धेरै कैदीबन्दी राख्दा त्यहाँ पनि ‘ग्रुपिजम’ हुन्छ । छुट्टै आइडियोलोजी बोकेर कैदीबन्दी दुई समूहमा विभाजित हुन्छन् । दुई पक्षीय कुरा नमिले पनि बेलाबेलामा उनीहरूबीच झडप हुने गर्छ । तर, प्रत्येक घटनालाई फरक–फरक ढंगले अध्ययन गर्नुपर्ने हुन्छ । क्षमताभन्दा धेरै कैदीबन्दी राखिएका कारागारमा झडप हुँदा त्यहाँ ठूलो क्षति व्यहोर्नुपर्छ ।

कारागारमा सुविधा थोरै हुन्छन् । खासमा कारागारभित्रको आन्तरिक व्यवस्थापन राज्यले गर्न सक्यो भने झडपको स्थिति आउँदैन । तर, तत्काल त्यो सम्भव पनि देखिँदैन । थोरै कर्मचारीले पुग्दैन । ब्लक छुट्याउनुपर्छ । अनि भएकै कैदीबन्दीबाट नाइके र चौकीदार राखेपछि उनीहरूले आफ्नो स्वार्थअनुकूल काम गराउन खोज्छन् ।

कारागारमा सकभर कर्मचारी बस्नै मान्दैनन् । लामो समय एउटै कार्यालयमा बिताउनुपर्ने भएपछि उनीहरूमा नैराश्यता छाउँछ । अनि जेलरले निमित्त तोकेर बिदामा बस्छन् । निमित्तले पनि आफू मुनिकालाई जिम्मेवारी दिएर बिदा बसेपछि व्यवस्थापकीय पक्ष कमजोर हुन्छ । अनि त्यही मौकामा झडपको अवस्था सिर्जना हुन्छ ।

कतिपय झडपहरू योजनाबद्ध नै देखिन्छ । केही मात्रै आकस्मिक हुन्छन् । आकस्मिक भएका झडपका घटना तत्कालै साम्य गर्न सकिन्छ । तर, जेलभित्र जाने भनेका आपराधिक क्रियाकलापमा संलग्न भई दोषी ठहर भएका नै हुन् । आपराधिक चरित्रका व्यक्तिलाई नै नाइके र चौकीदार बनाइएपछि त्यसले आन्तरिक व्यवस्थापन राम्रो गर्छ भनेर कसरी विश्वास गर्ने ?

सरकारले अध्ययन गरेरै दीर्घकालीन रणनीति बनाई जेलभित्रको आन्तरिक व्यवस्थापकीय पक्ष कर्मचारी वा सुरक्षा निकायलाई दिँदा अझ प्रभावकारी हुन्छ ।

****

जेलरले सूचना नपाउँदा झडप

कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जेलर वा कारागारका प्रशासकले समयमा सूचना नपाउँदा वा पाइसकेको सूचनालाई गम्भीर ढंगले विश्लेषण नगर्दा यस्ता झडप हुने गरेको बताए । उनका अनुसार कैलाली कारागारमा पनि यही कारणले झडप भएको हो । अहिले अवस्था सामान्य भएको उनले बताए ।

‘कैदीबन्दी पनि एउटा ठूलो परिवार हो, परिवारमा कुनै बेला बेमेल हुन सक्छ । असन्तुष्टि हुन सक्छ । तर, त्यसलाई जेल प्रशासकले बुझ्नुपर्छ र आवश्यक सम्बोधन गर्नुपर्छ,’ भट्टराईले लोकान्तरसँग भने, ‘विगतभन्दा अहिले कारागारमा झडपका घटना कम भएका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्